Loading... आजः ४ पुष २०८१, बिहीबार

शिव शिखर सहकारीले बचतकर्तालाई बचत रकम फिर्ता दिन ढिलाई गर्दै 

आर्थिक संकट कारण देखाउँदै

सुर्खेत ।
तीन वर्षअघि वीरेन्द्रनगरमा शाखा कार्यालय खोलेको शिव शिखरमा झण्डै छ हजार सर्वसाधारणको बचत भएपनि आप्नो बचत फिर्ता माग्न जाने सेवाग्राहीलाई बचत रकम फिर्ता गर्न ढिलाई गर्न थालेको पाइएको छ । सुर्खेतको वीरेन्द्रनगरमा र मेहेलकुनामा सहकारी र मार्ट स्थापना गरेर काम सुरु गरेको सहकारीमा झण्डै ६ हजार बचतकर्ताले त्यहाँ रकम जम्मा गरेको पाइएको हो ।

देशैभर शाखा तथा मार्ट सञ्चालन गर्दै आइरहेको उक्त सहकारीमा गरिएको लगानी डुब्ने आशंकामा बचतकर्ताहरुले बारम्बार आफ्नो रकम फिर्ता मागेपनि पैसा नभएको जवाफ दिएर बचतकर्तालाई फिर्ता गर्दै आइरहेको हो ।
सहकारीले विभिन्न सात वटा स्किममार्फत सर्वसाधारणबाट बचत उठाउँदै आएको छ ।

वीरेन्द्रनगर–४ कि सावित्री परियारले एक वर्षअघि सहकारीको मुद्दती खातामा एक लाख रुपैयाँ जम्मा गरेकी थिइन् । रकम जम्मा गर्दा एक वर्षमा दोब्बर भुक्तानी दिने सहकारीले बताएको थियो । मुद्दती खातामा एक लाख रुपैयाँ जम्मा गरेको एक वर्ष पूरा भएपछि उनी रकम लिन सहकारीको कार्यालय पुगिन् । सहकारीले अहिले पैसा छैन भन्दै सावित्रीलाई पन्छाइरहेको छ ।

‘सहकारीका कर्मचारीले एक वर्षमा दोब्बर पैसा पाउनु हुन्छ भनेपछि एक वर्षअघि मुद्दती खाता खोलेर एक लाख रुपैयाँ जम्मा गरेकी थिएँ,’ उनले भनिन्, ‘एक वर्ष पूरा भएपछि पैसा लिन जाँदा अहिले आर्थिक संकट छ भन्दै पैसा दिन मानिरहेका छैनन् ।’

सावित्री पनि सहकारीमा पैसा लिनका लागि धाउन थालेका तीन दिन भयो । श्रीमानले घर खर्च चलाउन दिएको रकम बचत गरेर उनले सहकारीमा जम्मा गरेकी थिइन् ।

‘पैसा धेरै भएर सहकारीमा राखेकी होइन, लोग्नेले घर खर्च चलाउन दिएको पैसा बचत गर्दै एकमुष्ट एक लाख जम्मा गरेकी हुँ,’ उनले भनिन्, ‘आफ्नै पैसा लिन पनि अहिले धौधौ भइरहेको छ ।’

उनले मुद्दती खातासँगै दुई सन्तानको नाममा मासिक बाल बचत गर्दै आइरहेकी छन् । ‘दुई वटा बच्चाको मासिक ६५० रुपैयाँका दरले सहकारीमा जम्मा गर्दै आएकी थिएँ,’ उनले भनिन्, ‘त्यो पैसा पनि १२ हजार पुगेको छ ।’

जुम्लाकी हजारीकला कार्की सुर्खेतको वीरेन्द्रनगरमा कोठा भाडामा लिएर बस्छिन् । नातिनातिनासँग बस्दै आएकी कार्कीले वर्षौँदेखि संगालेर ५० हजार रुपैयाँ जम्मा गरेकी थिइन् । उक्त रुपैयाँ एक वर्षअघि उनले वीरेन्द्रनगरमा रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थामा जम्मा गरिन् ।

दम रोगकी बिरामी कार्की आफूले जम्मा गरेको रकम झिक्न एक सातादेखि सहकारीको कार्यालयमा धाइरहेकी छन् ।
‘दमको बिरामी छु, सहकारीको कार्यालय रहेको तीन तलामाथि आउन पनि धौधौ हुन्छ,’ हजारीकलाले भनिन्, ‘दिनदिनै आउँछु, रित्तो हात घर फर्किन्छु ।’

आकर्षक व्याज पाउने आशमा सहकारीमा रकम जम्मा गरेकी कार्कीलाई साँवा पनि नपाइने हो कि भन्ने डर लाग्न थालेको छ ।

‘वर्षौँ लगाएर जम्मा गरेको पैसा धेरै ब्याज पाइने आशामा सहकारीमा जम्मा गरेकी थिएँ,’ उनले भनिन्, ‘ब्याजको त कुरा भएन, साँवा पाइदिए पनि ठुलो हुन्थ्यो ।’

सहकारीका कर्मचारीले भोलि–भोलि भन्दै उनलाई झुलाएको पनि एक साता भइसक्यो । अझै कति दिन आफ्नै पैसा झिक्न सहकारीमा आउजाउ गर्नुपर्ने हो उनलाई पत्तो छैन ।

सहकारीको वीरेन्द्रनगर शाखाका लेखा प्रमुख छवि डाँगीले एकै पटक सेवाग्राहीहरू रकम झिक्न आउँदा समस्या भइरहेको बताउँछिन् । ‘सहकारी आर्थिक समस्यामा रहेको भन्ने समाचार आएपछि सयौंको संख्यामा बचतकर्ताहरू एकै पटक रकम झिक्न आउँदा हामीलाई समस्या भइरहेको छ,’ उनले भनिन्, ‘माथिल्लो निकायमा खबर गरेका छौँ, निकास आएको छैन ।’ वीरेन्द्रनगर शाखामा मात्रै सहकारीका २३ जना कर्मचारी छन् । सहकारीले आवधिक बचत, व्यापार धमाका बचत, सुनौलो भविष्य बचत, जीवन अमृत बचत, स्मार्ट बाल उज्ज्वल भविष्य बचत, पेन्सन प्लस बचत र भविष्य सुनिश्चित बचतका नाममा निक्षेप संकलन गर्ने गरेको छ ।

लेखा प्रमुख डाँगीले समय अगावै रकम झिक्नेहरूका कारण समस्या भइरहेको बताउँछिन् । ‘निश्चित समयको लागि फिक्स डिपोजिट गरेकाहरू पनि रकम झिक्न आउँदा अहिलेको समस्या आएको हो,’ उनले भनिन् ।
सहकारीले रकम नदिएको भन्दै बचतकर्ताहरू मंगलबार जिल्ला प्रशासन कार्यालय पुगेका थिए । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले फोनमार्फत सहकारीका सञ्चालकहरूसँग कुरा गरेका थिए ।

‘एक साताभित्र सुर्खेत आएर समस्याको समाधान गछौं भनेर सहकारीका सञ्चालकहरूले भनेका छन्,’ प्रजिअ सापकोटाले भने, ‘गुनासो लिएर आउने सेवाग्राहीहरूलाई पनि एक सातासम्म कुर्न भनेका छौँ ।’ उनले सहकारीले आफ्नो क्षेत्राधिकार बाहिर गएर काम गर्दा र बढी ब्याज पाइने लोभमा बचतकर्ताले बचत गर्दा सहकारी क्षेत्रमा प्रायः समस्या आउने गरेको बताए ।

प्रजिअ सापकोटाले आफूहरूले सहकारीद्वारा सञ्चालित गार्डेन मार्टमा सुरक्षा दिइरहेको बताए । ‘सहकारीका बचतकर्ताहरूले पैसा नपाए मार्टबाट सामानहरू उठाएर लिन सक्ने जोखिम रहेकाले मार्टको सुरक्षामा प्रहरीले निगरानी बढाएको छ,’ उनले भने, ‘सहकारीका सञ्चालक र कर्मचारीहरू पनि नभागुन् र समानहरूको सुरक्षाका लागि प्रहरीको निगरानी बढाइएको छ ।’

सहकारीले सुर्खेतको वीरेन्द्रनगरसहित गुर्भाकोट नगरपालिकाको मेहलकुनामा पनि सहकारी कारोबारका साथै मार्ट सञ्चालन गर्दै आइरहेको छ । भक्तपुरको कौशलटार मुख्य कार्यालय रहेको सहकारीको देशभर ३३ भन्दा बढी शाखाहरू छन् ।


सम्बन्धित समाचार