नेपाली सेनाबाट सेवा निवृत्त सुर्खेतका भण्डारीको लोभलाग्दो भैंसी फार्म, मासिक कमाउँछन झण्डै दुई लाख
सुर्खेत ।
नेपाली सेनाबाट २०७५ सालमा सेवा निवृत्त भएका युवा हुन भेरी नपा १३ सुर्खेतका सुवर्ण भण्डारी । नेपाली सेनाबाट रिटायर भएपछि अधिकांश युवा विदेश गईरहँदा भण्डारी भने आफ्नै जन्मभूमिमा भैंसी फार्म खोलेर पशुपालन व्यवसायमा जमेका छन् ।
भण्डारी कृषि तथा पशुपन्छी माछा फर्मको नाममा उनले हाल ३५ ओटा भैंसि पाल्दै आएका छन् भने नौ ओटा पाडा छन् ।
यस्तै, उनको फर्ममा ६ ओटा गाई छन भने भारतको हरिद्धारबाट ल्याइएको दुई लाख ७५ हजार मूल्य बराबरको राँगोसमेत छ ।
२०७३ सालमा सरकारी जागिरबाट पेन्सन पकाएका भण्डारीले २०७५ सालबाट व्यावसायिक रुपमा भैंसी पालन गर्न सुरु गरेका हुन । उनको फर्ममा मुर्रा जातका भैंसि छन् ।
तीन भाईको जग्गा झण्डै दश विगाहामा उनले घाँस खेति गर्दै आइरहेका छन् । उनको परिवारका तीन जना भैंसी पालनमा लागेका छन भने उनका कान्छा भाई अहिले सशस्त्र प्रहरीमा छन् ।
उनले दैनिक रुपमा एक सय लिटर दुध उत्पादन गरेर कोहलपुरमा रहेको दुग्ध संस्थामा विक्री गर्ने गरेका छन भने त्यसका अलावा गाउँलेको दुध समेत संकलन गरेर हाल दुई सय लिटर बजारमा पु¥याउँदै आएका छन् ।
वर्षायाममा भने उनले दैनिक ३७५ लिटर दुध बजारमा पु¥याउँदै आइरहेका छन् । सरकारी कुनैपनि निकायबाट हालसम्म अनुदान नपाएका भण्डारीले हालसम्म एक करोड २० लाख रुपैंया लगानी गरिसकेका छन् ।
उनले प्रतिलिटर ६५ रुपैंयामा दुध विक्री गर्दै आइरहेका पनि छन् । उनको दुधबाट मात्रै दैनिक ६ हजार पाँच सय रुपैंया आम्दानी हुने गर्छ भने गाउँलेबाट संकलन गरिएको दुधको पनि उनले ६५ रुपैंया नै दिने गरेका छन् ।
‘यदि मैले चाहेको भए मासिक रुपमा लाख कमाउन विदेश जानसक्ने अवसर आइरहेका थिए तर मलाई गाउँमै कृषि फर्म गर्ने रहर लाग्यो । मैले भक्तपुरमा रहेको भैंसी फर्म हेरेपछि नेपालमै केहि गर्न सकिन्छ जस्तो लागेकोले यसमा लगानी गरेको हो । हालसम्म एक करोड बीस लाख रुपैंया लगानी गरिसकेको छु ।’ उनले भने, ‘हाल ग्याँस पनि उत्पादन गर्दै आइरहेको छु । त्यसका अलावा मैले अहिले चार जना अन्य नागरिकलाई रोजगारी पनि दिइरहेको छु ।’
उनले कृषकले जति मेहनत गरेपनि समयमै पैसा नपाउँदा मर्कामा पर्ने गरेको गुनासो गरे ।
‘अहिले पनि दुग्ध संस्थानसँग सात लाख रुपैंया लिन बाँकी नै छ । समयमै उताबाट भुक्तानी नआउँदा यहाँका किसानलाई पैसा दिन समस्या हुन्छ । घाँस तथा अन्य आहारा खरिद गर्न पनि समस्या हुने गरेको छ ।’ उनले भने, ‘कृषिमा लगानी गर्दा अपेक्षा गरेअनुसार राज्यले सहयोग गर्नुपर्नेमा कामै नगर्नेहरुलाई बढि मात्रामा कृषि तथा पशुपालन क्षेत्रमा लगानी गर्ने प्रचलनले काम गर्ने किसानलाई निरुत्साहित गर्ने गरेको छ ।’
उनले कृषि ऋण सहजै नपाउने अवस्था रहेको बताउँदै त्यसतर्फ राज्यको ध्यान पुग्नुपर्ने बताए । ‘सुरुमा पैंतिस लाख रुपैंया कृषि विकास बैंकबाट ऋण लिएको थिएँ । व्यवसाय विस्तारका लागि ७० लाख माग्दा पाउन सकिएन ।’ उनले गुनासो गरे ।
यता, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भीमप्रकाश शर्मा भने काम गर्ने किसानलाई उत्पादनको आधारमा सव्सिडी दिईने बताउँछन् । ‘अहिले पनि हामीले दुध उत्पादन गर्ने किसानलाई प्रति लिटर पाँच रुपैंया सव्सिडी दिने गरेका छौं ।’ उनले भने, ‘त्यसका अलावा हामीले विभिन्न वैकहरुसँग सम्झौता गरेर ऋण लगानी गर्ने र सात प्रतिशत व्याज तिर्ने गरेका छौं ।’
मन्त्री शर्माले यसबारेमा किसानसँगै आवश्यक सल्लाह गर्ने र उनिहरुका माग सम्वोधन गर्नका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।
पहिलोप्रेस
१२ बैशाख २०८०, मंगलवार ०७:२३