Loading... आजः ९ पुष २०८१, मंगलवार

कर्णाली सरकारलाई टेर्दैन सुर्खेत विध्युत प्राधिकरण, पोल सार्न ढिलासुस्ती

मंगलगढी काँक्रेविहार सडक र तेलपानी भुरिगाउँ सडक खण्डबाट प्राधिकरणद्वारा निर्देशनालयबाट ६५ लाख असुल


सुर्खेत ।
कर्णाली प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेको छ तेलपानी भुरिगाउँ सडक । कर्णाली प्रदेश सभामा प्रमुख प्रतिपक्षी दलका नेता एवम एमाले प्रदेश कमिटि सदस्य यामलाल कंडेलले यो सडक निर्माणका लागि बारम्बार कर्णाली प्रदेश सभामा आवाज उठाए ।

पश्चिम सुर्खेतको निर्वाचित जनप्रतिनिधिका रुपमा आर्थिक मामिला तथा योजना मन्त्री समेत भएका हालका प्रदेश सभा सदस्य विन्दमान विष्टले पनि यो सडकलाई प्राथमिकता दिए ।

पूर्व मुख्यमन्त्री एवम हाल नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले यो सडकको पनि अनुगमन गरे । सोमबार साँझ कर्णाली सरकारका भौतिक पूर्वाधार एवम सहरी विकास मन्त्री मङ्गल शाहीले समेत सडकको अनुगमन गरेका छन् ।

यी केहि उदाहरण मात्र हुन । यो सडक छिटो निर्माण गर्नका लागि वीरेन्द्रनगर नगरपालिका, बराहताल गाउँपालिकाका जनप्रतिनिधिहरुको टोली मन्त्रालय धाईरहेको छ ।

प्रदेश सरकारले यो सडकमा बजेट विनियोजन गर्दै आइरहेको छ यद्यपी त्यो बजेट भने कम भएको स्थानीयले गुनासो गर्छन, तर प्रदेश सरकारले लगानी गरेको बजेट कार्यान्वयनमा सरकारी निकाय नै अटेर बन्न थालेको छ । कर्णाली प्रदेश सरकारले यो वर्ष ७ सय मिटर कालोपत्रे गर्ने तयारी गरेको छ ।

यसका लागि पूर्वाधार विकास निर्देशनालयले कविर काँक्रे जेभीसँग माघ ११ गते दुई करोड ८५ लाखमा सम्झौता गरेको थियो । यद्यपी यो खण्डका लागि प्रदेश सरकारले भने चार करोड विनियोजन गरेको थियो । हाल साढे चार सय मिटर नाला बनिसकेको छ भने साढे तीन सय मिटर नाला बनाउन अब बढिमा एक महिना लाग्ने देखिएको छ । साढे चार सय मिटर सडक फिलिङ्ग समेत भइसकेको छ ।

फिलिङ्ग भइसकेको सडकमा अब मेसिनरी औजार प्रयोग गर्नुपर्ने छ तर विद्युत प्राधिकरणले दुई हप्ता अघि नै १५ लाख लिएर १४ ओटा पोल सार्ने भनेपनि हालसम्म सुनुवाई नै गर्न छाडेको छ ।

यदि विद्युत प्राधिकरणले पोल नसारेको खण्डमा यो वर्ष उक्त बाटो कालोपत्रे हुने सम्भावना न्यून बन्दै गएको छ ।
‘विद्युत प्राधिकरणलाई हामीले १५ लाख भुक्तानी गरिसकेका छौं । बाँकी उहाँहरुले भनेको १२ लाख पनि भुक्तानी गर्न तयार नै छौं ।’ निर्देशनालय प्रमुख श्यामसरण आचार्यले भने, ‘त्यसकालागि हामीले जग्गाधनिहरुसँग पनि सम्झौता गरिसकेका छौं । तर हालसम्म पनि उहाँहरुले पोल सार्नु भएको छैन । पोल नसारेपछि कालोपत्रे गर्न सकिने अवस्था पनि छैन । ठेकेदारले असार मसान्तसम्मको म्याद पाएपनि जेठ मसान्तभित्र काम सक्ने प्रगति देखाएको छ । यस्तो अवस्थामा कसरी काम गराउनु ? आश्चर्यको विषय छ ।’

सडक कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरदेखि लुम्विनी प्रदेशको बर्दिया जोड्ने सबैभन्दा छोटो तेलपानी–भुरिगाउँ सडकको दूरी ५१ किलोमिटर छ । तेलपानी–भुरिगाउँ अन्र्तगत सुर्खेत खण्ड सडक सञ्जालले जोडिएको छ । भुरिगाउँबाट बर्दियाकै बडपानीसम्म पनि सडकले जोडिएको छ ।

भेरीपारीका स्थानीयहरु प्रशासनिक कामका लागि मात्रै सुर्खेत सदरमुकाम वीरेन्द्रनगर आउँछन् । वीरेन्द्रनगरदेखि तेलपानीसम्मको दूरी ३५ किलोमिटर हो । तेलपानीदेखि भुरिगाउँ १६ किलोमिटर मात्रै टाढा छ ।

मंगलगढी काँक्रेविहार सडक खण्डबाट पोल सार्ने नाममा पचास लाख असुलयसैबीच, प्राधिकरणले मंगलगढी काँक्रेविहार सडक खण्डमा रहेका ५४ ओटा पोल सार्नका लागि भन्दै ५० लाख रुपैंया भुक्तानि लिएपनि काम अघि बढाएको छैन । एक त सरकारी निकाय, त्यसैमा पनि पोल सार्ने नाममा लाखौं असुल गर्ने प्राधिकरणको मनसाय गलत रहेको पाइएको छ ।

‘उहाँहरुले पैसा लिनमा मात्रै रुचि देखाइरहनु भएको छ । सडकको विचमा रहेका पोलहरु हटाउन कुनै चासो देखाउनु भएको छैन । यसले विकास निर्माणमा ठूलो असर परेको छ ।’ निर्देशनालयका कर्मचारीहरु गुनासो गर्छन ।
यता, सुर्खेत विद्युत प्राधिकरणका प्रमुख युवराज रावतले तेलपानी भूरिगाउँ सडकको पोल हटाउने काम दुई हप्तामा सुरु गर्ने बताए । यस्तै उनले मंगलगढी देखि काँक्रेविहार सडक खण्डका पोलहरु हटाइसकिएको बताए । तर यो सडक खण्डमा अझै पनि धेरै पोलहरु हटाउन बाँकी रहेका छन् ।

उनले पाँच लाख सम्मको कामका लागि तीन महिना लाग्ने गरेको समेत बताए ।

 


सम्बन्धित समाचार