पूर्वी सुर्खेतको लेखफर्सामा प्रहरी पोस्ट स्थापना
सुर्खेत ।
पुर्वी सुर्खेतको लेकवेशी नगरपालिका वडा नं. एक र दुईका लागि भन्दै वडा नं. एकमा अस्थायी प्रहरी पोस्ट स्थापना भएको छ । सोमबार एक कार्यक्रमका विच प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कृष्ण जिसीले प्रहरी पोस्टको समुदघाटन गरेका हुन ।
२०८० साल असार २० गते साना कृषि किसान सहकारी संस्था लिमिेडको दरजबाटै नौ लाख २१ हजार ५८९ रुपैंया चोरी भएपछि यस क्षेत्रका नागरिकहरु थप चोरी तथा अन्य आपराधिक गतिविधि हुने आंशंका गर्दै तत्काल प्रहरी चौकी स्थापना गरिदिन भन्दै विभिन्न निकायमा धाएका थिए ।
सोही परिणाम स्वरुप असईको नेतृत्वमा सात सदस्यीय प्रहरीको टिम उक्त अस्थायी प्रहरी पोस्टमा राखिएको हो ।
उदघाटन कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री जिसीले प्रहरी पोस्ट स्थापना भएसँगै यस क्षेत्रका जनताको समृद्धिले फड्को मार्ने विश्वास गरे ।
‘सबैभन्दा ठूलो कुरा शान्ति सुरक्षा र अमनचयन नै हो ।’ मन्त्री जिसीले भने, ‘हामी सबैको अथक पहल र प्रयासपछि यो पोस्ट स्थापना गर्न सफल भएका छौं । आम नागरिकले प्रहरीलाई सहयोग गरर यहाँ शान्ति सु–व्यवस्था कायम गर्न सहयोग गर्नुहोला ।’
मन्त्री जिसीले घरघरमा स्टीकर टाँस अभियान सकारात्मक रहेको बताउँदै यस क्षेत्रमा नागरिकमैत्री सुरक्षा अभियानलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न उनले निर्देशन समेत दिए ।
लेकबेशी नगरपालिकाका प्रमुख उमेश कुमार पौडेलले प्रहरी पोस्ट स्थापना हुनु खुशीको कुरा भएको बताए । ‘हामी प्रहरीलाई आवश्यक पर्ने सवारी साधनको व्यवस्था गर्न तयार छौं । तपाईहरुका लागि तत्काल आवश्यक पर्ने एक मोटरसाईकल तयार छ ।’ उनले भने, ‘तपाईहरु प्रक्रिया पु¥याएर लैजानुहोला ।’
प्रमुख पौडेलले मदन भण्डारी लोकमार्ग सञ्चालनमा आएदेखि यस क्षेत्रमा सुरक्षा चुनौती बढने देखिएकाले प्रहरी चौकी स्थापना गरिएको बताए ।
फरक प्रसंगमा उनले नगरपालिका अहिले नै नगर प्रहरी राख्न सक्ने अवस्थामा नरहेको बताए । ‘अहिले नगरपालिकासँग प्रयाप्त आन्तरिक स्रोत छैन ।’ उनले भने, ‘तर भविष्यमा लोकमार्ग सञ्चालनमा आयो भने आन्तरिक स्रोत पनि बढला, त्यसपछि हामी नगरप्रहरी राख्ने बारेमा सोचौंला ।’
प्रदेश प्रहरी कार्यालय सुर्खेतका डिआइजी भिम प्रसाद ढकालले कर्णालीमा दरवन्दी कम भएपनि तानतुन पारेर यहाँ दरवन्दी सिर्जना गरिएको बताए । ‘कर्णाली प्रदेशमा दरवन्दी कम छ, तरपनि यहाँका जनताको माग र सुरक्षा संवेदनशीलतालाई हेरेर हामीले यहाँ दरवन्दी सिर्जना गरेका हौं ।’ उनले भने, ‘प्रहरीले नागरिकमैत्री सुरक्षा प्रदान गर्नेछ, नागरिकबाट पनि सोही अनुसार सहयोगको अपेक्षा गर्दछौं ।’
डिआइजी ढकालले सुरक्षा विकास र समृद्धिको मेरुदण्ड भएको बताए ।
‘सुरक्षा भएको खण्डमा मात्रै यहाँ व्यापार हुने, व्यवसायमा वृद्धि हुने, विकास निर्माण हुने हुन्छ ।’ उनले भने, ‘समाजलाई हरेक व्यक्तिले अपराधविहीन बनाउन लागियो भनेमात्रै सुरक्षा कायम हुन्छ ।’
उनले स्थानीय सरकार अधिकारसम्पन्न भएको बताउँदै मदिरा नियन्त्रण गर्ने कानून ल्याउन सुझाए । यसका अलावा चोकहरुमा सिसि क्यामेरा जडान गर्न पनि उनले आग्रह गरे ।
पहिलोप्रेस
२६ भाद्र २०८०, मंगलवार ०८:१८