Loading... आजः ५ पुष २०८१, शुक्रबार

काँग्रेस र माओवादीबीच सत्ता सहकार्यमा लिखित सम्झौता, सभामुख काँग्रेसले लिने दुई दलबीच मौखिक सहमति

आज बस्ने प्रदेश सभा वैठक स्थगित हुने सम्भावना

सुर्खेत ।
नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसबीच कर्णालीमा सत्ता सहकार्य गर्नेबारेमा आइतबार मुख्यमन्त्री राजकुमार शर्माको निवासमा लिखित सहमति भएको छ ।

आइतबार साँझ नेकपा माओवादी केन्द्रका स्थायी कमिटि सदस्य कालीबहादुर मल्लको रोहवरमा नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही र नेकपा माओवादीका दलका नेता एवम मुख्यमन्त्री राजकुमार शर्माबीच भएको लिखित सहमतिमा हाल रिक्त रहेका मन्त्रालयमा काँग्रेसको तर्फबाट तीन जना मन्त्री पठाउने सहमति भएको हो ।

लिखित सहमति भएपनि काँग्रेस र माओवादी पक्षले उक्त सहमति सार्वजनिक गर्न भने अस्वीकार गरेको छ ।

स्रोतका अनुसार दुई दलबीच भएको सहमतिमा सुरुमा काँग्रेसले मन्त्री छानेर पठाउने भएको छ । नेपाली काँग्रेस सोतका अनुसार जाजरकोटका वेद सिंह, दैलेखका कृष्ण विसी मन्त्री हुने करिब निश्चित जस्तै छ भने सुर्खेतका खड्क पोखरे, वा जानकी सिंह एवम कालिकोटका हिक्मत विष्ट मध्ये कसलाई मन्त्री बनाउने भन्ने बारेमा संस्थापन पक्ष आज देखि छलफलमा जुटने भएको हो ।

काँग्रेसले मन्त्री छानेर पठाएकै दिन मुख्यमन्त्री शर्माले सपथग्रहण गराउने भएका छन् । यसका लागि आज बस्ने प्रदेश सभाको वैठक स्थगित हुने सम्भावना बढि रहेको छ ।

‘सायद आज बस्ने प्रदेश सभाको वैठक स्थगित हुन्छ । बुधबार मुख्यमन्त्री शर्माले तेस्रोपटक प्रदेश सभाबाट विश्वासको मत लिने कार्य हुने करिब निश्चित जस्तै छ ।’ स्रोत भन्छ, ‘लिखित सहमति भइसकेकाले काँग्रेसले सकेसम्म आजै वा भोलीसम्म मन्त्रीको नाम मुख्यमन्त्री शर्मालाई दिनेछ ।’

दुई दलवीच भएको सहमतिमा सरकारको नेतृत्व हाल शर्माले गर्ने भएका छन् भने दुई वर्ष पछि जीवन शाहीले सरकारको नेतृत्व गर्ने भएका छन् ।

यस्तै, हाल नेकपा माओवादीको तर्फबाट मन्त्री भएकाहरुलाई नचलाईने भएको छ भने उर्जा तथा जलस्रोत मन्त्रालय कायम नै गरिने भएको छ ।

तर, सभामुखबारेमा सहमतिमा केहि कुरा नखोलिएपनि काँग्रेसले सभामुख लिने मौखिक सहमति भने भइसकेको बताइएको छ ।

 


सम्बन्धित समाचार