Loading... आजः ४ पुष २०८१, बिहीबार

एघार महिना अगावै निर्माण भयो झ्यानझ्याने पुल, घाटगाउँका नागरिकलाई यात्रा गर्न सहज

घाटगाउँ–गुटु सडक निर्माणको १० प्रतिशत मात्रै प्रगति

सुर्खेत ।
पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाका नागरिकलाई कर्णाली चिसापानी पुग्न थप सहज भएको छ ।

गुटु हुँदै घाटगाउ जोडने सडकमा रहेको झ्यानझ्याने खोलको गहिरो गल्छीमा सडक पुल निर्माण भएपछि यस क्षेत्रका नागरिकले सहज रुपमा कैलाली यात्रा गर्न पाएका हुन ।

अनद कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको उक्त पुलका लागि पूर्वाधार विकास निर्देशनालयसँग उक्त कम्पनीले ८ करोड ४१ लाख १६ हजार ९३६ रुपैंयामा २०७८ भदौ २४ गते निर्माण सम्झौता गरेको थियो । उत्तः निर्माण कम्पनीले २०७९ माघ २९ गते नै निर्माण सम्पन्न गरेको थियो ।

उक्त पुल निर्माणका लागि कम्पनीसँग २०८० असार १५ गतेसम्मको म्याद भएपनि ११ महिना अघि नै पुल निर्माण सम्पन्न भएको हो ।
६४ मिटर गहिरो खोलामाथि ६१ दशमलव ५ मिटर पुल निर्माण गरिएको हो । उक्त पुल नहुदा यहाँका नागरिकले चार किलोमिटर थप यात्रा गर्नुपर्ने अवस्था थियो भने वर्षायाममा यात्रा गर्न असहज थियो ।

‘यो पुल निर्माण भएसँगै चौकुने गाउँपालिकाका नागरिकलाई कैलाली यात्रा गर्न सहज भएको छ भने चौकुनेको सदरमुकाम गुटु जान स्थानीयलाई राहत भएको छ ।’ इन्जिनियर हरि शर्मा धितालले भने, ‘त्यसका अलावा झण्डै १४.५ किलोमिटर लम्बाई भएको घाटगाउँ गुटु सडक निर्माणको काम पनि तीव्र रुपमा अघि बढिरहेको छ ।’

उनका अनुसार घाटगाउँ –गुटु सडकखण्डमा पर्ने उक्त पुल निर्माण भइ सञ्चालनमा आएसँगै उक्त सडक निर्माणको कार्यमा पनि तीव्रता आएको छ । यो सडक निर्माणको जिम्मा श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी हेटौंडाले ३८ करोड ५६ लाख ३९ हजार ५३५ रुपैंयामा जिम्मा लिएको छ ।

२०७९ साल असार ८ गते निर्देशनालयसँग सम्झौता गरेको उक्त कम्पनीले सोही वर्षको असार २२ गते देखि निर्माण प्रारम्भ गरेको थियो । यो सडक कालोपत्रे गर्ने अन्तिम समय भने २०८१ असार २४ गतेसम्म रहेको इन्जिनयर शर्माले बताए ।

सडकमा ११ ओटा स्ल्याव कल्भर्टस राखिने छ भने २३ ओटा पाईपको कल्भर्ट राखिने छ । उक्त सडकको सात मिटर क्षेत्र कालोपत्रे गरिने छ ।
इन्जिनियर शर्माका अनुसार उक्त सडक निर्माण कार्यको चैत सम्मको प्रगति हेर्दा कुल १० प्रतिशत मात्रै रहेको छ ।

‘बारम्बार ठेकेदार कम्पनीलाई सडक निर्माणका बारेमा कुराकानी गर्ने, छलफल गर्ने र आवश्यक निर्देशन दिने काम समेत गरिएको छ ।’ पूर्व आर्थिक मामिला तथा योजना मन्त्री एवम प्रदेश सभा सदस्य विन्दमान विष्टले भने, ‘पुल भने ११ महिना अघि नै निर्माण भइसकेको छ । तर सडक निर्माणको प्रगति भने एकदमै निराशाजनक नै पाइएको छ । यसमा तीव्रता ल्याउन बारम्बार ठेकेदारलाई आव्हान गर्दै आइरहेको छु ।’

यता, भौतिक पूर्वाधार एवम शहरी विकास मन्त्री मङ्गल शाहीले सडक निर्माण कार्यमा तीव्रता दिन निर्देशन दिएका छन् । ‘यो वा त्यो वहानामा काममा ढिलासुस्ती हामीलाई स्वीकार्य छैन ।’ मन्त्री शाहीले निर्माण कम्पनीका प्रतिनिधि प्रमित हमाललाई निर्देशन दिँदै भने, ‘समयमै गुणस्तरीय काम नसकेको खण्डमा कालोसूचीमा राख्ने देखि अन्य कारवाहीमा हामी अघि बढछौं ।’


सम्बन्धित समाचार