Loading... आजः ४ पुष २०८१, बिहीबार

कान्छाराम कन्स्ट्रक्सनका प्रतिनिधिलाई तत्काल काम सम्पन्न गर्न मन्त्री शाहीद्धारा कडा निर्देशन

दुई महिना भित्र काम सम्पन्न गर्ने प्रतिनिधिको प्रतिबद्धता

सुर्खेत ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरका विभिन्न १६ ओटा सडक खण्डको निर्माणमा तदारुकता देखाउन भौतिक पूर्वाधार उर्जा तथा जलस्रोत मन्त्री म.गल शाहीले कान्छाराम कन्स्ट्रक्सनका प्रतिनिधि हर्क श्रेष्ठलाई निर्देशन दिएका छन् ।
सडक निर्माणमा भइरहेको ढिलाईका बारेमा पूर्वाधार विकास निर्देशनालयका निर्देशक, मन्त्रालयका इन्जिनियरसहित कार्यकक्षमा बोलाएर मन्त्री शाहीले आज सो निर्देशन दिएका हुन ।

श्रेष्ठले देशमा आर्थिक संकटका कारण काम गर्न समस्या भएको मन्त्री सामु गुनासो गरेका थिए । हालसम्म काम गरे अनुसारको भुक्तानी दिएको खण्डमा हामी तत्काल काम सुरु गरेर दुई महिना भित्रै काम सम्पन्न गर्छु । मैले सम्झौता गर्दा भ्याटसहित तेलको ९६ रुपैंया थियो अहिले बढेर एक सय ८६ रुपैंया पुगेको छ । अलकत्रा ९५ रुपैंया प्रति लिटर पाईन्थ्यो भने अहिले एक सय बीस रुपैंया पर्न थालेको छ । रड ८६ रुपैंया थियो, एक सय १७ पुगेको छ । बजार मूल्यबारेमा मन्त्री शाही तथा राज्यमन्त्री उर्मिला विश्वकर्मालाई जानकारी गराउँदै श्रेष्ठले भने ।

यता, पूर्वाधार विकास निर्देशनालयका निर्देशक रामशरण आचार्यले काममा ढिलासुस्ती गर्ने कार्य निर्माण कम्पनीकै भएको बताए । ‘उहाँले जुनबेला देखि सम्झौता गर्नुभएको हो, त्यो अवधी देखि नै काम गर्न पटक पटक ताकेता गरेका छौं । वितेको एक वर्षमा बीसौं पटक लिखित रुपमा ताकेता गरेका छौं । उहाँले हालसम्म एक करोड ४७ लाख सुरुमै लिइसक्नु भएको छ तर त्यो रकमको पनि फस्र्यौट उहाँले गर्नु भएको छैन ।’ निर्देशक आचार्यले भने, ‘कार्यालयले पैसा नदिएको पनि होईन, ताकेता नगरेको पनि होईन, उहाँहरुले नै व्यवसाय प्रति लापरवाही गरेको हो । अहिले भइरहेको कामको गतिलाई हेर्दा असार मसान्तसम्म सकिन्छ, नभए कार्यालयले ठेकाको बारेमा पुर्न विचार गर्नेछ ।’

उनले कम्पनीले गरेको कामको भुक्तानी दिन सकिने बताए ।

‘कार्यालयलाई वील पेश गरेपछि नियमानुसार भुक्तानी गर्न सक्छौं । शंका कहाँ छ भने भुक्तानी लगिसकेपछि साईटमा काम बन्द हुने प्रचलन भएका कारण समस्या हुन्छ कि भन्ने हो ।’

भौतिक पूर्वाधार, उर्जा तथा जलस्रोत मन्त्री मंगल शाहीले काम तत्काल सुरु गर्न निर्देशन दिए । कसरी हुन्छ, दुई चार दिनमै काम सुरु भएको हेर्न हामी आतुर छौं । मन्त्री शाहीले ठेकेदारका प्रतिनिधि श्रेष्ठलाई पूर्वाधार विकास निर्देशनालयका निर्देशक, इन्जिनियरहरु राखेर निर्देशन दिदैं काममा ढिलासुस्ती भएको हेर्न नचाहने बताए ।

मन्त्री शाहीले कर्णालीको विकासका लागि महत्वपूर्ण भनेकै सडक पूवाधार भएको बताउँदै चालु आर्थिक वर्षमा वित्तीय मात्रै नभई भौतिक प्रगति देखिने कार्य गर्न निर्देशनालयलाई निर्देशन दिए ।

छलफलमा राज्यमन्त्री उर्मिला विश्वकर्मा, इन्जिनियर सुर्यबहादुर शाही र हरि शर्मा धिताल सहभागि थिए ।

भौतिक पूर्वाधार, उर्जा तथा सिंचाई मन्त्रालय अन्र्तगत पूर्वाधार विकास निर्देशनालयसँग कान्छारामले २०७८ साल भदौ १७ गते विभिन्न १६ ओटा सडक खण्डमा कालोपत्रे गर्ने भनेर १२ करोड ९४ लाख ३६ हजार ४६२ रुपैंयामा सम्झौता गरेको थियो । निर्देशनालय र कन्स्ट्रक्सनबीच यी सबै सडकहरु २०७९ फागुन २८ गतेसम्म निर्माण गरिसक्ने सम्झौता भएको थियो तर सम्झौताको म्याद सकिन डेढ महिनामात्रै बाँकी रहेको समयमा हालसम्म कुनै सडक पनि कालोपत्रे भएका छैनन् ।

यतिसम्मकी कान्छारामले भौतिक मन्त्रालय अगाडी, पूर्वाधार विकास निर्देशनालय अगाडी र मुख्यमन्त्री कार्याल अगाडीका सडक खण्डमा नाला समेत निर्माण गर्न सकेको छैन ।

 


सम्बन्धित समाचार