यातायात व्यवसायीको ‘सिण्डीकेट’ विरुद्ध चौकुने गाउँपालिका
सुर्खेत ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट पश्चिम सुर्खेतको चौकुनेतर्फ यात्रा गर्न नागरिकले सास्ती व्यहोरिरहेका छन् ।
४२ दिनदेखि सुर्खेत पश्चिमको चौकुने गाउँपालिकामा यातायात व्यवसायीले यातायातका साधन सञ्चालन नगर्दा गाउँपालिकाले आफ्नै टिप्परबाट नागरिकलाई सुवा दिन सुरु गरेको हो ।
बारम्बार यातायात व्यवसायीसँग अनुरोध गर्दा उनीहरूले बेवास्ता गरेपछि नागरिकलाई प्रदेश राजधानी वीरेन्द्रनगरसम्म टिपरमै यात्रा गराउन थालिएको गाउँपालिका अध्यक्ष खड्क विक ‘विवश’ ले बताए ।
‘यहाँ गाडी आउन छोडेको पनि ४२ दिन भइसक्यो । बाटो पनि राम्रो छ । बिग्रेको ठाउँमा हामीले नै बनाइदिन्छु भन्दा पनि यातायातका साथीहरूले वास्ता गर्नुभएन,’ अध्यक्ष विकले भने, ’केही निजी बोलेरोहरूले मनलाग्दी भाडा लुटेका छन् । बिरामी, गर्भवती र ज्येष्ठ नागरिकलाई सास्ती भएपछि पालिकाको टिपरमै निःशुल्क नागरिकहरूलाई सेवा दिन थालेका हौं । अब केही समयपछि पालिकाले नै गाडी खरिद गर्नेगरी तयारीमा छौं ।’
टिपरमा नागरिक लिनु रहर नभएर बाध्यता रहेको उनले बताए । यातायातको व्यवस्था नभएसम्म पालिकाकै टिपर र तेल खर्च गरिने उनको भनाइ छ ।
बिरामी भएको १२ दिनसम्म पनि गाडीको बाटो कुर्दा कुर्दै नआएपछि टिपरमा चढेर वीरेन्द्रनगर जान लागेको चौकुने–७ सान्नेघारीकी १०० वर्षीय बुद्धिसरा सलामीले बताइन् ।
’१२ दिनसम्म बिरामी हुँदा पनि गाडीको बाटो कुरियो । तर अझै नआए पछि आज गाउँपालिकाको टिपरमा उपचार गर्न जान लागेकोछु,’ बुद्धिसराले भनिन् ,’एम्बुलेन्स बुकिङ गर्न पनि पैसा छैन। उपचार त गर्नैपर्यो नि !’
दुई वटा टिपरमा पालिका अध्यक्ष खड्क विक र तीन वटा वडाध्यक्षसहित ६० जना यात्रु वीरेन्द्रनगरका लागि हिँडेका छन् ।
चौकुनेका नागरिकले राजधानी वीरेन्द्रनगर पुग्न एक सय किलोमिटरको गाडी यात्रा गर्नुपर्दछ । पालिकाको केन्द्र गुठुबाट मात्रै वीरेन्द्रनगर ५५ किलोमिटर टाढा छ ।
हाल भे१ग १२९ र भे १ ग १३० नम्बरको टिपरबाट यात्रुलाई सेवा दिइएको छ । संयुक्त यातायात ज्यादतीविरुद्ध चौकुने गाउँपालिकाद्वारा निःशुल्क यात्राको ब्यानर टाँगेर पालिकाले नागरिकलाई यात्रा गराइएको छ । अध्यक्ष विकका अनुसार शनिबारबाट दुईवटा टिपर र आइतबारबाट चार वटा टिपरबाट सेवा दिइनेछ ।
विद्यापुरदेखि बल्देसम्मको २२ किलोमिटरमा ठेकेदार कम्पनी मोतिदान कन्स्ट्रक्सन प्रालिले लिएको छ । प्रालिले १६ किलोमिटर सडकखण्डमा साइड क्लिएर, ह्यूम पाइप हाल्ने काम सकेको छ ।
सुर्खेतको पश्चिम क्षेत्र बराहताल गाउँपालिकाको बड्डीचौरदेखि पञ्चपुरी नगरपालिकाको खम्बागाडेसम्म, खम्बागाडेदेखि पञ्चपुरी–९ विद्यापुरसम्म र विद्यापुरदेखि चौकुने–४ बल्देसम्म तीन खण्डमा मदन भण्डारी राजमार्गअन्तर्गत काम भइरहेको छ ।
पहिलोप्रेस
२० श्रावण २०८०, शनिबार १३:४४