Loading... आजः ४ पुष २०८१, बिहीबार

कर्णाली प्रदेश अस्पतालमा आज मृगौला प्रत्यारोपण नहुने

अस्पताल निर्देशक डा. खड्का र अर्थमन्त्री शाहबीच भेटघाट

सुर्खेत ।
कर्णाली प्रदेश अस्पतालका ईतिहासमा आज गरिने भनिएको मृगौला प्रत्यारोपण कार्यक्रम केहि दिनका लागि पर धकेलिएको छ । काठमाडौंबाट ल्याइने भनिएका विरामीमा पोजेटिभ देखिएपछि अब कहिले मृगौला प्रत्यारोपण हुन्छ भन्नेमा अन्यौलता देखिएको हो ।

अस्पतालका निर्देशक डा. डम्बर खड्काले केहि दिनपछि मृगौला प्रत्यारोपणको काम गरिने जनाए ।

यसैबीच कर्णाली प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काले नवनियुत्तः आर्थिक मामिला तथा योजना मन्त्री विनोद कुमार शाहसँग भेटघाट गरेका छन् ।

अस्पतालको वर्तमान अवस्था, चुनौती र अस्पताल विकासका लागि गर्नुपर्ने आगामी कार्यक्रमका बारेमा डा. खड्काले मन्त्री शाहलाई जानकारी दिएका थिए ।

‘अहिले हामीसँग ३२५ जना स्वास्थ्यकर्मीको दरवन्दी छ । सात ओटा अत्याधुनिक अप्रेसन थियटर छन् । विभिन्न १२ ओटा क्षेत्रका विरामीकालागि उपचारको व्यवस्था गर्न थालेका छौं ।’ डा. खड्काले भने, ‘अहिले विरामीको चाप असाध्यै बढन थालेको छ । विगतमा ६ सय विरामी आउँदा पनि धेरै आए भन्ने अवस्था थियो, अहिले १६ सय भन्दा बढि विरामी दैनिक जसो आउन थालेका छन् । यो भनेको धेरै संख्या हो । स्वास्थ्य वीमा कार्यक्रमका कारण विरामीहरुको चाप बढेको छ ।’
उनले अस्पतालमा विरामीको उपचार गर्ने समय पनि बढाइएको बताए । ‘हामीले दैनिक दुईघण्टा समय थप गरेका छौं । अस्पतालमा उपचार गर्न आएका सेवाग्राही मध्ये ९५ प्रतिशत सेवाग्राहीको अस्पतालमा आएकै दिन उपचार सम्पन्न हुने गरेको छ ।’ उनले भने, ‘अब हामीलाई फागुन भन्दा उताका लागि कर्मचारीलाई दिईने तलब सुविधाका लागि बजेट छैन । बजेट माग गरेर फाईल अर्थमा पुगिसकेको छ । त्यसलाई हजुरले सहजिकरण गरिदिनुपर्ला ।’

उनले अस्पतालमा जेनेरेटर आवश्यक पर्ने बताए । ‘यहाँको विद्युतको अवस्था अत्यन्तै दयनीय छ । अप्रेशन चलिरहेको समयमा विद्युत आपुर्ति बन्द हुँदा समस्या सिर्जना हुने गरेको छ । एक जेनेरेटरको आवश्यकता छ ।’ मन्त्री शाहलाई अस्पतालको व्यवस्थापन बारेमा व्रिफीङ गर्दै उनले भने, ‘हामीसँग बस पनि छ । उक्त बसलाई कर्णालीका अन्य जिल्लामा यहाँको स्वास्थ्यकर्मीको टोलीलाई पठाउन र दैलेख, कालिकोट जस्ता जिल्ला अस्पतालमा क्याम्प चलाउन प्रयोग गर्ने हाम्रो योजना छ । त्यस्तो गर्दा दुर्गम जिल्लाका नागरिकले आफ्नै जिल्लामा उपचार पाउने र त्यहाँ हुन नसकेको खण्डमा ति विरामीलाई प्रदेश अस्पतालमा ल्याउन सकिन्छ । त्यसकालागि आवश्यक बजेटको व्यवस्थापन गर्न आवश्यक छ । बजेट भएको खण्डमा हामी हरेक अस्पतालमा शिविर चलाउन सक्छौं ।’

उनले अस्पतालबाट एक प्रतिशत विरामी मात्रै रेफर गर्ने गरिएको दाबी समेत गरे ।

प्रत्यत्तरमा मन्त्री शाहले स्वास्थ्य क्षेत्रको विकास, गुणस्तरीयताका लागि प्रदेश सरकारले आवश्यक लगानी गर्ने जनाए । स्वास्थ्य क्षेत्र सबैभन्दा महत्वपूर्ण क्षेत्र हो । स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउन, त्यस क्षेत्रलाई बढि विश्व्सनीय बनाउन र कर्णालीका नागरिकलाई उपचारका लागि अन्यत्र जाने बाध्यता अन्त्य गराउन आवश्यक कदम सरकारले चाल्छ । यसमा तपाईहरु ढुक्क हुनुहोस ।

उनले सकेसम्म कर्णालीका नागरिकलाई स्तरीय स्वास्थ्य सेवा प्रदान गर्न निर्देशन समेत दिए ।


सम्बन्धित समाचार