Loading... आजः ४ पुष २०८१, बिहीबार

वैशाख मध्य सुरु हुनुपूर्व भौतिक मन्त्री शाहीको छडके अनुगमन, सडकबाटै ठेकेदारलाई निर्देशन


सुर्खेत ।
कर्णाली प्रदेशका भौतिक पूर्वाधार एवम शहरी विकास मन्त्री मंगल शाहीले प्रदेश राजधानीमा मन्त्रालयबाट सम्पादन भइरहेका आयोजनाको आज साँझ छडके अनुगमन गरेका छन् ।

मन्त्री भएको एक सय दिन भन्दा बढि हुन थालेपछि मन्त्री शाहीले आज वेलुका पूर्वाधार विकास निर्देशनालयको टोलीसँगै वीरेन्द्रनगरमा आयोजनामा अनुगमन गरेका हुन ।

उनले वीरेन्द्रनगर वडा नं. ११ पिपिरामा अवस्थित चर्चित पर्यटकीय धार्मीक स्थल देउती बज्यै मन्दिर जाने सडकमा बन्दै गरेको पूलको निरीक्षण गरेका छन् । विगतमा यस क्षेत्रका नागरिकले यहाँ रहेको पुल धरापमा परेको भन्दै सरकारको चर्को आलोचना गर्दे आइरहेका थिए ।

यो पुल निर्माणको जिम्मा कबिर÷काँक्रे जेभि सुर्खेतले लिएको छ । पूर्वाधार निर्देशनालयसँग उक्त कम्पनीले २०७९ माघ ११ गते कुल एक करोड ३० लाख ७३ हजार १९ रुपैंया पचास पैसामा निर्माण गर्ने सम्झौता गरेको उक्त पुल जेठ मसान्तभित्र सम्पन्न गर्ने भएको हो । यो कम्पनीले भदौ तीस गतेसम्म निर्माण सम्पन्न गरिसक्नुपर्ने भएपनि झण्डै दुई महिना अगावै निर्माण गरिसक्ने अपेक्षा कार्यालयको रहेको कार्यालय प्रमुख ईन्जिनियर रामशरण आचार्यले बताए ।
यसका अलावा मन्त्री शाहीले मंगलगढी काँक्रेविहार सडकको समेत अवलोकन गरेका छन् ।

झण्डै डेढ वर्षदेखि ठेकेदारले गरेको ढिलासुस्तीले सास्ती पाएको भन्दै यसक्षेत्रका नागरिक बारम्बार आन्दोलित हुने गरेका छन् । यो सडक तत्काल निर्माण गर्न मन्त्री शाहीले सडक निर्माण स्थलबाटै ठेकेदारलाई निर्देशन समेत दिएका थिए ।

यस्तै, मन्त्री शाहीले तेलपानी भूरिगाउँ सडक निर्माणको अवस्थाबारेमा समेत जानकारी लिएका छन् । यसपटक निर्देशनालयले यहाँ साढे सात सय मिटर कालोपत्रे गर्ने भएको छ तर विद्युत प्राधिकरणले सडकको बीचमा परेका पोलहरु नहटाउँदा ग्रावेल र कालोपत्रे गर्ने काममा समस्या सिर्जना भएको छ ।

निर्माण कम्पनीले जेठ भित्रै सडक कालोपत्रे गर्ने तयारी गरेको छ भने विद्युतका पोल सार्नका लागि निर्देशनालयले दुई साता अघि नै प्राधिकरणलाई १५ लाख रुपैंया उपलब्ध गराइसकेको कार्यालयका सव ईन्जिनियर प्रेमचन्द पाण्डेले बताए ।

यस्तै, मन्त्री शाहीले रेडियो नेपाल प्राङ्गणमा रहेको नेपाल टेलिभिजन कार्यालय मर्मत सम्भारको समेत अनुगमन गरेका छन् ।

‘अब हामी सबैले काममा तीव्रता दिनुको विकल्प छैन । सबै आयोजना समयमै काम गर्न निर्देशन दिइसकेको छु ।’ मन्त्री शाहीले भने, ‘आयोजनाको म्याद अवधीभित्र निर्माण कम्पनीले काम गर्न नसकेको खण्डमा कानूनी रुपमा कारवाही अघि बढाईन्छ । त्यसमा कुनै सम्झौता गरिँदैन ।’

 


सम्बन्धित समाचार