अन्ततः कर्णाली सरकारले फेरि फुटायो भौतिक मन्त्रालय, मन्त्रीको रुपमा उर्मिलाले आज शपथ लिदैं
सुर्खेत ।
नेकपा माओवादी र नेकपा एमालेबीच पुस २७ गते मुख्यमन्त्री राजकुमार शर्मालाई सर्मथन गर्ने समयमा भएको मन्त्रालय घटाउने निर्णय अन्ततः कर्णाली सरकारले उल्ट्याएको छ । उक्त निर्णय राजपत्रमा प्रकाशित भएको एक सय दिन नपुग्दै केन्द्र र प्रदेशमा नेपाली काँग्रेससँग गठबन्धन बनेपछि कार्यान्वयनमा नजाँदै मन्त्रालय फेरि फुटाइएको हो ।
मंगलबार साँझ बसेको मन्त्रीपपरिषदको वैठकले कर्णालीमा आठ मन्त्रालय कायम गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवम आन्तरिक मामिला तथा कानून मन्त्री कृष्ण जिसि ‘जितेन्द्र’ले गएराती बसेको मन्त्री परिषदको वैठकले उक्त निर्णय गरेको जनाए ।
‘भौतिक पूर्वाधार, उर्जा तथा जलस्रोत मन्त्रालयलाई फूटाएर भौतिक पूर्वाधार एवम शहरी विकास मन्त्रालय र उर्जा तथा जलसोत मन्त्रालय बनाउने निर्णय भएको छ ।’ उनले भने, ‘प्रदेश सरकार कार्य विभाजन नियमावली २०७४ को अनुसूची एक र दुई हेरफेर गर्ने निर्णय भएको हो । सो निर्णय अनुसार भौतिक मन्त्रालयमा १३ कार्यभार रहनेछन भने उर्जा मन्त्रालयमा १२ कार्यभार रहनेछन् ।’
उनका अनुसार कर्णाली प्रदेशको सडक विधेयक तर्जुमा गर्नका लागि हिजैको वैठकले भौतिक पूर्वाधार मन्त्रालयलाई सैद्वान्तिक सहमति दिने निर्णय गरेको छ ।
यसैबीच, यसअघि भौतिक पूर्वाधार राज्यमन्त्री रहेकी उर्मिला विश्वकर्मा अब उर्जा मन्त्रीको रुपमा आज शपथ लिने भएकी हुन । उनिसहित आज मन्त्रीका रुपमा चार जनाले शपथ लिने तयारी भएको हो ।
पहिलोप्रेस
६ बैशाख २०८०, बुधबार १०:०६