Loading... आजः ४ पुष २०८१, बिहीबार

बटालियन कमिसार देखि उपसभामुख सम्मको यात्रामा कालिकोट कि यशोदा

यस्तो छ, उनको राजनीतिक जीवनी

सुर्खेत ।
२०४० सालमा जुम्लामा जन्मिएकी कालिकोटकी यशोदा न्यौपाने कर्णाली प्रदेश सभाको उपसभामुख पदमा निर्वाचित भएकी छिन् । ४० सदस्यीय प्रदेश सभामा कुल ३८ मत खसेको थियो । उनको पक्षमा २४ मत खस्दा उनको विपक्षमा १४ मत खसेको थियो ।

उनको पक्षमा बहुमत सांसदले मतदान गरेपछि सभामुख नन्दा गुरुङ्गले उनको प्रस्ताव बहुमतले स्वीकृत गरेको घोषणा गरेकी हुन ।

कक्षा १२ को अध्ययनलाई निरन्तरता दिइरहेकी न्यौपाने माओवादीभित्र कर्मठ, इमान्दार, कर्मशील र लगनशील महिला नेतृको रुपमा चिनिन्छिन् ।

नेकपा एमालेको पारिवारिक पृष्ठभूमि भएकी न्यौपाने २०५७ साल वैशाख तीन गते नेकपा माओवादी केन्द्रमा भूमिगत भएकी थिईन । उमेरले सानै हुँदा उनि माओवादी केन्द्रमा आस्था राख्न थालिसकेकी थिईन ।

उसो त २०५५÷०५६ साल देखि नै माओवादी निकटको अनेरास्ववियु क्रान्तीक्रारीमा जोडिएकी न्यौपाने कलाकार समेत बनेकी थिईन ।

माओवादी केन्द्रमा भूमिगत भइसकेपछि उनी महिला संगठनमा समेत आवद्ध भईन । महिला संगठनमा कालिकोट–जुम्लाको सचिव भईन भने किसान संगठनको क्षेत्री सदस्य हुँदै पार्टीको निर्वाचन क्षेत्रको सेक्रेटरी समेत उनि भईन ।
२०५९ सालमा उनी सेनामा प्रवेश गरिन । प्लाटुन कमाण्डर, कम्पनी भिसि, कम्पनी कमिसार हुँदै बटालियन कमिसार समेत बनिन् ।

त्यसपछि सेना क्यान्टोनमेन्टमा गइसकेपछि उनी वाईसिएलको रुपमा काम गर्न थालिन । वाइसिएलको केन्द्रीय सदस्य, महिला विभाग प्रमुख हुँदै केन्द्रीय उपाध्इक्ष सम्म उनि भईन । अहिले उनि पार्टीको केन्द्रीय सदस्य समेत छिन् ।
‘क्यान्टोनमेन्टबाट म अयोग्य भनेर बाहिरिएको होइन । पार्टीको सल्लाहबाटै म बाहिरिएको हो ।’ उनि भन्छिन्, ‘केहि साथीहरु त्यहाँ बस्नुभयो हामी बाहिरियौं ।’ उहाँका श्रीमान सुरुमा राजनीतिक कार्यकर्ता थिए । जुम्ला र कालिकोटको पार्टी अध्यक्षको रुपमा रहेका उनका श्रीमान पछि सेनामा गए ।

‘हाम्रो सुरुमा लभ म्यारिज थियो । त्यतिबेला एक अर्काले मन पराएपछि प्रस्ताव पार्टीमा राख्नुपथ्र्यो र पार्टीले अनुमोदन गथ्र्यो ।’ उनले वैवाहिक सम्वन्धबारे भनिन् ‘२०५७ सालमै जनवादी रुपमा विवाह भएको हो । मेरो अहिले एक छोरी छ ।’
उनले सयौं लडाईको मोर्चामा जोडिएको बताईन । ‘म त्यतिबेला सयौं मोर्चामा सहभागि भएको छु । कतिपय अवस्थामा हामी खुशी भएका थियौं भने कतिपय अवस्थामा हामी दुखि भएका थियौं, साथीहरुलाई गुमाएर फर्किनुको पीडा शब्दमा कहाँ बताउन सकिन्छ र ।’

उनले एक पटक नेपाली सेनाले धन्न आफ्नो हत्या गरेको बताईन ।

‘मंगलसैनमा विजयी बनेर कालिकोट आएको समयमा म जिल्लामा थिएँ । म घर भेटन जान लागेको थिएँ । कालिकोटको शेरामा विहान नौ बजेदेखि साँझ पाँच बजेसम्म मलाई सेनाले घेरा हालेको थियो । सेनाले २५ राउण्ड गोली चलाएको थियो । म सँग ठूलो झोला थियो । त्यो झोलामाथि सल ओढाएर बारीमा मान्छे बसेको जस्तो बनाएँ । सेनालाई झुक्याएर म भाग्न सफल भएँ । सेनाले भने उक्त झोलालाई नै मान्छे भन्ठानेर गोली हानेको थियो ।’ विगत स्मरण गर्छिन, ‘कुनै स्थानमा २५ गोली हानेका छन्, कतै २२ गोली हानेका घटना छन त कतै आमने सामने भएका घटना पनि छन् । यस्ता धेरै घटना भएका कारण यहाँ सबै उल्लेख गर्न सकिन्न ।’

उनले त्यसरी बाँच्नुको अर्थ भाग्य हो भन्ने प्रश्नमा आफूले भाग्य भन्दा पनि कर्ममा विश्वास गर्ने गरेको बताउँदै त्यसलाई भाग्य भन्ने वा कर्म भन्ने त्यो निर्णय गर्ने अधिकार पाठक वर्गलाई नै दिने बताईन ।

 


सम्बन्धित समाचार