Loading... आजः ४ पुष २०८१, बिहीबार

संविधान राष्ट्रघातीलाई तह लगाउने लौरो होः मुख्यमन्त्री शर्मा

सुर्खेत ।
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले संविधान राष्ट्रघाती, देशद्रोहीलाई लगाउने लौरो भएको बताएका छन् ।
आज वीरेन्द्रनगरमा आयोजना गरिएको संविधान दिवस मूल समारोहमा बोल्दै मुख्यमन्त्री शर्माले नेपालको संविधानले अघि बढन चाहनेलाई प्रोत्साहन गरेको बताए ।

‘देशका विरुद्ध लाग्ने, राष्ट्रका विरुद्ध घात गर्नेहरुलाई लगाम लगाउने लौरीको रुपमा मैले संविधानलाई लिएको छु ।’ मुख्यमन्त्री शर्माले भने, ‘संविधान धर्मग्रन्थ मात्रै होइन, देश विकासको मेरुदण्ड हो, प्रगतिको आधार हो ।’

उनले प्रत्यक्ष जननिर्वाचित कार्यकारी राष्ट्रपति नेपालमा आवश्यक रहेको महसुस भएको बताएका छन् । उनले निर्वाचन प्रणालि खर्चिलो हुँदै गएको भन्दै यसलाई परिवर्तन गर्न आवश्यक भएको औँल्याए ।

‘संविधान कार्यान्वयन हुँदै जाँदा केही अपुगताको अनुभूति भएको छ । निर्वाचन प्रणालि महंगो हुनु, सवैधानिक अंग हरु, असन्तुलन, प्रतिनिधि सभा विघटन लगायतका कारण हुन ।’ उनले भने, ‘निर्वाचन प्रणाली त्रुटिपूर्ण छ । महंगो हुँदै गएको छ । प्रत्यक्ष जननिर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक रहेको अनुभूति भएको छ ।’

मुख्यमन्त्री शर्माले लाखौं जनताको त्याग, सर्मपण, आन्दोलन र बलिदानका आधारमा प्राप्त संविधान, धर्मनिरपेक्षता, समावेशिता र दर्जनौं मौलिक हक अधिकारलाई थप सुदृढीकरणको लागि एकताबद्ध हुन आवश्यक रहेको बताए ।
उनले नयाँ खालको संघर्षको जरुरी रहेको औँल्याए । राष्ट्रिय एकता, स्वाभिमान र आत्मनिर्भरताका साथ एकीकृत संकल्प गर्न आवश्यक रहेको बताए ।

‘दलगत र व्यक्तिगत स्वार्थमा होइन यी कुरा नेपाली जनताले राम्रोसँग बुझेका छन् ।’ उनले भने, ‘त्याग गर्ने थोरै भएपनि उपभोग गर्ने धेरै छन् ।’

पञ्चायतमा बोल्न, लेख्न नपाएको कुरा स्मरण गर्दै आफ्ना हक, अधिकारको कुरा खुला रूपमा राख्न पाउनु नै उपलब्धि भएको बताए ।

 


सम्बन्धित समाचार