कर्णाली सरकार वीरेन्द्रनगरलाई आधुनिक बनाउँदै
सुर्खेत ।
कर्णाली प्रदेश सरकारले वीरेन्द्रनगर नगरपालिका, संघीय सरकारसमेतको सहकार्यमा प्रदेश मुख्यालय रहेको वीरेन्द्रनगरलाई आधुनिक एवम व्यवस्थितशहर बनाउने तयारी सुरु गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा आज आयोजना गरिएको वीरेन्द्रनगर नगरपालिकाको स्थानगत एकीकृत विकास योजना अवधारणा सार्वजनिक कार्यक्रममा प्रदेश प्रमुख सचिव डा. गोपीकृष्ण खनालले आगामी जेठ मसान्तसम्म वीरेन्द्रनगर कस्तो बनाउने भन्ने विवरण आइसक्ने बताए ।
उनले वीरेन्द्रनगरलाई कंक्रिटको शहर नबनाई सभ्य, सुन्दर, हरित, व्यवस्थित, समृद्ध शहरको रुपमा विकास गर्न यो अवधारणा ल्याइएको बताए ।
‘कर्णाली प्रदेशको राजधानीको रुपमा २०७४ साल फागुन १२ गते प्रदेश सभाको वैठकले निर्णय गरिसकेको हुँदा यो शहरलाई आधुनिक र व्यवस्थित बनाउन आवश्यक देखिएको छ । यो हरलाई पहिलो प्राथमिकतामा राखेर प्रदेशका अन्य जिल्लाका शहरलाई पनि क्रमश निर्माण गर्दै जाने योजना सरकारले बनाएको छ ।’ डा. खनालले भने, ‘उच्च शिक्षाको केन्द्रको रुपमा विकास गर्ने, पर्यटकीय महत्व, कृषियोग्य जमिनको संरक्षण गर्ने, सुरक्षित आवास क्षेत्रको विकास र आवश्यकताको पुर्ती गर्ने, जलाधार क्षेत्र निर्माण र पानीको व्यवस्थापन गर्ने, हरियाली वातावरण बनाउने र आर्थिक विकासका साथै रोजगारी सिर्जना गर्न यो यो योजना महत्वपूर्ण हुनेछ ।’
मुख्यमन्त्री राजकुमार शर्माले योजना बनेपछि लागत देखि सबै कुरा आउने बताउँदै तीनै तहका सरकारको सहकार्यमा वीरेन्द्रनगर बनाईने बताए ।
‘हामी कुरा गर्न होईनौं, काम गर्न आएका हौं ।’ उनले भने, ‘विकास रातारात हुँदैन, प्रदेश मुख्यालय भएका कारण हामी सुरुमा वीरेन्द्रनगर बनाउँछौं, त्यसपछि अन्य शहर निर्माण गर्छौं ।’
उनले विगतमा भएका निर्णय अनुसार अर्गानिक प्रदेश बनाउने देखि डिजीटल प्रदेश बनाउने सम्मका कार्यक्रमहरु सरकारले अघि बढाउने प्रतिबद्धता जनाए ।
पहिलोप्रेस
२२ माघ २०७९, आईतवार १७:३४