नेपालको शिक्षा नीतिले टाउको होइन खुट्टा टेक्नुपर्छः मुख्यमन्त्री शर्मा

सुर्खेत ।
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले नेपालको शिक्षा नीतिले टाउको टेकेको बताउँदै अब खुट्टा टेकाउने खालको नीति बनाउनुपर्ने बताएका छन् । आज वीरेन्दनगरमा असर नेपालद्वारा आयोजना गरिएको शिक्षाको वार्षिक स्थिति प्रतिवेदन विमोचन कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री शर्माले पञ्चायतकालीन शिक्षा नीतिले अहिलेको नेपालको मागलाई सम्वोधन गर्न नसक्ने धारणा राखेका हुन ।
‘२०२८ सालको शिक्षा ऐन हालसम्म कार्यान्वयनमा छ । पञ्चायत देखि बहुदल हुँदै हाल लोकतान्त्रिक गणतन्त्र र नयाँ संविधानको यात्रामा नेपाल छ ।’ मुख्यमन्त्री शर्माले भने, ‘उक्त अवस्थामा आवश्यक रहेको शिक्षा नीति अब हेरफेर, संशोधन गर्न आवश्यक छ । अनिमात्र शिक्षा क्षेत्रमा आमूल रुपान्तरण सभव छ ।’

उनले शिक्षा दक्ष जनशक्ति उत्पादनको कारखाना भएको बताउँदै पछिल्लो समयमा नेपालमा माथिल्ला कक्षालाई प्राथमिकता दिने तर तल्ला कक्षाहरुको वेवास्ता गर्ने प्रचलन बढेको बताउँदै यसले शिक्षा क्षेत्रमा ठूलो हानी गर्न सक्ने बताए ।
‘अहिलेको शिक्षा श्रम र सीपबाट टाढा छ । प्रविधीमैत्री छैन । नैतिकवान छैन । अब शिक्षालाई नैतिकतासँग, प्रविधिसँग, श्रम र सीपसँग जोडेर लैजानुपर्छ ।’ उनले भने, ‘त्यसकालागि संविधानले दिएका एकल र साझा अधिकारक्षेत्र भित्र रहेर तीनै सरकारले आवश्यक नीति बनाउनुपर्छ र अघि बढनुपर्छ ।’ उनले यसकालागि नीति, विधी र व्यवस्थापकीय अवस्था सुधार गर्न आवश्यक रहेको बताए ।
असर नेपालले दैलेखको डुंगेश्वर गाउँपालिका, जाजरकोटको शिवालय गाउँपालिका, कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका, सल्यानको सिद्वकुमाख र सुर्खेतको सिम्ता गाउँपालिकामा सन २०१६ देखि गरेको अध्ययनबारे आफ्नो अनुसन्धान आज विमोचन गरेको हो ।








पहिलोप्रेस
१८ चैत्र २०७९, शनिबार १८:५६