अटेरी आठबीस सरकार, अझै गरेन सार्वजनिक सुनुवाई
सुर्खेत ।
दैलेख जिल्लाको आठबीस नगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० सकिएको एक महिना वित्नै लाग्दा पनि सार्वजनिक सुनुवाई नगरेको पाइएको हो ।
पालिकामा आएको बजेट, विकास निर्माणमा प्रगति तथा अन्य नागरिकका गुनासाहरु, सुझावहरु लिएर नगरवासीको पक्षमा काम गर्नुपर्ने भएपनि नगरपालिकाले भने अहिलेसम्म जनताप्रति उत्तरदायी बन्न नचाहेको आरोप लागेको छ ।
नेपाली काँग्रेसले तत्काल सार्वजनिक सुनुवाई गर्न भनेर निवेदन दिएको एक महिना पुग्दा पनि स्थानीय सरकार भने कानमा तेल हालेर सुतेको आरोप लागेको हो ।
जिल्लाका अन्य पालिकाहरुले असार मसान्त भन्दा पहिले नै वडा देखि पालिका स्तरका सार्वजनिक सुनुवाई सम्पन्न गरिसकेता पनि आठबीसले भने अहिलेसम्म विरोध हुने भयका कारण सार्वजनिक सुनुवाई गर्न सकेको छैन ।
यतिसम्मकी पालिकाले करारका कर्मचारीलाई म्याद नथप्ने भनेर हचुवाको भरमा गरेको निर्णयका कारण वडा नं. तीन र वडा नम्बर ६ का नागरिकले वडा कार्यालयबाट पाउने पेवा सुविधाबाट बञ्चित हुनुपरेको छ भने वडा नम्बर तीन, सात र नौ का नागरिकहरुले स्थानीय स्वास्थ्य संस्थामा सिटामोलपनि पाउन सकेका छैनन् ।
‘नगरपालिकाले कर्मचारीलाई काम गर्न नदिनु भनेर दिएको निर्देशनका कारण स्वास्थ्य चौकी देखि वडा कार्यालयका कामहरु एक महिना देखि प्रभवित हुँदै गइरहेका छन् ।’ स्थानीय नरबहादुर महतारा भन्छन्, ‘स्थानीय सरकारले नागरिकलाई सेवा प्रवाह गरेर सहजता दिलाउनुपर्नेमा उल्टो सेवा प्रवाह नै बन्द गरिदिएको छ । यो यहाँका नागरिकमाथि अन्याय हो ।’
उता, सामाजिक सञ्जालमा लाखौंको तेल खर्च गरेको, मनोमानी रुपमा शिक्षक हटाउने, म्याद थप गर्ने, करारमा कर्मचारी भर्ना गर्ने गरेको आरोप खेपिरहेको आठबीस नगरपालिकाले हालसम्म पालिकामा के भइरहेको छ भन्ने कुराको जानकारी नदिनु गलत भएको स्थानीयको आरोप छ ।
‘हामीले असार तीस गते विभिन्न शीर्षकमा खर्च भएको, अनियमितताको आशंका गरिएको कारण छिटो भन्दा छिटो सार्वजनिक सुनुवाई हुन पर्छ भनेर ज्ञापन पत्र दिएका थियौं ।’ नेपाली काँग्रेस आठबीस नगर सभापति अर्जुन शाहीले भने, ‘तर उहाँहरुले अटेर गर्नु भएको छ । असार मसान्त भन्दा पहिले नै गर्नुपर्ने सार्वजनिक सुनुवाई हालसम्म नगरिनुले पक्कै पनि अनियमितताको शंका गर्ने वातावरण बनेको छ ।’
उनले नगरपालिकाले तत्काल सार्वजनिक सुनुवाई नगरेको खण्डमा काँग्रेस चुप लागेर नबस्ने चेतावनी दिए ।
‘उहाँहरुले हामीलाई नटेरेको हो की ?’ उनले भने, ‘यदि नटेरेकै हो भने हामी अब आफ्नो तरिकाले काम सुरु गर्छौं । नेपाली काँग्रेस अब हात बाँधेर बस्न सक्दैन ।’
हेर्नुहोस, काँग्रेसले गरेका प्रश्नहरु
पहिलोप्रेस
२८ श्रावण २०८०, आईतवार १९:०५