मन्त्री शाहद्धारा बजेटमाथि वक्रदृष्टि : ठाँटीकाँधमा मात्रै पौने पाँच करोड विनियोजन गर्दा आफ्नै वडामा तीन करोड ८५ लाख ! (हेर्नुहोस विवरण)
शेरबहादुर थापा / सुर्खेत ।
कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विनोद कुमार शाहले सरकार ढल्ने सम्भावना भएकै समय पारेर आफ्नो निर्वाचन क्षेत्र सहित कर्णालीका नाै जिल्लामा रातो किताबमा प्रकाशित योजना बाहेक नयाँ ६७ ओटा योजनामा बजेट विनियोजन गरेका छन् ।
केन्द्रमा एमाले माओवादी सहितको सरकार ढल्ने निश्चित भएसँगै मन्त्री शाहले फागुन १६ गते ती आयोजनामा २३ करोड २० लाख रुपैंया पठाएका हुन ।
यतिसम्म कि २३ करोड २० लाख रकमको अख्तियारी मन्त्री शाहले पठाई सक्दा पनि कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले त्यसको सुईको सम्म पाएनन् । मुख्यमन्त्री शर्माले नै थाहा नपाएको कुरा अन्य मन्त्री तथा सांसदहरुलाई भने भनक नै लागेन ।
मन्त्री शाहले छानेका अधिकांश आयोजना एमाले कार्यकर्ताका रहेका छन् । उनका प्रमुख स्वकीय सचिव नेत्र विष्टको चलखेलका कारण अन्य पाटीका कार्यकर्ताले भने एउटा योजना पनि पाउन सकेनन् ।
दैलेखको ठाँटीकाँध गाउँपालिकामा चार करोड ७५ लाख रुपैंया विनियोजन गरेका छन् । यो उनको गृहपालिका समेत हो । ११ ओटा पालिका रहेको दैलेखमा सबैभन्दा बढि बजेट यहि क्षेत्रमा उनले पारेका छन् । उनको गृह वडा वडा नं. एक भएका कारण यहाँ विनियोजित बजेट मध्ये अन्य वडामा नब्बे लाख मात्रै पठाएका छन् भने आफ्नो वडामा तीन करोड ८५ लाख बजेट विनियोजन गरेका छन् ।
उनको प्रदेश निर्वाचन क्षेत्र अन्र्तगतको चामुण्डाविन्द्रासैनी नगरपालिकामा एक करोड पाँच लाख बराबरका आयोजना छनौट गरेका हुन ।
यस्तै, आठबीस नगरपालिकामा तीन करोड ८५ लाख रुपैंया बराबरका आयोजना छनौट गरेका छन् । उनका स्वकीय सचिव विष्टले विष्टगाउँ खानेपानी आयोजना मर्मत सम्भार भनेर १५ लाख रुपैंया बजेट विनियोजन गरेका छन् ।
मन्त्री शाहले चुनावमा आफूलाई बढि मत दिएका वडामा मात्रै बजेट विनियोजन गरेका छन् ।
उदाहरणका लागि आठबीस नगरपालिकामा नौ ओटा वडा रहेकामा उनले जम्मा तीन ओटा वडामा मात्रै बजे विनियोजन गरेका हुन । उनले स्वकीय सचिव विष्टको वडा नं. एकमा अधिकांश योजना छान्दा दोश्रो प्राथमिकता भने वडा नम्बर ६ लाई दिएका छन् । वडा नं. सातको मडासैनमा रहेको जनता आधारभुत विद्यालयमा घेरबार गर्न भन्दै ६० लाख बजेट विनियोजन गरेका हुन । वडा नं. ६ मा दुई ओटा सडक निर्माण गर्न एक करोड १० लाख र एक मन्दिर निर्माण गर्न २५ लाख बजेट विनियोजन गरेका छन् ।
यहाँ अच्चम लाग्दो कुरा के छ भने खिड्कीज्यूला हुँदै सिंगासैन जोडने सडक वडा कार्यालय नपुग्दै उनले खिड्कीज्यूला सद्दु हुँदै ताउनी जोडने सडक भनेर ५० लाख बजेट विनियोजन गरिदिएका हुन ।
उनको गृहपालिका ठाँटीकाँधमा अधिकांश आयोजना आफ्नै वडामा केन्द्रीत गरेका छन् ।
६ ओटा वडा रहेको ठाँटीकाँधमा उनले वडा नम्बर एक, तीन, चार र ६ नम्बरमा मात्रै बजेट विनियोजन गरेका हुन ।
अर्को कुरा के छ भने उनले गरेको बजेट विनियोजनमा सल्यान जिल्लामा एक ओटा योजना पनि परेका छैनन् भने दैलेख पछि सुर्खेतमा धेरै योजना परेका छन् ।
जुम्लामा कालिका मावि टोप्लाको आइसिटी तथा पुस्तकालय निर्माण गर्ने भनेर तातोपानी गाउँपालिका ८ मा २० लाख बजेट पारिएको छ । जुम्लामा यो मात्रै योजना पारिएको हो ।
डोल्पामा दुई ओटा योजना परेका छन् । लोङला देखि सोचेन तटबन्धन त्रिपुरासुन्दरी १ करेलीडाँडाका लागि तीस लाख र तामु सिंचाई आयोजना ठूलीभेरी ४ डोल्पामा तीस लाख बजेट परेको छ ।
जाजरकोटमा सक्ला रन्गवारा हुँदै खारी जोडने सडक वारेकोट नौ जाजरकोट तीस लाख, ज्ञानकुञ्ज क्याम्पस फिल्ड निर्माण छेडागाड तीनमा २० लाख, पाँच काटीया बुढीका चौर हुँदै मछाईन्ना जोडने सडक भेरी नपा ३५ लाख आरसी खोला तटबन्धन छेडागाड ९ मा ४० लाख र काउली छहरे खोला दुवारे सडक वारेकोट पाँचमा तीस लाख बजेट अर्थमन्त्री शाहले पारेका छन् ।
बाले बगर वृहत तटबन्धन छायानाथ रारा नपाको ६ मुगुमा ४० र सोही नगरपालिकाको वडा नं. ८ मा धौलीगाडा तटबन्धन आयोजना भनेर तीस लाख बजेट विनियोजन भएको छ ।
कालिकोटको नव दिपक आधारभुत विद्यालय गौराकोट, नरहरी नाथ गाउँपालिका वडा नं. ९ मा घरबार भनेृर २० लाख बजेट विनियोजन भएको छ । किर्मि जिउला देखि छाला ओडारसम्म सिचाई निर्माण गर्न भन्दै कालिकोटकोमा १५ लाख विनियोजन गरेका छन् ।
रुकुम पश्चिमको त्रिवेणी गाउँपाकिा वडा नं. १० मा चिसापानी खेलकुद मैदान निर्माण गर्ने भनेर तीस लाख रुपैंया विनियोजन भएको छ ।
हुम्लाको सर्केगाड १ मा साँगुडा ग्रामिण सडक निर्माण गर्न भन्दै २० लाख बजेट विनियोजन भएको छ ।
पहिलोप्रेस
१४ चैत्र २०७९, मंगलवार ११:१२