Loading... आजः ५ पुष २०८१, शुक्रबार

कर्णालीमा अब आठै मन्त्रालय कायम हुने


सुर्खेत ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको सहमति अनुसार गठन भएको कर्णाली प्रदेश सरकारले सात ओटा मन्त्रालय कायम गर्ने निर्णय गरेको भएपनि कर्णाली सरकारको ‘हनिमुन’ पिरियड नसकिँदै उक्त निर्णय उल्टिने निश्चित भएको हो ।

नेकपा एमालेका कर्णाली प्रदेश इन्चार्ज यामलाल कंडेल र नेकपा माओवादी केन्द्रका इन्चार्ज कालीबहादुर मल्लबीच सरकार गठन पूर्व भएको चार बुँदे सहमतिमा कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार एवम शहरी विकास मन्त्रालय र उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय गाभ्ने उल्लेख थियो ।

सोही सहमति अनुसार मन्त्रालय गाभ्ने निर्णयसँगै कर्णाली सरकार विस्तार भएपनि मन्त्रालयमा आगामी असार मसान्तसम्म कार्यालय उहि राख्ने निर्णय भएको थियो ।

तर, अब कर्णाली प्रदेशमा भएको सत्ता गठबन्धनमा परिवर्तनसँगै साविकमा रहेका दुवै मन्त्रालय कायम रहने र मन्त्रालय संख्या आठ कायम हुने भएको हो ।

‘अब हुने काँग्रेससँगको नयाँ सहमतिमा मन्त्रीकै रुपमा उर्जा मन्त्रालय कायम हुनेछ ।’ स्रोत भन्छ, ‘हाल काँग्रेस सभामुखसहित तीन मन्त्रालय लिएर जाने ‘मुड’मा छ । साढे दुई वर्षपछि माओवादी सोही सहमतिको आधारमा सरकारमा सहभागि हुनेछ ।’

स्रोतले दावी गरेअनुसार काँग्रेस र माओवादीमा भइरहेको छलफल यहि विषयमा केन्द्रीत रहेको बुझिएको छ ।
‘भोली सदन बस्दैछ । त्यसपछि विश्वासको मत लिने कुराका बारेमा पनि छलफल हुनेछ ।’ स्रोत भन्छ, ‘सकभर आजै राती दुई दलबीचमा लिखित सहमति हुन्छ र सोही अनुसार वैशाख दोश्रो साता भित्र सरकार विस्तार गरेर विश्वासको मत लिने कार्य सम्पन्न हुन्छ ।’


सम्बन्धित समाचार