Loading... आजः ४ पुष २०८१, बिहीबार

नेमकिपा दैलेखको १४ औं जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा ओली

भारतसँगको खुला सिमाना बन्द गर्न माग


सुर्खेत ।
नेपाल मजदुर किसान पार्टीको १४ औँ जिल्ला सम्मेलन जगत ओलीको अध्यक्षतामा १८ सदस्यीय नयाँ नेतृत्व चयन गरेर समापन भएको छ । शुक्रबार र शनिबार सम्पन्न नेमकिपा, दैलेखको सम्मेलनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रस्ताव पारितसमेत गरेको छ ।

नवनिर्वाचित कार्यसमितिलाई बन्दसत्रको अध्यक्ष मण्डलका अध्यक्ष एवम् नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवालले पार्टीको विधानअनुसार सपथग्रहण गराएका थिए ।

सचिव सुवालले सर्वसम्मत्तिमा निर्वाचित नयाँ कार्यसमितिलाई बधाई दिँदै पार्टीको सिद्धान्तबाट शिक्षित र सचेत गराएर जनताको संगठन विस्तारमा लाग्नुपर्नेमा जोड दिए ।

उनले नवनिर्वाचित जिल्ला समितिका सबै सदस्यहरु देश र जनताको इमानदारीपूर्वक सेवामा अग्रसर हुने विश्वास व्यक्त गरे ।

नवनिर्वाचित अध्यक्ष जगत ओलीले पार्टीको विधानअनुसार इमानदारीसाथ काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

बन्दसत्रमा नेमकिपाका सचिव प्रेम सुवालले समसामयिक राष्टिय तथा अन्तर्राष्टिय विषयमा प्रशिक्षण दिएका थिए ।
सम्मेलनले किसानको निम्ति सस्तो र गुणस्तरीय मल सुलभ तरिकाले व्यवस्था गर्न माग गरेको छ । देशघाती नागरिकता विधेयक अविलम्ब खारेज गर्नुपर्ने, नेपाली युवालाई भाडाको सिपाही बनाउने सन् १९४७ को गोर्खा भर्ती र नेपाललाई भारतको सुरक्षा छातामा राख्ने सन् १९५० को नेपाल–भारत सन्धि अविलम्ब खारेज गर्नुपर्ने, खुला सीमा नियमन र बन्द गर्नुपर्ने, महाकाली नदीको धार नेपालतिर धकेलेर भारतले बनाएको तटबन्ध तत्काल भत्काउनु पर्ने, नेपाली भूमि कालापानी कब्जा गरी बसेका भारतीय सेनालाई तत्काल हटाउनुपर्ने प्रस्ताव पारित गर्यो ।

त्यस्तै, नेमकिपा दैलेखले दुर्गम जिल्लाहरूमा यातायातको व्यवस्था गरी आवागमन सहज गर्नुपर्ने, नयाँ शैक्षिक वर्षका लागि समयमै पाठ्यपुस्तक पु¥याउन सरकारको ध्यानाकर्षण गरेको छ । महिला हिंसाका जघन्य अपराधीहरूलाई मृत्युदण्डसमेतको कानुनी प्रावधानको बन्दोबस्त गर्न र महिलामा आत्मबल विकासको लागि विद्यालय तहदेखि नै खेलकुदको विषयलाई अनिवार्य गर्न, जंगली जनावरले गर्दा किसानले लगाएको बाली नष्ट भएकोले वन्यजन्तुको नियन्त्रण गर्न र दैलेख जिल्लामा उत्खनन् हुने पेटोलियम पदार्थको अन्वेषनबारे यथार्थ जानकारी स्थानीय जानतालाई दिनु पर्ने माग गरिएको छ ।

नेमकिपा, दैलेखले युक्रेनलाई रणभूमि बनाउने र एसियालाई अन्त्यहीन युद्धमा फसाउने अमेरिकी साम्राज्यवादको युद्ध सरदार नीतिको विरोध गरेको छ । क्युवा र प्रजग कोरियामाथिको नाकाबन्दी खारेज गर्नसमेत माग गरिएको छ ।
नेमकिपा, दैलेखको जिल्ला सम्मेलनले १२ राष्ट्रिय र ३ अन्तर्राष्ट्रिय गरी जम्मा १५ वटा प्रस्तावहरु पारित गरेको थियो ।

नेपाल मजदुर किसान पार्टी, दैलेख जिल्लाको १४ औँ सम्मेलनबाट पारित राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रस्तावहरू
राष्ट्रिय प्रस्ताव

१) सरकारले किसानको निम्ति आवश्यक कृषि मलको बन्दोबस्त गरेको छैन । किसानको निम्ति सस्तो र गुणस्तरीय मल सुलभ तरिकाले व्यवस्था गर्न यो सम्मेलन माग गर्दछ । साथै, स्वदेशमै मल कारखाना स्थापना गर्न र कम्पोष्ट मलसमेत उत्पादन गर्ने कृषकहरूलाई आवश्यक तालिमको व्यवस्था गर्न जोड दिन्छ ।

२) नेपाली पुरुषसँग विवाह गरेका विदेशी महिलालाई तत्काल नेपालको नागरिकता दिने, २०६३ सालमा जन्मको आधारमा नेपाली नागरिकता पाएका विदेशीका छोरा छोरीलाई समेत वंशजको आधारमा नेपाली नागरिकता दिन र गैरआवासीय नागरिकलाई आर्थिक अधिकारसहितको नेपाली नागरिकता दिने नागरिकता विधेयक संसद्को बहुमतबाट पारित गरियो । नेमकिपाले त्यसको विरोध गर्दै आएको छ । उक्त देशघाती विधेयक अविलम्ब खारेज गर्न यो सम्मेलन सबैको ध्यानाकर्षण गराउँदछ ।

३) स्वदेशमा रोजगारी नपाउँदा ७०–८० लाख नेपाली युवा वैदेशिक रोजगारीको नाममा बहुराष्ट्रिय कम्पनीको सस्तो ज्यामी बन्न बाध्य भएको र दाल, चामल, तरकारीलगायत भारतबाट खरिद गर्न १७ खर्ब रुपैयाँभन्दा बढी व्यापारघाटा, २० खर्ब रुपैयाँभन्दा बढी सार्वजनिक ऋण पुगेको छ । यसको जिम्मेवारी आजसम्म सरकारमा जाने पार्टीहरु जिम्मेवार छन् ।

४) नेपाली युवालाई भाडाको सिपाही बनाउँदै आएको सन् १९४७ को गोर्खा भर्ती र नेपाललाई भारतको सुरक्षा छातामा राख्ने सन् १९५० को नेपाल–भारत सन्धि अविलम्ब खारेज गर्न—गराउन नेमकिपा जोड दिन्छ ।

५) नेपाल–भारतबिच खुला सीमा भएको हुँदा अपराधीहरू एकअर्को देशमा लुक्ने, सीमा तस्करी र चेलीबेटी बेचबिखनसमेत बढेको हुँदा दुई देशको हितको निम्ति खुला सीमा नियमन र बन्द गर्न यो सम्मेलन सम्बन्धित सबैको ध्यानाकर्षण गराउँदछ ।

६) नेपालको पश्चिमी जिल्ला दार्चुलामा भारतीय पक्षले महाकाली नदीको धार नेपालतिर धकेलेर बनाएको तटबन्ध तत्काल भत्काउन सरकारको ध्यानाकर्षण गराउँदछ ।

७) नेपालको हितविपरीतका कोसी, गण्डक, महाकाली, माथिल्लो कर्णाली, अरुण तेस्रो, तल्लो अरुण, पश्चिम सेती आदि सन्धि खारेज गर्न र नेपाली भूमि कालापानी कब्जा गरी बसेका भारतीय सेनालाई तत्काल हटाउन सरकारको ध्यानाकर्षण गराउँदछ ।

८) ७१ भन्दा बढी ठाउँमा भारतीय विस्तारवादले अतिक्रमण गरेको ६० हजार हेक्टरभन्दा बढी नेपाली भूमि अविलम्ब फिर्ता लिन सरकारको ध्यानाकर्षण गराउँदछ ।

९) कर्णालीलगायतका दुर्गम जिल्लाहरूमा यातायातको व्यवस्था गरी आवागमन सहज गर्न र विद्युत् उत्पादन वृद्धि गरी बिजुली बत्तीको व्यवस्था गर्न तथा नेपालको नदीनाला र बिजुली सस्तोमा भारतलाई बेच्ने र भारतबाट महँगोमा खाना पकाउने ग्यास खरिद गर्ने काम तत्काल बन्द गर्न सरकारको ध्यानाकर्षण गराउँदछ ।

१०) शैक्षिक वर्ष समाप्त हुन लाग्दा समेत सरकारले केही विषयका पाठ्यपुस्तकहरू विद्यार्थीमाझ पु¥याउन सकेन । विद्यार्थीको भविष्यमाथि खेलबाड गर्ने सरकारको कार्यको विरोध गर्दछौँ । नयाँ शैक्षिक वर्षका लागि समयमै पाठ्यपुस्तक पु¥याउन यो सम्मेलन सरकारको ध्यानाकर्षण गराउँदछ ।

११) सरकारहरूकै संरक्षणमा समाजमा बोक्साबोक्सी, छाउपडी, दहेज प्रथालगायतका कुसंस्कार तथा अन्धविश्वास कायम रहेको हुँदा गरिब, काम गरी खाने वर्गका महिलामाथिको हिंसा र हत्या बढ्दो छ । महिला हिंसाका जघन्य अपराधीहरूलाई मृत्युदण्डसमेतको कानुनी प्रावधानको बन्दोबस्त गर्न र महिलामा आत्मबल विकासको लागि विद्यालय तहदेखि नै खेलकुदको विषयलाई अनिवार्य गर्न गराउन यो सम्मेलन ध्यानाकर्षण गराउँदछ ।

१२) दैलेख जिल्लाका विभिन्न ठाउँमा बँदेल, बाँदरलगायतका जंगली जनावरले गर्दा किसानले लगाएको बाली नष्ट भएकोले वन्यजन्तुको नियन्त्रण गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ ।

अन्तर्राष्ट्रिय प्रस्ताव
१) संरा अमेरिकाले १ वर्षदेखि युक्रेनमा ध्वंश–अन्तरध्वंश तथा युद्ध गर्दैछ । अमेरिकाले आफ्नो प्रतिबद्धताविपरीत युक्रेनलाई नाटो सैनिक संठनमा आबद्ध हुन बाध्य पार्न हतियारसहित पठाएर युद्ध सुरु गरेको निन्दनीय हो । युक्रेनलाई कब्जा गरी मस्को हुँदै भ्लादिभोस्तकसम्म पुग्ने र अन्ततः चीनलाई घेर्ने अमेरिकाको साम्राज्यवादी नीतिलाई भत्र्सना गर्नै पर्दछ । अहिले युक्रेनमा रुसविरुद्धको युद्धमात्र देखिए तापनि यथार्थमा अमेरिकी युद्ध विश्व शान्ति र समाजवादविरुद्ध लक्षित छ । युक्रेनलाई रणभूमि बनाउने र एसियालाई अन्त्यहीन युद्धमा फसाउने अमेरिकी साम्राज्यवादको युद्ध सरदार नीतिको यो सम्मेलन विरोध एवम् भत्र्सना गर्दछ ।

२) अमेरिकी साम्राज्यवादले कोरियाली प्रायःद्वीपमा युद्ध उत्तेजना फैलाउने कार्यलाई अझै रोकेको छैन । प्रजग कोरियाले कसैको धम्कीसामु नझुकी स्वाधीनता रक्षा गर्न दृढ अडान दोहो¥याएकोमा यो सम्मेलन ऐक्यबद्धता प्रकट गर्दछ र अमेरिकी साम्राज्यवादको युद्ध उत्तेजनात्मक गतिविधि शीघ्र रोक्न जोड दिन्छ ।

३) समाजवादी देश क्युवाविरुद्ध संरा अमेरिकी साम्राज्यवादले विगत ६० वर्षदेखि निरन्तर कठोर आर्थिक नाकाबन्दी जारी राखेको छ । यो नाकाबन्दीका कारण क्युवाली जनताको जीवन कष्टकर बन्दै छ । क्युवाविरुद्ध ६ दशक लामो नाकाबन्दीको शीघ्र अन्त्य गर्नुपर्नेमा यो सम्मेलन जोड दिन्छ ।

 


सम्बन्धित समाचार