Loading... आजः ३ कार्तिक २०८२, सोमबार

एमालेले ‘ढोक्सा’ थापेपछि तेहरो दवावमा कर्णालीका मुख्यमन्त्री

एमालेका मन्त्रीलाई विनाविभागिय बनाउन माओवादीभित्रबाटै दवाव


सुर्खेत ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली प्रदेश सभाबाट चैत १७ गते दोश्रो पटक विश्वासको मत लिएपछि मुख्यमन्त्री शर्मा तेहरो दवावमा परेका छन् ।

प्रदेश सभाबाट एमाले, काँग्रेसको समेत मत पाएका मुख्यमन्त्री शर्मालाई पार्टी भित्रबाट र नेपाली काँग्रेसबाट तत्काल एमालेका मन्त्रीलाई बर्खास्त गर्न वा विना विभागिय मन्त्री बनाउन भन्दै दवाव पर्न थालेको हो ।

चैत १८ गते मुख्यमन्त्री निवासमा बसेको माओवादी सांसद देखि नेता कार्यकर्ताहरुको बैठकले केन्द्रको सहमति अनुसार अघि बढनुपर्ने भन्दै मुख्यमन्त्री शर्मालाई दवाव दिएको स्रोतले बतायो ।

स्रोतले दाबी गरेअनुसार एमालेले विश्वासको मत नदिने अपेक्षा काँग्रेस र माओवादी नेतृत्वले गरेपनि एमालेले भने ढोक्सा थापिदिएका कारण मुख्यमन्त्री शर्मा दवावमा परेका हुन ।

मुख्यमन्त्री तथा अन्य मन्त्रीलाई थाहै नदिई सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विनोद कुमार शाहले आफ्ना भाई, भतिजा तथा आफन्तलाई मात्रै बजेट विनियोजन गरेपछि क्रुद्ध बनेका माओवादी र काँग्रेसका सांसदहरुले कम्तिमा उनलाई तत्काल बर्खास्त गरेर अघि जानुपर्ने भन्दै मुख्यमन्त्रीलाई दबाब दिइरहेका छन् ।

माओवादी उच्च स्रोतले समेत मुख्यमन्त्रीलाई तत्काल एक्सन लिन र केन्द्रीय सहमति अनुसार अघि बढन निर्देशन दिएका छन् । स्रोत भन्छ, ‘त्यसका आधारमा केहि दिनमा मुख्यमन्त्री शर्माले केहि एक्सन लेलान ।’

माओवादी प्रदेश इन्चार्ज कालीबहादुर मल्लले समेत अब कर्णाली प्रदेशमा मात्रै एमालेसँग मिलेर अघि बढन नसकिने भन्दै एमालेलाई बाहिर राख्ने मेलोमेसो मिलाउन निर्देशन समेत दिएका थिए तर अन्तिम समयमा एमालेले विश्वासको मत दिएपछि मुख्यमन्त्री शर्मा समेत के गर्ने, कसो गर्ने अवस्थामा पुगेका हुन ।

उता, नेपाली काँग्रेसले तत्काल एमालेलाई सरकारबाट बाहिर गराउन आन्तरिक रुपमा दवाव दिन थालेको छ । काँग्रेस प्रवक्ता दमन शाहीले पनि सरकारलाई विश्वासको मत दिनुको आधार भनेको केन्द्रको गठबन्धनको मर्म अनुसार भएको बताउँदै सोही अनुसार माओवादी नेतृत्वले आवश्यक निर्णय गर्नुपर्ने बताए ।

‘हामीले सत्ता सहकार्य गर्नकै लागि मात्रै नभएर केन्द्रको गठबन्धनको मर्म अनुसार विश्वासको मत दिएका हौं ।’ पहिलोप्रेससँग कुरा गर्दै शाहीले भने, ‘सोही अनुसार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्रीले आवश्यक वातावरण बनाउला भन्ने अपेक्षा हामीले गरेका छौं ।’

सरकारमा रहने वा बाहिरिने भन्ने बारेमा एमालेले भने मुख्यमन्त्री शर्माको कदममा भर पर्ने बताउँदै आएको छ ।

‘हामीले हिजो सरकार बनाउने बेला खेलेको भूमिका अनुसार नै विश्वासको मत दिएका हौं । हाम्रै सर्मथनको जगमा यो सरकार बनेको हो । सोही आधारमा हामीले मत दिएका हौं । हामीले ढोक्सा थापेका होइनौं ।’ सामाजिक विकास मन्त्री समेत रहेका एमाले प्रदेश उपसचिव टेकराज पछाईले भने, ‘राप्रपाले मात्रै सरकारलाई दिएको सर्मथन फिर्ता गरेको हो । तसर्थ हामीले मत दिएका हौं । यदि मुख्यमन्त्री शर्माले तपाईहरुको सहयोग आवश्यक छैन भनेको खण्डमा हामी सरकारबाट कुनैपनि समयमा बाहिरिन तयार छौं ।’

उनले एमालेलाई कर्णालीका जनताले प्रतिपक्षमा बस्ने म्याण्डेट दिएको स्मरण गराउँदै विषेश परिस्थितिबस आफूहरु सरकारमा सहभागि हुनु परेको बताए ।

तीन मन्त्रीमा चित्त बुझाउन काँग्रेस तयार
यता, नेपाली काँग्रेसले भने हाल एमालेका भागवण्डामा परेका मन्त्रालयको जिम्मा दिएको खण्डमा सरकारमा सहभागि हुने आश्वासन माओवादी नेतृत्वलाई दिइसकेको छ ।

हिजो एमाले र माओवादी बीचमा भएको सत्ता सहकार्यको भद्र सहमति अनुसार काँग्रेस अघि बढन तयार छ । काँग्रेस स्रोत भन्छ, ‘आलोपालो मुख्यमन्त्री भएर अघि बढन काँग्रेस तयार छ । सोही अनुसार माओवादीले तत्काल कदम चाल्नुपर्छ भन्दै काँग्रेसले दवाव दिइरहेको छ ।’

एमाले सम्मिलित सरकारमा काँग्रेस सहभागि नहुने

यता, ‘एमाले सरकारबाट नबाहिरिएसम्म नेपाली काँग्रेस सरकारमा सहभागि नहुने भएको छ । लोकतन्त्रमा बलियो प्रतिपक्ष चाहिन्छ । सोही अनुसार हामीले माघ ६ गते वर्तमान सरकारलाई विश्वासको मत दिएका थिएनौं ।’ काँग्रेस स्रोत भन्छ, यहि अवस्था रहेसम्म हामी सरकारमा जाने सम्भावना छैन ।


सम्बन्धित समाचार