Loading... आजः ४ पुष २०८१, बिहीबार

‘कर्णालीकालागि संविधानकाे अक्षरशः कार्यान्वयन अत्यावश्यक’

दैलेख, कालिकोट हुँदै मुगु पुगे पूर्व मुख्यमन्त्री शाही

सुर्खेत ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संविधानको अक्षरशः पालना गरेमा त्यसको सिधा लाभ कर्णालीलाई हुने बताएका छन् ।

संविधान दिवसको अवसरमा उनले पहिलोप्रेससँग कुराकानी गर्दै यो संविधानको कार्यान्वयन हुनु भनेको कर्णालीका लागि राज्यले गर्दै आइरहेको विभेद अन्त्य हुनु भएको बताए ।

‘हिजो संघीयताका लागि हामी लड्यौं, एकात्मक राज्य व्यवस्था अन्त्य गरेर गाउँ गाउँमा सिंहदरबारको अधिकार दिनुपर्छ भनेर हामी लड्यौं ।’ उनले भने, ‘यो संविधान लागु भएपछि कर्णाीमा बजेट पर्यााप्त आउन थालेको छ । गाउँ गाउँमा सडक पुगेका छन्, विजुली पुग्न थालेको छ । साना तिना कार्यका लागि काठमाडौं धाउनैपर्ने अवस्था अन्त्य भएको छ, यद्यपी संविधानले कल्पना गरेको संघीयता भने लागु भइसकेको छैन । त्यसलाई लागु गर्न जरुरी छ ।’

प्रतिनिधि सभा सदस्यसमेत रहेका नेता शाहीले संविधनले समाजवादको यात्रा तय गरेको बताउँदै सामाजिक न्यायसहितको समतामूलक समाज निर्माणमा सबै लाग्नुपर्ने बताए ।

‘संविधान लेखेर मात्रै हुँदैन । त्यसलाई कार्यान्वयन गर्न सबै दलहरु एकीकृत रुपमा आपसी सहकार्यकासाथ अघि बढनुपर्छ ।’ उनले भने, ‘त्यस्तो हुन सकेमात्र संविधानले तय गरेको समाजवादको यात्रा सम्पन्न गर्न सकिन्छ र सामाजिक न्यायसहितको समतामूलक समाज निर्माण गर्न सकिन्छ । यसकालागि सबै लोकतान्त्रिक शक्तिहरु एकै ठाउँमा आएर सहकार्यकासाथ अघि बढनुको विकल्प छैन ।’

यसैबीच, उनि माओवादी रुपान्तरण अभियानको क्रममा आज मुगु पुगेका छन् । सुर्खेत, दैलेख, कालिकोट हुँदै उनि आज मुगु पुगेका हुन ।
‘यो देशको आमूल परिवर्तन गर्न विद्रोह गरेको नेकपा माओवादी रुपान्तरण हुन आवश्यक भइसकेको छ । त्यसैले यो अभियान सुरु भएको हो ।’ उनले भने, ‘सबै जनताको घर आँगनमा पुग्ने र उहाँहरुका सुझाव लिएर पार्टीलाई रुपान्तरण गर्ने योजनाका साथ हामी अहिले गाउँ वस्तीमा खटिरहेका छौं । म आज मुगु आइपुगेको छु ।’

उनले मुगुबाट हुम्ला जाने तयारी भइरहेको बताए । ‘अब हुम्ला, डोल्पा हुँदै म सुर्खेत फर्किन्छु ।’ उनले भने, ‘अभियानमा कर्णालीवासी जनताको अपार माया, सर्मथन, हौसला पाइएको छ । माओवादी प्रवेश गर्नेहरुको लहर चलेको छ । माओवादीप्रति आम कर्णालीवासीको भरोसा बढिरहेको छ । उक्त भरोसा अनुसार जनताका समस्या समाधान गर्न स्थानीय, प्रदेश र संघीय सरकारबाट हामी पहल गर्नेछौं । जनताको राय, सुझाव अनुसार माओवादीलाई रुपान्तरण गर्दै देशकै ठूलो शक्तिमा रुपान्तरण गर्नेछौं ।’


सम्बन्धित समाचार