कर्णालीको राजधानीमा रहेको बहुमुखि क्याम्पसमा अखिलको कब्जा, प्रदेशमा भने अखिललाई गम्भीर धक्का !
सुर्खेत ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेको बहुमुखि क्याम्स सुर्खेतमा एमाले निकट अखिलले वाजी मारेको छ । साविक मध्यपश्चिम विकास क्षेत्रको शिक्षा क्याम्पसको रुपमा रहेको यो क्याम्पसमा एमाले निकट संगठनको दबदबा रहँदै आएको थियो । सोही बमोजिम सत्तारुढ दलका विद्यार्थी संगठनलाई हराउँदै अनेरास्ववियु सभापति पदका उम्मेदवार अकल बहादुर सिजापतिले वाजी मारेका हुन ।
सिजापति ९६७ मतसहित निर्वाचित हुँदा गठबन्धनबाट उम्मेदवार बनेका अखिल क्रान्तिकारीका हिक्मत शाहीले जम्मा ४८८ मत प्राप्त गरेका हुन ।
यहाँ नेकपा माओवादी निकट अखिल क्रान्तिकारीलाई नेविसंघको समेत साथ रहँदा पनि चुनाव जित्न सकेन । मध्यपश्चिम विश्वविद्यालयपछि राजनीतिक दलका नेताहरूले यो क्याम्पसलाई निकै महत्त्वका साथ लिएका थिए भने स्वयं नेताहरू समेत आफै मैदानमा खटिएर आ–आफ्नो उम्मेदवारलाई भोट मागेका थिए ।
प्रदेशमा सबैभन्दा धेरै विद्यार्थी संख्या रहेको यो क्याम्पसमा ३ हजार बढी विद्यार्थी संख्या रहेको थियो । यस्तै अन्य पदहरूमा पनि अनेरास्ववियुले जै जित हात पारेका छ ।
अनेरास्ववियु कर्णालीमा अन्य जिल्लामा भने शून्य जस्तै छ । सल्यानको एउटा क्याम्पस र सुर्खेतका केही क्याम्पस बाहेक अन्य जिल्लामा अनेरास्ववियुलाई नराम्रोसँग धक्का लागेको छ ।
कर्णालीमा एमाले निकट विद्यार्थी सङ्गठनले जम्मा ६ क्याम्पसमा जित हात पार्न सफल भयो । प्रदेशमा सबैभन्दा बढी अखिल क्रान्तिकारीले १६, नेविसंघले १२ र एक जना स्वतन्त्र उम्मेदवारले जितेका छन् । यो सँगै कर्णालीमा स्ववियु निर्वाचन सम्पन्न भएको छ ।
पहिलोप्रेस
७ चैत्र २०७९, मंगलवार ०८:५१