शर्मा सरकारको पहिलो निर्णयः वार्षिक दश हजार युवालाई रोजगारी दिने योजना निर्माण गर्न कार्यदल गठन
सुर्खेत ।
कर्णाली प्रदेश सरकारको पहिलो वैठकले कर्णालीका दश हजार बेरोजगार युवालाई प्रतिवर्ष रोजगार दिने योजना निर्माण गर्न कार्यदल गठन गरेको छ ।
बुधबार साँझ मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बसेको पहिलो वैठकले समृद्ध कर्णालीकालागि रोजगारी मार्फत स्वरोजगारीको मार्गचित्र तथा कार्ययोजना निर्माण गर्न तीस दिनको समयावधी दिएर आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिवको नेतृत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको मन्त्री मंगल शाहीले जानकारी दिए ।
‘आज बसेको वैठकले कर्णालीका दश हजार वेरोजगार युवालाई हरेक वर्ष रोजगारी दिने उदेश्यका साथ मुख्यमन्त्री ज्यूले पदभार ग्रहण गर्दा गर्नुभएको निर्णय बमोजिम यो निर्णय गरिएको हो ।’ मन्त्री शाहीले भने, ‘कार्यदलमा कर्णाली योजना आयोगका प्रशासकीय प्रमुख सदस्य सचिव हुनेछन भने मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचव सदस्य हुनेछन् । यो कार्यदललाई तीस दिनको समयावधी दिइएको छ । उहाँहरुले प्रतिवेदन बनाएपछि त्यसलाई सरकारले दृढतापूर्वक कार्यान्वयन गर्छ ।’
उनका अनुसार यो निर्णय कर्णाली समृद्धिको अभियानसँग सम्वन्धित रहेको छ ।
पहिलोप्रेस
५ माघ २०७९, बिहीबार ०७:२४