जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरूद्धको अपराध हो : प्रदेश प्रमुख परियार
सुर्खेत ।
कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरूद्धको अपराध भएको बताएका छन् ।
५८ औं अन्तराष्ट्रिय जातीय तथा रंगभेद उन्मूलन दिवस २१ मार्च) राष्ट्रिय दिवसको अवसरमा आज शुभकामना सन्देश दिदैं उनले उत्तः कुरा बताएका हुन ।
‘नेपालको संविधान तथा यस अन्तर्गत भएका कानुनी व्यवस्थाले जातीय आधारमा हुने सबै प्रकारका विभेद, बहिष्करण, बञ्चितीकरण र हिंसालाई अपराधको रूपमा लिदै त्यसलाई निषेध गरेको छ । तथापि, समाजमा विद्यमान पुरातन सोच, आर्थिक विषमता एवं न्यून चेतनाका कारणले व्यवहारमा जातीय भेदभाव तथा छुवाछुत प्रथाको समूल अन्त्य हुन सकिरहेको छैन ।’
प्रदेश प्रमुख परियाले भनेका छन, ‘छुवाछुत प्रथा सभ्य समाजका लागि अस्वीकार्य छ । यस प्रथाको समूल अन्त्य गर्दै न्यायपूर्ण, सभ्य, सुसंस्कृत एवं समतामूलक समाज निर्माणका लागि समग्र समाजको सांस्कृतिक रूपान्तरणको खाचो रहेको छ । यसका लागि सबै पक्षको एकताबद्ध र निरन्तर प्रयासको आवश्यकता पर्दछ भन्ने मलाई लागेको छ ।’
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरूद्धको अपराध भएको बताउँदै त्यसैले जातीय भेदभाव तथा छुवाछुत प्रथाविरूद्ध दृढतापूर्वक क्रियाशील रहन सबैमा आव्हान समेत गरेका छन् ।
‘सबै जात–जाति र समुदाय बीच आपसी एकता, मेलमिलाप र सहयोगको भावना अभिवृद्धि गरी राष्ट्रिय एकतालाई सुदृढ बनाउन समेत आजको दिवसले सबैलाई अभिप्रेरित गर्नेछ भन्ने मलाई विश्वास छ ।’
उनले भनेका छन्, ‘अन्तमा, जातीय तथा रंगभेद उन्मूलन दिवस २१ मार्च) राष्ट्रिय दिवसबाट सामाजिक तथा रुढिवादी सोच, शैली, प्रथा र प्रचलनमा सकारात्मक परिवर्तनद्वारा आपसी एकता, सद्भाव र सहिष्णुता अभिवृद्धि भई छुवाछुतरहित समतामूलक समृद्ध राष्ट्र निर्माण गर्ने दिशातर्फ अग्रसर हुन सबैलाई प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।’
हेर्नुहोस सन्देशको पूर्ण पाठ:
पहिलोप्रेस
७ चैत्र २०७९, मंगलवार ०९:४४