Loading... आजः ४ पुष २०८१, बिहीबार

‘गरिब’ प्रदेशका धनि अर्थमन्त्री : काठमाडौंमा घर, भक्तपुरमा घडेरी, झण्डै १६ सय तोला सुनचाँदी

सुर्खेत ।
कर्णाली प्रदेशका हरेक नागरिकलाई गरिब छन, प्रदेश गरिब हो भन्ने भाष्यमा परिभाषित गर्ने प्रचलन देशैभरि व्याप्त छ । जलस्रोतको धनि प्रदेश, सबैभन्दा ठूलो भौगोलिक प्रदेश र अर्गानिक प्रदेशको रुपमा कर्णाली अघि भएपनि यस प्रदेशलाई गरिब भन्नेहरुको संख्या दिनानुदिन बढदै गएको छ ।

तर, सरकारका उच्च पदमा पुगेका नेताहरुको सम्पती विवरण मात्रै हेर्ने हो भने यो भाष्यलाई चिर्न मदत गर्छ । यहाँ कर्णालीको विकास र समृद्धिका लागि बजेट निर्माण गर्ने देखि बजेटमा कैंची चलाउने सम्मको अधिकार प्राप्त आर्थिक मामिला तथा योजना मन्त्री विनोद कुमार शाहको सम्पती विवरण हेर्दा अन्य प्रदेशका नागरिकले आरोप लगाउने जस्तो कर्णाली गरिब नभएको पुष्टि हुन्छ ।

कर्णाली प्रदेश सरकारका अर्थमन्त्री विनोदकुमार शाह सबैभन्दा धनी देखिएका छन् । उनी प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा र अन्य मन्त्रीभन्दा निकै धनी छन् । उनको सम्पत्ति विवरण अनुसार उनको काठमाडौँमा लाखौँ मूल्यको घर छ भने प्रशस्त मात्रमा चल अचल सम्पत्ति रहेको छ ।

काठमाडौँमा घर हुने र गाडी हुने एक मात्र मन्त्री हुन्, शाह । दैलेख निर्वाचन क्षेत्र २ (ख) बाट एमालेबाट चुनाव जितेका उनको निर्वाचन क्षेत्रमा भने घर छैन । उनी ठाटीकाँध गाउँपालिका–१ कोसेडी निवासी हुन् । तर उनी गाउँभन्दा काठमाडौँमा बढी बस्ने गरेका छन् । उनको अहिले गाउँमा घर छैन । काठमाडौँको बुढानीलकण्ठमा ७५ लाख मूल्य पर्ने २ तलाको घर छ । उक्त घर उनले आफ्नी श्रीमती लक्ष्मीदेवी शाहको नाममा राखेका छन् । उक्त घर ऋण गरेर खरिद गरिएको उल्लेख गरिए पनि त्यो भन्दा बढी मूल्यमा घडेरी जोडेको सम्पत्ति विवरणमा उल्लेख छ ।

श्रीमतीकै नाममा भक्तपुरको सूर्य विनायक नगरपालिका–६ मा ५०८.६४ वर्ग मिटर क्षेत्रफलको घडेरी छ । उक्त घडेरी ४८ लाख मूल्य रहेको र पैतृक सम्पत्तिबाट खरिद गरेको उल्लेख गरेका छन् । साथै पश्चिम दैलेखको आठ बिस नगरपालिका–४ राकम कर्णालीमा पनि शाहको जग्गा रहेको छ । १० लाख मूल्य बराबरको उक्त घडेरी १८५ वर्ग मिटर क्षेत्रफलमा फैलिएको छ । उक्त जग्गा पारिश्रमिकबाट खरिद गरिएको उल्लेख गरिएको छ । यस्तै ठाटीकाँध गाउँपालिका– १ मा ५० रोपनी पैतृक जग्गा रहेको शाहले उल्लेख गरेका छन् ।

अर्थमन्त्री शाहसँग सुन मात्र ७५ तोला रहेको छ । उनीसँग बनाइएका सुनका गहना मात्रै २५ तोलाका छन् भने नबनाइएको सुन ५० तोला रहेको छ । यस्तै उनीसँग चाँदी पनि प्रशस्त छ । एक हजार ५०० तोला चाँदी हुने उनी एक्ला मन्त्री धनी मन्त्री हुन् । साथै उनको १५ तोलाको हिराको हार पनि रहेको छ ।

यति धेरै चल सम्पत्ति उनले केही पैतृक सम्पत्ति छोरा र आफ्नो पारिश्रमिकबाट खरिद गरेको उल्लेख गरेका छन् । उनका छोरा अमेरिकामा बस्दै आएका छन् । यस्तै हिराको हार छोरीले अस्ट्रेलियाबाट उपहार दिएको उल्लेख गरेका छन् ।

यस्तै शाहको नाममा २ वटा बैङ्कमा गरी २० हजार बराबरको रकम मौज्दात छ भने ८६ लाख ऋण पनि रहेको छ । उक्त ऋण मासिक ६५ हजारका दरमा तिर्ने गरेका छन् । उनीसँग १६ लाख मूल्य बराबरको टोपोरा प्राडो गाडी छ । उक्त गाडी उनी ०५४ सालमा सांसद हुँदाताका नै खरिद गरेका थिए ।

उनी ०५१ सालमा नेमकिपाबाट सांसद निर्वाचित भएर सांसद पदसहित एमालेमा प्रवेश गरेका थिए । हाल एमालेको प्रदेश अध्यक्ष समेत रहेका उनी राजाको पालामा सिँचाई मन्त्री समेत भएका थिए ।

हेर्नुहोस् उनको सम्पत्ति विवरण 


सम्बन्धित समाचार