ठेकेदारले चाहे समय अगावै काम सम्पन्न हुने पुष्टि, लेखा नियन्त्रकको भवन आठ महिना अगावै पुरा
सुर्खेत ।
कर्णाली प्रदेश लेखा नियन्त्रकको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । सोमबार सरकारका अर्थमन्त्री बेदराज सिंहले भवनको उद्घाटन गरेका हुन् ।
यो भवन प्रदेश सरकार बनिसकेपछिको पहिलो भवन हो । ५ करोड ३१ लाख ५७ हजार ९५५ रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको भवन ०७८ वैशाख ११ गते तत्कालिन अर्थमन्त्री विमला केसीले शिलान्यास गरेकी थिइन् ।
निर्माणको जिम्मा पाएको शिवशक्ति चक्रेश्वरी जेभी नयाँ बानेश्वर काठमाडौँले तोकिएको मिति भन्दा ८ महिना अगावै भवन सम्पन्न गरेर नमुनका काम गरेको छ । प्रदेशमा करोडौँ बजेटका दर्जनौँ भवनहरु ठेकेदारले अलपत्र पारिरहेको अवस्थामा शिवशक्तिले तोकिएको समयभन्दा पहिलानै भवन हस्तान्तरण गरेको हो ।
०७९ साउन ११ गते कार्यसम्पन्न गरिएको लेखा नियन्त्रक मानबहादुर बमले जानकारी दिए । चारतले उक्त भवन देशैभरका प्रदेश लेखा नियन्त्रकको कार्यालय मध्ये पहिलो भवन हो ।
उद्घाटन कार्यक्रममा बोल्दै अर्थमन्त्री सिंहले ठेकेदारहरुले ठेक्काहरु समयमै नसक्ने प्रवृत्तिले विकास र परिवर्तनका क्षेत्रमा असर परिरहेको बताए । यद्यपि यो भवन निर्माणको जिम्मा पाएको कम्पनीले समयमै भवन सकेर उदारणीय काम गरेको भन्दै प्रशंसा समेत गरे ।
गत बिहीबार मात्र अर्थमन्त्रीको जिम्मेवारी पाएका सिंहले फरक प्रसंगमा प्रदेशमा योजना माग्नेहरुको तछाँडमछाँड रहेको कुरा उल्लेख गरेका थिए । प्रदेश सरकारको पुँजिगत बजेट कार्यान्वयनको अवस्था निराशाजनक रहेको भन्दै त्यसको समाधान खोज्नुपर्ने सिंहको भनाइ थियो ।
प्रदेशमा ३४ अर्बको बजेट ल्याइने तर, अन्तिममा आएर १८ अर्ब रकमान्तर गर्ने कार्य भइरहेको बताउँदै त्यसको अन्त्य हुनुपर्ने उनको तर्क थियो ।
पहिलोप्रेस
१२ बैशाख २०८०, मंगलवार ०७:३०