Loading... आजः ४ पुष २०८१, बिहीबार

कर्णालीबाट प्रथम उपप्रधानमन्त्री बनेका खड्काको मेयरदेखि उपप्रधानमन्त्रीसम्मको यात्रा

सुर्खेत ।
कर्णाली प्रदेशले पहिलोपल्ट उपप्रधानमन्त्री पाएको छ । संसदीय राजनीतिको लामो समय वित्दा पनि यसअघि कर्णाली प्रदेशबाट कुनैपनि नेता उपप्रधानमन्त्री बनेका थिएनन् । नेपाी काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षा मन्त्री आज नियुक्त भएसँगै कर्णालीले ऐतहासिक रुपमा पहिलोपटक उपप्रधानमन्त्री प्राप्त गरेको छ ।

को हुन खड्का ?
कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाका निकट सहयोगीको नाम लिँदा पूर्णबहादुर खड्का सधैँ अग्रपंतिमा आउँछन् । कर्णाली प्रदेशबाटै पहिलोपटक कांग्रेस पदाधिकारीमा पुग्न सफल नेता हुन् उनी ।

कर्णाली कांग्रेसकै एक बलिया खम्बा मानिने नेता खड्का हाल पार्टीको उपसभापति छन् । खड्का विगतमा पाँचपटक निर्वाचित सांसद र पाँचौ पटक मन्त्री भइसकेका छन् । उनी संसदको राज्य व्यवस्था समितिको सभापतिसमेत बनेका थिए ।

२०३१ सालबाट राजनीतिक यात्रा शुरु गरेका खड्का २०३४ सालमा सुर्खेत कांग्रेसको सभापति भएका थिए । त्यतिबेला उनी जम्मा २४ वर्षका थिए । पञ्चायतकालको प्रतिबन्धित अवस्थामा उनी निरन्तर राजनीतिमा सक्रिय रहे ।

२०३६ सालमा बहुदल र निर्दलबीचको चुनावमा कांग्रेसले भाग लिने निर्णय गर्दा खड्काले वीरेन्द्रनगरमा मेयरको रुपमा चुनाव जितेका थिए, तर उनलाई पञ्चायतको समर्थन गर्न राजाले दबाब दिए । राजाले दिएको दबाब अस्वीकार गर्दा जिल्ला अदालत सुर्खेतले मेयर भएको ६ महिनामै उनलाई अपदस्थ गरिदिएको थियो ।

विभिन्न समयमा गरेर पाँच महिनाभन्दा बढी जेलजीवन बिताएका खड्का सुर्खेतको निर्वाचन क्षेत्र नम्बर १ बाट पाँचपटक सांसदमा विजयी बने भने एकपटक पराजित भए ।

२०४८, २०५१, २०५६ मा उनी प्रत्यक्ष चुनाव जितेर सांसद भएका थिए । २०६४ सालमा उनी समनुपातिक सांसद बने । २०७० सालमा भएको चुनावमा जितेका खड्का पछिल्लो २०७४ सालको संसदीय चुनावमा भने पराजित भएका थिए ।

खड्का दुईपटक गृहमन्त्री भइसकेका छन् । यस्तै, उनीसँग युवा तथा खेलकुद मन्त्री (दुईपटक), सञ्चारमन्त्री र उद्योग वाणिज्य मन्त्रीका रूपमा जिम्मेवारी निभाएको अनुभव छ । सुर्खेत १ का जनतामा उनले आफूलाई ‘विकासप्रेमी नेता’ का रूपमा चिनाएका छन् ।

खड्काले १० औं महाधिवेशनमा नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा चुनाव लडेका थिए । त्यो समयमा मध्यपश्चिम विकास क्षेत्रबाट एक जना मात्रै केन्द्रीय सदस्य चुन्ने व्यवस्था थियो ।

सो महाधिवेशनमा सुशील कोइराला विजयी हुँदा खड्का पराजित भए । त्यसपछि ११ औं महाधिवेशनमा कांग्रेस फुटेर बनेको प्रजातान्त्रिक कांग्रेसको केन्द्रीय सदस्यमा उनी निर्वाचित भए । १२ औं महाधिवेशनमा पनि केन्द्रीय सदस्य जितेर उनी सहमहामन्त्रीमा मनोनित भएका थिए । पछिल्लो १३ औं महाधिवेशनमा महामन्त्री बनेका हुन् ।

१४ औं महाधिवेशनमा उपसभापति निर्वाचित भएका खड्का आज उपप्रधानमन्त्री बन्न सफल भएका छन् ।


सम्बन्धित समाचार