करिब आठ वर्षमा भेरी बबईको भौतिक प्रगति ५९ प्रतिशत
सुर्खेत ।
आर्थिक वर्ष २०७१÷०७२ बाट निर्माण कार्य सुरु भएको राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना सुरु भएको आठ वर्षमा ५९ प्रतिशत भौतिक प्रगति भएको छ भने वित्तिय प्रगति ४३ प्रतिशत हासिल भएको छ ।
नेपालमा पहिलो पटक टनेल बोरिङ्ग मेसिन (टिबिएम) प्रविधिको प्रयोग गरी निर्माण गर्न लागिएको आयोजनाबाट लुम्बिनी प्रदेशका बाँके र बर्दिया जिल्लाका करिव ५१ हजार हेक्टर कृषियोग्य जमिनमा बाह्रै महिना सिंचाई सुविधा उपलब्ध गराउने र ४६ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको आयोजनाको काम तीव्र गतीमा अगाडि बढि रहेको छ ।
आयोजनाको पहिलो चरणमा १२ किलोमिटर लामो सुरुङ्ग १० अर्ब ५६ करोड लागतमा निर्माण कार्य सम्पन्न भई सकेको छ । चिनियाँ कम्पनी चाइना इन्जिनीयरङ ओभरसिज प्रालि (कोभेक) ले तोकिएको समयभन्दा १ वर्ष अगावै टनेल बोरिङ मेशिन (टीबीएम)का सहायताले सुरुङ निर्माण गरिसकेको छ ।
हाल दोस्रो चरणका कामहरु सिभिल संरचना (हेडवक्र्स, पावरहाउस तथा सर्ज साफ्ट) हाइड्रोमेकानिकल, इलेक्ट्रोमेकानिकल अन्तर्गतका कामहरु धमाधम भइरहेका छन् । दोस्रो चरणका बाँध र विद्युत् गृह निर्माणका लागि चिनियाँ कम्पनी ग्वाङ्डोन तथा नेपालको रमण जेभी र आयोजनाबीच आर्थिक वर्ष २०७९÷०८० मा काम सम्पन्न गर्ने गरी ११ अर्ब ५२ करोड ६१ लखमा २०७६ साउनमा ठेक्का सम्झौता भएको थियो ।
दोस्रो चरणका सबै चालु आर्थिक वर्षको असार मसान्तसम्म सक्नु पर्ने कार्यादेश भएको भएपनि यी काम सम्पन्न गर्न थप २ वर्ष लाग्ने देखिन्छ । विश्वव्यापी फैलिएको कोरोना महामारी, निर्माण सामाग्री अभाव लगायत समस्याका कारण तोकिएको समयमा आयोजना निर्माण हुन नसकी पछाडि धकेलिएको आयोजनाले जनाएको छ ।
आयोजनाले हाइड्रोमेकानिकल अन्तर्गत गेट तथा पेनस्टक पाइप निर्माणका लागि ठेकेदार परिचालन गर्नुका साथै इलेक्ट्रोमेकानिकल अन्तर्गत टर्वाइन, जेनेरेटर, स्विचयार्ड डिजाइनका कामहरू रहेको आयोजनाका सूचना अधिकारी एवं सिनियर डिभिजनल इन्जिनीयर लेखनाथ सुवेदीले जानकारी दिए । आयोजनाको कूल लागत ३६ अर्ब ८० करोड ७७ लाखमध्ये हालसम्म १५ अर्ब ६८ करोड ९६ लाख रुपैयाँ खर्च भइसकेको छ ।
राष्ट्रको समग्र विकासमा टेवा पुग्ने दृष्टान्तलाई मध्यनजर गर्दै सन् १९९८ मा जापानको अन्तराष्ट्रिय सहयोग संस्था जाइकाले भेरी बबईको वातावरणीय प्रभाव मूल्यांकन गरेको थियो । जसमा भेरी नदीको पानी बबईमा खसाली जलविद्युत र सिंचाईको प्रचुर सम्भावना रहेको प्रतिवेदन नेपाल सरकारलाई बुझाएको थियो ।
सोही बमोजिम सिंचाई विभागले आर्थिक वर्ष २०६८ भदौं ७ गतेबाट निर्माण कार्य थाल्ने घोषणा गरिएको भए पनि विविध कारणले यसको निर्माण कार्य आर्थिक वर्ष २०७१÷०७२ बाट सुरु भएको थियो ।
सुर्खेतको भेरीगंगा नगरपालिका ११ चिप्लेमा भेरीको पानी बबईमा खसाल्न ६ गेज सहितको ब्यारेज निर्माण गर्न लागिएको हो । ब्यारेज ११४ मिटर लामो र १४ मिटर अग्लो हुनेछ । त्यहाँबाट १२ किलोमिटर सुरुङमार्फत भेरीगंगा नगरपालिका ५ हात्तीखालमा भेरीको पानी बबई नदीमा खसालिनेछ । जहाँ ४६.८ मेगावाट क्षमताको विद्युत् उत्पादन गरिनेछ । संघीय सरकारले आफ्नो स्वामित्वमा रहने गरी भेरी बबई डाइभर्सन जलविद्युत कम्पनी स्थापनासमेत गरिसकेको छ ।
यस्तै, आयोजनाको डिजाइन, क्वालिटी कन्ट्रोल र सुपरभिजन कार्यका लागि आयोजनाले छनौट गरेको परामर्शदाता इरानी कम्पनी महब घोड्स कन्सल्टिङ इन्जिनीयरिङ (एमजीसीई) सँगसम्झौता रद्द गरेको छ । २०७६ असोज ६ गते एमजीसीई र नेपालको इन्जिनीयरिङ कन्सल्टेन्सी फर कन्स्ट्रक्टिभ डेभलपमेन्ट इफोर्ट इन नेपाल (इकोकोडी) सँग आयोजनाले परामर्शदाताका लागि सम्झौता गरेको थियो ।
कम्पनीले शर्तअनुसार काम पूरा नगरेपछि आयोजनाले सम्झौता रद्द गरेको जनाएको छ । आयोजनाका सूचना अधिकारी एवं सिनियर डिभिजनल इन्जिनीयर (सीडीई) लेखनाथ सुवेदीले परामर्शदाताको रूपमा काम गरिरहेको कम्पनीले सम्झौताका शर्त पालना नगर्दा आयोजनाको काम प्रभावित हुन पुगेको बताए ।
उनले भने, ‘अमेरिकी सरकारको कालोसूचीमा परेपछि एमजीसीई आयोजनाबाट पन्छिन खोजेको थियो । कम्पनीले १ वर्षदेखि परामर्शदाताको रूपमा काम गर्न पूर्ण रूपमा छाडेपछि आयोजनाले माघ ९ गतेबाट लागू हुने गरी कम्पनीसँग सम्झौता करार रद्द गरेको हो ।’
यस्तै, एमजीसीईले भेरी बबई आयोजनामा नेपालको इन्जिनीयरिङ कन्सल्टेन्सी फर कन्स्ट्रक्टिभ डेभलपमेन्ट इफोर्ट इन नेपाल (इकोकोडी) सँग मिलेर परामर्शदाताको रुपमा काम गर्दै आएका थिए ।
पहिलोप्रेस
१६ फाल्गुन २०७९, मंगलवार ०८:५१