अध्यक्ष विकको नेतृत्वमा चौकुनेबाट ६० जना यात्रुलाई टिप्परबाट वीरेन्द्रनगर ल्याइयो
सुर्खेत ।
चौकुने गाउँपालिकाबाट अध्यक्ष विवशकुमार विक वास्पानेको नेतृत्वमा आज त्यहाँका ६० जना नागरिक टिप्परबाट यात्रा गरि वीरेन्द्रनगर आइपुगेका छन् ।
करीव ४२ दिनदेखि सुर्खेत पश्चिमको चौकुनेमा यातायातका साधन सञ्चालन नभएका कारण टिप्पर सञ्चालन गर्नुपरेको अध्यक्ष विकको भनाई छ ।
‘बाटो पनि राम्रो छ । बिग्रेको ठाउँमा हामीले नै बनाइदिन्छु भन्दा पनि यातायातका साथीहरूले वास्ता गर्नुभएन’, गाउँपालिका अध्यक्ष खड्क विकले भने, ‘केही निजी बोलेरोहरूले मनलाग्दी भाडा लुटेका छन् । बिरामी, गर्भवती र ज्येष्ठ नागरिकलाई सास्ती भएपछि टिपरमै निःशुल्क नागरिकहरूलाई सेवा दिन थालेका हौं ।’
अब केही समयपछि पालिकाले नै गाडी खरिद गर्नेगरी तयारी गरेको उनले बताए । दुई वटा टिपरमा पालिका अध्यक्ष खड्क विक र तीन वटा वडाध्यक्षसहित ६० जना यात्रु वीरेन्द्रनगरका आएका छन् ।
‘टिप्परमा नागरिक लिनु रहर नभएर बाध्यता रहेको उनले बताए । यातायातको व्यवस्था नभएसम्म पालिकाकै टिपर र तेल खर्च गर्छौं ।’ उनले भने, ‘शनिबारबाट दुईवटा टिपर र आइतबारबाट चार वटा टिपरबाट सेवा दिइनेछ ।’
यस्तै गुठु बजार व्यवस्थापन समितका अध्यक्ष मानबहादुर श्रेष्ठले स्थानीय र पालिकाले बिग्रेका ठाउँमा बनाउँदा पनि सडकमै बहाना बनाएर व्यवसायी उम्किँदा नागरिकलाई सास्ती भएको बताए । शनिबारदेखि चौकुने गाउँपालिकाले निःशुल्क यात्राको ब्यानर टाँगेर नागरिकलाई यात्रा गराइएको छ ।
पहिलोप्रेस
२० श्रावण २०८०, शनिबार १८:०५