आठबीसमा आगामी चुनाव जित्ने गरि लाग्न पूर्व मुख्यमन्त्री शाहीको कार्यकर्तालाई निर्देशन
सुर्खेत ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य कमाण्ड इन्चार्ज एवम पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दैलेखको आठबीसमा माओवादीलाई एक नम्बरको पार्टी बनाउने बताएका छन् ।
आठबीस नगरपालिकाको राकम कर्णालीमा बिकास र समृद्धिका लागि संगठन सुदृढीकरण २ महिने अभियान को उदघाटन तथा प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै उनले यस्तो बताएका हुन ।
‘दैलेखलाई माओवादी केन्द्रको हवको रुपमा विकास गर्ने योजना बनाएका छौं । आठबीसबाटै त्यसको सुरुवात हुनेछ ।’ प्रशिक्षणका क्रममा शाहीले भने, ‘कार्यकर्ताहरु अब वीरेन्द्रनगर वा काठमाडौं होईन, आठबीसमा आफ्नो टोल टोलमा खटिनुहोस । जनताका पिर मर्का बुझेर त्यसको समाधान गर्न लाग्नुहोस ।’
पूर्व मुख्यमन्त्री शाहीले नगरपालिकामा भएका व्यथिति, जनताका सरोकारका विषयमा निरन्तर आवाज मात्रै उठाउने नभई खबरदारी गर्न समेत कार्यकर्तालाई निर्देशन दिए ।
‘तपाईहरु अब आगामी चार वर्ष पछिको निर्वाचनको तयारीमा जुटनुहोस । गाउँमा गएर जनताका समस्या पहिचान गर्दै स्थानीय तहले त्यसका गरेको योगदानको समेत हिसाब राख्नुहोस ।’ उनले भने, ‘जनताका समस्या समाधान गर्न आठबीस नगरपालिकालाई घच्घच्याउनुहोस । आवश्यक योजना प्रदेश र संघबाट हामी पठाउँछौं ।’
प्रशिक्षण कार्यक्रममा प्रदेश कमिटि सदस्यहरु, जिल्ला सदस्यहरु तथा नगरका पदाधिकारी एवम सदस्यहरुको सहभागिता रहेको थियो ।
पहिलोप्रेस
२१ फाल्गुन २०७९, आईतवार ०८:४५