तीन मन्त्री पाएको पूर्वी सुर्खेतमा आउला त विकासको बाढी ?
सुर्खेत ।
कर्णाली प्रदेशको राजधानी सुर्खेत जिल्लाको निर्वाचन क्षेत्र नम्बर एक प्रदेश र संघको निर्वाचन पछि भाग्यमानी निर्वाचन क्षेत्रको रुपमा उदाएको छ ।
यसक्षेत्रबाट नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का संघीय सरकारमा उपप्रधान–रक्षा र कानून मन्त्रीका रुपमा कार्यभार सम्हालिरहेका छन् भने झण्डै एक सय दिन देखि कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रीको रुपमा सोही निर्वाचन क्षेत्र नम्बरको प्रदेश सभा ‘ख’बाट कृष्ण जिसी जितेन्द्र नियुक्त भई कार्य सम्पादन गर्दै आइरहेका छन् ।
आज दिउँसो तीन बजे सोही प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर दुई ‘क’बाट खड्क पोखरेल सामाजिक विकास मन्त्रीको रुपमा नियुक्त हुन लागेका छन् ।
प्रत्यक्षतर्फबाट निर्वाचित भई एकै समयमा तीनै जना मन्त्री हुने सौभाग्य यी तीनै जना नेताले पाएका छन् । जिसी नेकपा माओवादीबाट मन्त्री बनेका हुन भने खड्का र पोखरेल नेपाली काँग्रेसबाट मन्त्री भएका हुन ।
उपप्रधानमन्त्री भइसकेपछि पहिलोपटक सुर्खेत विमानस्थलमा झरेका नेता खड्काले सुर्खेती माटोलाई ढोगेर चर्चामा आइसकेका छन् । उनले विमानस्थलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा कर्णालीमा यसपाली धेरै बजेट आउने प्रतिबद्धता जनाइसकेका छन् ।
यी नेताको निर्वाचन क्षेत्रमा खानेपानी तथा सिंचाईको हाहाकार छ भने सडकहरुको अवस्था दयनीय छ ।
विद्युत विस्तार सबै स्थानमा हुने प्रयासमा भएपनि अझै केहि स्थानमा विद्युत पुगेको छैन भने पुगेको स्थानमा पनि विद्युतले बारम्बार ‘धोका’ दिने गरेको छ ।
तीनै जना मन्त्री भइसकेपछि अब यो क्षेत्रमा विकासको बाढी आउने अपेक्षा यस क्षेत्रका जनताले गरेका छन् ।
पावर र पहुँचका आधारमा योजना लैजाने नेपालको परिपाटीमा यी तिन नेता कत्तिको सफल हुन्छन त्यो हेर्न भने संघका हकमा असार एक गते तथा प्रदेशका हकमा असार १५ सम्म कुर्नैपर्ने हुन्छ ।
अन्तमा तीनै ‘भाग्यमानी’ मन्त्रीलाई हार्दिक बधाई ।
पहिलोप्रेस
६ बैशाख २०८०, बुधबार ०९:४३