पूर्वाधार विकासका लागि गुरुयोजना निर्माण गरेर अघि बढछौंः मन्त्री शाही
सुर्खेत ।
कर्णाली प्रदेश सरकारले कर्णालीको सडक क्षेत्रको विकासका लागि चालु आर्थिक वर्ष २०७९÷०८० भित्रै सडक गुरुयोजना बनाई कार्यान्वयन गर्ने भएको छ । भौतिक पूर्वाधार, उर्जा तथा जलसोत मन्त्रालयमा आज पत्रकार भेटघाट कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री मंगल शाहीले सडक गुरुयोजना निर्माण गर्ने र सोही आधारमा कर्णालीका सडकहरु निर्माण गर्ने गरि मन्त्रालय अघि बढेको बताए ।
‘कर्णालीको विकासका लागि व्यवस्थित रुपमा योजना बनाउँछौं । बजेट कार्यान्वयनलाई तीव्रता दिन्छौं ।’ उनले भने, ‘खानेपानी देखि उर्जा क्षेत्रको विकास गर्न पनि गुरुयोजना बनाउँछौं ।’
मन्त्री शाहीले कर्णालीको विकास खर्च न्यून भएको स्वीकार्दै कर्मचारी अभाव हुनु, निर्वाचन हुनु र भौगोलिक विकटता प्रमुख कारण भएको बताए ।
उनले मन्त्रालयमा ७२ जना कर्मचारी रिक्त रहेको बताउँदै त्यसमध्ये ६० कर्मचारी प्राविधिक क्षेत्रका रिक्त रहेको जनाए । ‘सामान्य प्रशासन मन्त्रालयमा कर्मचारी माग गरेका छौं । प्रदेश लोकसेवा आयोगसँग पनि कर्मचारी भर्नाका लागि अनुरोध गरेका छौं, तर अदालतका कारण नयाँ कर्मचारी भर्ना गर्न ढिलाई भइरहेको छ ।’ उनी भन्छन्, ‘हामीले मन्त्रालयबाट कर्मचारीको दरवन्दी पुरा गर्नका लागि सबै प्रयास गरेका पनि छौं । यद्यपी हामीले सबै कर्मचारी राख्न सकेका छैनौं ।’
मन्त्री शाहीले कर्णालीको विकासका लागि सबैपक्षबीच सहकार्य आवश्यक हुने बताउँदै त्यसकालागि सञ्चार जगतसँग पनि मन्त्रालय हातेमालो गरेर अघि बढने प्रतिबद्धता जनाए । ‘तपाईहरुसँग वेथितिका सूचना भए जानकारी गराउनुहोला । मन्त्रालयका बारेमा रचनात्मक सुझाव दिनुहोला । हामी तपाईहरुका सुझावलाई सकारात्मक रुपमा लिनेछौं ।’ उनले भने ।
पहिलोप्रेस
२१ माघ २०७९, शनिबार १५:१८