Loading... आजः ४ पुष २०८१, बिहीबार

कर्णालीको एकमात्र सुगम नगरपालिका वीरेन्द्रनगर वडापत्र विहीन

वडा नं. ६ र ९ पनि वडापत्र विहीन

सुर्खेत ।
कर्णाली प्रदेशको एकमात्र सुगम नगरपालिकाको रुपमा रहेको वीरेन्द्नगर नगरपालिका नागरिक वडापत्रविहीन बनेको छ । स्थानीय नागरिकको सबैभन्दा नजिकको सरकारको रुपमा स्थापित वीरेन्द्रनगर नगरपालिकामा नागरिक वडापत्र विगतमा टाँसिएको भएपनि हाल कार्यालयमा वडापत्र राखिएको छैन ।

उसो त, वीरेन्द्रनगर नजिकै रहेको वडा नं. ६ को वडा कार्यालयमा समेत वडापत्र छैन ।

वडा नं. ९ मा पनि वडापत्र नभएको स्थानीयले बताएका छन् ।

नेपालको संविधानमा हरेक सरकारी कार्यालयहरुले अनिवार्य रुपमा वडापत्र राख्नुपर्ने प्रावधान कायम छ ।

विगतमा नगरपालिका तथा वडाहरुमा नागरिक वडापत्र राखिएपनि अहिले त्यहाँ वडापत्र नराख्दा सेवा लिन सास्ती खेप्नुपरेको वडा नं. ६ का रमेश शाक्यले पहिलोप्रेसलाई बताए ।

कम्तिमा नागरिक वडापत्र त राखिनुपथ्र्यो, अहिले हरेक कार्यकक्षमा गएर कहाँ जाने, के चाहिन्छ भनेर सोध्नुपर्दा समयको वर्वादीसँगै झन्झट पनि व्यहोर्नुपरेको छ, उनले गुनासो गरे ।

वीरेन्द्रनगर नगरपालिकाका सूचना अधिकृत उत्तम आचार्यले नागरिक वडापत्र राख्न ढिलाई भएको स्वीकार गरेका छन् । केहि दिन अघि बसेको स्टाफ वैठकमा नागरिक नागरिक वडापत्रबारेमा छलफल भएको बताउँदै उनले अबको केहि दिनभित्रै नागरिक वडापत्र टाँसिने प्रतिबद्धता समेत जनाए ।

उनले वडा नं. नौ को वडा कार्यालय भवन नयाँ भवनमा सरेका कारण वडापत्र राख्न ढिलाई भएको बताउँदै वडा नं. ६ का बारेमा के भएको हो भन्ने कुरा आज बुझ्ने बताए ।


सम्बन्धित समाचार