Loading... आजः ४ पुष २०८१, बिहीबार

प्रत्यारोपणको अनुमति पाएको तीन महिनामै प्रदेश अस्पतालमा पहिलोपटक मृगौला प्रत्यारोपण सम्पन्न


सुर्खेत ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित प्रदेश अस्पताल सुर्खेतमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको छ ।
बर्दघाट नगरपालिका ४ नवलपरासीका २२ वर्षीय मोतिबहादुर थापाको शनिबार मिर्गौला प्रत्यारोपण गरिएको हो ।

कानूनी तथा व्यवस्थापकीय प्रक्रिया पुरा भएपश्चात् शहीद धर्मभक्त माथेमा राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका निर्देशक डा.पुकारचन्द्र श्रेष्ठ अस्पताल निर्देशक डा.डम्बर खड्का नेतृत्वको संयुक्त टोलीले प्रत्यारोपण कार्य सम्पन्न गरेको हो ।
थापालाई भने उनकी त्रिचालीस वर्षीया आमाले मिर्गौला दान गरेको थिइन् । प्रत्यारोपण कार्यमा काठमाडौं उपत्यका बाहिर सरकारी अस्पतालमा दोस्रो पटक र कर्णालीमा पहिलो पटक निःशुल्क मिर्गौला प्रत्यारोपण गरिएको प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा.खड्काले जानकारी दिए ।

उनका अनुसार प्रदेश अस्पतालले अनुमति पाएको तीन महिनापछि सफल मिर्गौला प्रत्यारोपण भएको छ ।

शहीद धर्मभक्त माथेमा राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका निर्देशक डा.पुकारचन्द्र श्रेष्ठ र कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा.डम्बर खड्काले प्रदेश अस्पतालमा मिर्गौला प्रत्यारोपणका लागि विसं.२०७८ चैत्र १० गते सम्झौता गरेका थिए ।

केन्द्रबाट डा.रवि किरण गौतम, डाक्टर हरि बराल, एनेस्थेसियोलोजिष्ट डा.सोभित थापा, रश्मित श्रेष्ठ, नेफ्रोलोजिष्ट डा.सुमित आचार्य, डा.दिपा लामिछाने र रेडियोलोजिष्ट डा.समीर दवाडी संलग्न थिए ।

त्यस्तै, सुर्खेत अस्पतालबाट डा.पूजन बल्ल, डा.जनी बज्राचार्य, फिजिसियन डा.कुलराज शाही, ओ.टी. इन्चार्ज प्रभा रावल तथा ओ.टी र आई.सी.युमा कार्यरत नर्स प्रयोगशालाका इन्चार्ज भरत देवकोटालगायतका कर्मचारीहरूको टोली मिर्गौला प्रत्यारोपण कार्यमा संलग्न भएको थियो ।

प्रत्यारोपण सेवालाई नियमित सञ्चालन प्रदेश अस्पतालको आगामी योजना रहेको छ । यसका लागि अस्पतालमा कार्यरत चिकित्सक, नर्स तथा प्राविधिकलाई क्षमता वृद्धि गर्न उच्चस्तरको तालिमका लागि केन्द्रमा पठाउने निर्देशक डा.डम्बर खड्काले जनाए ।

प्रत्यारोपण केन्द्रमा हालसम्म एक हजार ११ जनाको मिर्गौला र नौ जनाको कलेजो प्रत्यारोपण गरिएको कार्यकारी निर्देशक डा.पुकार चन्द्र श्रेष्ठले जानकारी दिए । ‘अब कर्णालीका बिरामीले काठमाडौं धाउनुपर्ने अवस्था आउँदैन र बिरामीले रु.एकसमेत खर्च गर्नु पर्दैन ।’ उनले भने, ‘यसको सेवा निरन्तर हुन्छ तर कुनैपनि हालतमा बन्द हुँदैन ।’
मिर्गौला प्रत्यारोपण निःशुल्क भएको र कुनैपनि शुल्क तिर्नु नपरेको मोतिबहादुरका बुबा तुलबहादुर थापाले बताए ।
‘म शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा गएको थिए ।’ उनले भने, ‘सुर्खेतमै उपचार हुन्छ भनेपछि एक्लै यहाँ आउन साहस गरे । मिर्गौला प्रत्यारोपण कार्य पनि सोच जस्तो भएको छ ।’

अहिले छोराको स्वास्थ्य अवस्था सन्तोषजनक भएको थापाले बताए ।
कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीले नेपालकै उत्कृष्ट अस्पतालमा कर्णाली प्रदेश अस्पताल देख्न पाउँदा खुशी लागेको बताए ।

मानव अंग प्रत्यारोपण गरेर ठूलो कार्य सुरुआत गरेको भन्दै त्यसको नियमितताका लागि आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।

 


सम्बन्धित समाचार