कर्णालीमा पूर्व प्रदेश सभा सदस्य मञ्च गठन, अध्यक्षमा रावल
सुर्खेत ।
कर्णाली प्रदेश सभाका निवर्तमान सांसदहरुले पूर्व प्रदेश सभा सदस्य मञ्च गठन गरेका छन् । जिल्ला प्रशासन कार्यालय सुर्खेतमा दर्ता गरिएको उक्त मञ्चको अध्यक्षमा पूर्व सामाजिक विकास मन्त्री दल रावल चयन भएका हुन ।
संस्था दर्ता पश्चात गठित तदर्थ समितिले आज कर्णाली प्रदेश सभामा पत्रकार सम्मेलन गर्दै यसको मुख्य काम भनेको कर्णाली प्रदेश सभाका सांसदहरुलाई दक्ष बनाउने देखि प्रदेश तथा स्थानीय सरकारसँग सहकार्य गर्ने रहेको अध्यक्ष रावलले जानकारी दिए ।
‘हाम्रो संस्थाको काम भनेको लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउनु नै हो । सांसदहरुलाई परामर्श दिने, कानून निर्माणमा सहयोग गर्ने, कर्णाली प्रदेश सभालाई मर्यादित बनाउँदै सुदृढ गर्ने हाम्रो उदेश्य छ ।’ अध्यक्ष रावलले भने, ‘तीनै तहका लक्ष्य प्राप्तीमा योगदान दिने देखि विकास साझेदार संस्थाहरुसँग कर्णालीको विकासका लागि बहस पैरवी गर्ने समेत उदेश्य राखेका छौं ।’
उनका अनुसार मञ्च, प्रदेश सभा र प्रदेश सरकारका बीचमा आवश्यक सल्लाह सुझाव दिने र सातै प्रदेशमा मञ्च गठन गर्न लगाएर त्यसको छुट्टै संरचना निर्माण गर्ने तयारी भएको हो ।
संस्थाको तदर्थ समितिको उपाध्यक्षमा नेपाली काँग्रेसका अमृता शाही, महासचिवमा नेकपा माओवादीका कृष्णा शाह, सचिवमा एमालेका पदमा खड्का, कोषाध्यक्षमा एमालेकै मिनासिंह रखाल छन् ।
यस्तै सदस्यमा एमालेका करविर शाही, राजु नेपाली, नन्दसिंह बुढा, बद्यमीक्वारी बोहोरा छन भने माओवादीका रातो कामी र काँग्रेसका झोवा कामी सदस्य छन् ।
संस्थामा आवद्ध पूर्व सदस्यहरुले वार्षिक रुपमा एक हजार सदस्यता नविकरणका लागि दिनुपर्ने व्यवस्था गरिएको छ । यस्तै साधारण सदस्य, संस्थापक सदस्य, आजीवन सदस्य र मानार्थ सदस्यता वितरण गरिने अध्यक्ष रावलले जानकारी दिए ।
उनका अनुसार संस्थाको संरक्षकमा वर्तमान सभामुख तथा उपसभामुख रहेका छन भने सल्लाहकारमा पूर्व मुख्यमन्त्री, पूर्व सभामुख, पूर्व उपसभामुख, पूर्व विपक्षी दलका नेता रहेका छन् ।
पहिलोप्रेस
१० फाल्गुन २०७९, बुधबार १६:२३