Loading... आजः ४ पुष २०८१, बिहीबार

कर्णालीमा एमाले, काँग्रेस र माओवादीमा दलको नेता बन्न हानथाप

यी हुन ६ जना दलका नेताका प्रतिस्पर्धी

सुर्खेत ।
नेकपा एमाले, नेपाली काँग्रेस र नेकपा माओवादीमा कर्णाली प्रदेश सरकारको नेतृत्वको अवसर पाउन भन्दै आफ्नो दलमा दलको नेता बन्न हानथाप सुरु भएको छ । चालिस सदस्य रहेको कर्णाली प्रदेशमा नेकपा एमालेको भागमा १० सिट परेको छ ।

एमाले तेश्रो दल भएसँगै एमालेमा संसदीय दलको नेता को बन्ने भन्नेमा हानथाप हुन सुरु भएको हो ।
एमालेमा स्थायी कमिटि सदस्य यामलाल कंडेल र प्रदेश कमिटि अध्यक्ष विनोद कुमार शाहले दलको नेता बन्न तीव्र आकांक्षा गरिरहेका छन् । विनोद शाह एमालेका पुराना नेता हुन । उनलाई दैलेखमा एमालेको संगठन बलियो बनाउने नेताको रुपमा लिइन्छ । यस्तै, यामलाल पनि कुशल संगठक नै हुन । गएको पाँच वर्ष एमाले संसदीय दलको नेताको अनुभव सम्हालिसकेका नेता कंडेल कर्णाली प्रदेश इन्चार्ज समेत हुन ।

एमाले भित्र बढदै गएको तीव्र धुव्रिकरणले दलको नेता बन्न चुनाव हुने संकेत देखिएको छ यद्यपी एमाले नेताहरु भने सर्वसम्मत दलको नेता चयन गर्ने बताउँदै आइरहेका छन् । एमाले प्रमुख प्रतिपक्षमा बस्नु पर्ने भयो भने प्रदेश सभामा एमालेले प्रमुख विपक्ष दलको नेता, प्रमुख सचेतक र सार्वजनिक लेखा समितिको सभापति पाउने निश्चित छ ।
‘अहिले नै दलको नेता को बन्ने भन्नेमा हाम्रो बीचमा मतभेद नै छैन । हामीलाई पार्टीले दिएको निर्देशन अनुसार नै दलको नेता चयन गर्छौं ।’ अध्यक्ष शाहले भने ।

यता, सदनमा सबैभन्दा दोश्रो ठूलो दल नेकपा माओवादी केन्द्रमा पनि दलको नेता बन्नका लागि तीव्र दोडधुप जारी छ । जनार्दन शर्मा निकटका राजकुमार शर्मा र शक्ति बस्नेत निकटका विन्दमान विष्टबीच दलको नेता हत्याउने दाउ निरन्तर बढदै गएको छ ।

विष्ट र शर्मा दुवै जना माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य हुन । शर्मा जिल्ला समन्वय समिति रुकुम पश्चिमको प्रमुख भइसकेका छन भने विष्ट कर्णाली प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री भइसकेका छन् ।यी दुई जनाबीच भइरहेको तीव्र लविङले केन्द्रमा शक्ति र जनार्दनको लडाईको रुपमा लिन थालिएको छ । माओवादी केन्द्रका १३ जना सांसद कर्णालीमा आएका छन् ।

‘हाम्रो पार्टीले दिएको निर्देशन हामी कार्यान्वयन गर्छौं ।’ माओवादी केन्द्रका अध्यक्ष विमला केसी भन्छिन्, ‘अन्य दलको जस्तो मतदान नै भइहाल्ने अवस्था सिर्जना नहोला तर सहमतिको प्रयास असफल भयो भने लोकतान्त्रिक परिपार्टी त छदैंछ नि ।’

यस्तै, सदनमा सबैभन्दा ठूलो दल नेपाली काँग्रेसमा पनि दुइ जनाबीच को नेता बन्ने भन्ने प्रतिस्पर्धा चलिरहेको छ । हुम्लाबाट निर्वाचित भएका मुख्यमन्त्री जीवनबहादुर शाही र जाजरकोटबाट निर्वाचित भएका राजीव विक्रम शाहबीच दलको नेता बन्न हानथाप जारी छ ।

१४ ओटा सांसद पाएको कर्णाली काँग्रेसका नेताहरु दुई ध्रुवमा विभक्त भएपनि दुवै जना पार्टी सभापति शेरबहादुर देउवा निकटका हुन । ‘मलाई सत्तारुढ गठबन्धन र नेपाली काँग्रेसकै शीर्ष नेतृत्वले पुनः मुख्यमन्त्री बन्नका लागि प्रदेश सभामा चुनाव लडन सुझाव दिएका थिए ।’ मुख्यमन्त्री शाही भन्छन्, ‘सोही अनुसार पार्टीले आवश्यक निर्णय लिनेमा म आशावादी छु ।’

उनि मात्रै होईनन्, राजीव पनि आफू दलको नेता बन्नेमा आश्वस्त छन् ।


सम्बन्धित समाचार