माघ ६ गते कर्णाली मुख्यमन्त्री शर्माले विश्वासको मत लिने, सात गते मन्त्रीमण्डल विस्तार गर्ने तयारी
सुर्खेत ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले माघ ६ गते दिउसो एक बजे बस्ने वैठकबाट विश्वासको मत लिने भएका छन् । उनले कर्णाली प्रदेश सभा सचिवालयमा मंगलबार साँझ पाँच बजे विश्वासको मत लिने बारेको पत्र दर्ता गराएका थिए ।
आज बसेको कार्यव्यवस्था परामर्श समितिको वैठकले माघ ६ गते दिउसो एक बजे वैठक बसाल्ने निर्णय गरेको प्रदेश सभा सचिव जीवराज बुढाथोकीले बताए ।
‘अब माघ ६ गते अर्को वैठक बस्ने तय भएको छ । उक्त दिनको कार्यसूचिबारे सोही दिन विहान ११ बजे बस्ने वैठकले तय गर्नेछ ।’ उनले भने ।
यता, मुख्यमन्त्री राजकुमार शर्माले भने उक्त वैठकबाटै विश्वासको मत प्राप्त गर्ने गरि सरकार अघि बढेको प्रतिक्रिया दिए । ‘सदनमा विश्वासको मत लिनका लागि हामीले पत्र दर्ता गराइसकेका छौं ।’ उनले भने, ‘सम्भवतः माघ ६ गते नै विश्वासको मत लिने कार्य हुन्छ ।’
मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय स्रोतका अनुसार माघ ६ गते विश्वासको मत लिएपश्चात मुख्यमन्त्री शर्माले मन्त्री परिषद विस्तार गर्ने तयारी गरेका छन् ।
‘एमाले र माओवादीबाट दुइ दुइ जना मन्त्री छान्न बाँकी छ । त्यसका लागि दलहरु अन्तिम टुंगोमा पुगिसकेका छन् ।’ स्रोत भन्छ, ‘सम्भवतः माघ सात गते सरकारले पूर्णता पाउने निश्चित भएको छ । सोही अनुसार दुइ दलबीच मन्त्रालयको कार्यविभाजनका बारेमा एक दुइ दिनमै निष्कर्ष निस्कनेछ ।’
हाल सरकारमा मुख्यमन्त्रीको रुपमा राजकुमार शर्मा छन् । उनले आठ ओटै मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन् । विनाविभागिय मन्त्रीको रुपमा विनोद कुमार शाह र मंगल शाही नियुक्त भइसकेका छन् ।
मन्त्रालय संख्या आठै कायम
कर्णाली प्रदेश सरकार गठनको समयमा मन्त्रालयको संख्या सात बनाउने भनेर एमाले प्रदेश इन्चार्ज यामलाल कंडेल र माओवादी प्रदेश इन्चार्ज कालीबहादुर मल्लले हस्ताक्षर गरेको एक साता वित्न लाग्दा पनि न्त्रालयको संख्या घटाइएको छैन ।
मन्त्रालयको संख्या घटाइएको कुरा प्रदेश राजपत्रमा प्रकाशित भएपछि मात्रै लागु हुने भएका कारण हालसम्म राजपत्रमा सूचना प्रकाशित नहुँदा प्रदेशमा आठ ओटै मन्त्रालय कायम भएका हुन ।
राप्रपाको मन्त्रीमा दाबी
यसैबीच, सुरु देखि नै सत्तारुढ गठबन्धनमा आवद्ध भएको राप्रपाले एक मन्त्रालयमा दाबी गरेको छ । एक मात्र सांसद रहेको प्रदेश सभामा केन्द्रमा भएको गठबन्धनको आधारमा एक मन्त्रालयको नेतृत्व आफूले पाउनुपर्ने भन्दै दाबी गरेको हो ।
‘उहाँहरुले मन्त्रालय माग्नु भएको छ ।’ मुख्यमन्त्री शर्माले भने, ‘तर त्यसबारेमा हाल केहि कुरा भएको छैन ।’
मुख्यमन्त्री शर्माले यस्तो भनेपनि केन्द्रमा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग वार्ता गरेर एक मन्त्रालय आफूले पाउनुपर्ने माग दाबी गरेका छन् ।
‘हामी पनि सत्तारुढ दल हो । हामीले पनि सरकारमा माग दाबी गर्नु स्वभाविक हो ।’ राप्रपा सांसद सन्तोषि शाही भन्छिन्, ‘राप्रपा गठबन्धनमा सामेल भएका कारण मन्त्रालयमा दाबी गर्नुलाई अन्यथा मान्न सकिदैन । मान्नु पनि हुँदैन ।’
पहिलोप्रेस
५ माघ २०७९, बिहीबार ०७:२९