Loading... आजः १ कार्तिक २०८२, शनिबार

शिक्षक सामू निरीह सल्यानकाे वन्गाड कुपिण्डे नगरपालिका, शिक्षक र शिक्षिका नै एमाले प्रतिनिधि छानिए

सुर्खेत ।
नेकपा एमालेको प्रथम प्रदेश अधिवेशनका लागि सल्यानबाट दुई जना शिक्षक र शिक्षिका नै प्रदेश प्रतिनिधिमा छनौट भएका छन् ।
शिक्षा ऐनले नै कुनैपनि शिक्षक यसरी खुलेर राजनीतिक दलमा लाग्न नहुने भन्ने व्यवस्था भएपनि वन्गाड कुपिण्डे नगरपालिकामा भने शिक्षक सामू नगरपालिका निरीह देखिएको छ ।

शिक्षकहरुले विगत देखि नै खुलेर राजनीति गर्ने, विद्यालय भन्दा दलको विकासमा ध्यान दिने गरेको भएपनि नगरपालिका प्रशासन भने तैं चुप मैं चुपको अवस्थामा रहेको पाइएको हो ।

नेकपा एमाले वनगाड कुपिण्डे नगरपालिकाबाट श्री मुुक्ति माध्यमिक विद्यालय हिलेपोखरीमा स्थायी शिक्षकको रुपमा कार्यरत शिक्षक अकबर बहादुर पुन र सोही विद्यालयकी नीजि स्रोतबाट अध्यापन गराउँदै आएकी चन्द्रीका कार्की प्रदेश प्रतिनिधिमा छनौट भएर आएकी हुन ।

उनिहरु दुवै पूर्व मेयर गोविन्द कुमार पुनका नजिकका नातेदार रहेको पाइएको छ । गोविन्द एमालेका जिल्ला कमिटि अध्यक्ष समेत हुन ।

स्रोतका अनुसार अकबर गोविन्दका साख्खै भान्जा हुन भने चन्द्रीका भतिजे बुहारी हुन । जिल्ला अध्यक्ष भएकै कारण पनि उनले आफन्तलाई प्रदेश प्रतिनिधिमा ल्याउन दवाव दिएका हुन । उनिहरु तिनै जना वडा नम्बर तिनका स्थायी बासिन्दा समेत हुन ।

अकबर यसअघि पनि नगर इन्चार्जसमेत भइसकेका छन् । शिक्षण पेशामा आवद्ध उनि खुलेरै एमालेका राजनीतिक गतिविधिमा लागेपनि कोही कसैले प्रश्न उठाउनै नसक्ने वातावरण वनगाडमा तयार भएको बताइएको छ ।

यहि क्षेत्रबाट प्रदेश अध्यक्षका दावेदार एव्म पार्टी पोलिटव्यूरो सदस्य गुलावजंग शाहसमेत प्रदेश प्रतिनिधिमा छनौट भएर आएका छन् ।
एमाले नगर अध्यक्ष गन्जमान बुढाले सामाजिक सञ्जालमा राखेको विवरण अनुसार प्रदेश प्रतिनिधिका रुपमा गुवाल जंग शाह, गोविन्द कुमार पुन, अकबर बहादुर पुन, गन्जमान बुढा, आशा ओली र चन्द्रीका कार्की छनौट भएका छन् ।

नगरपालिकाका नगरप्रमुख कर्णबहादुर बुढाथोकीको फोन उठेन । यस्तै, उपप्रमुख पुरुषोत्तम आचार्य र विद्यालय निरीक्षक चक्रबहादुर रावतले पनि फोन उठाएनन् । प्रमुख प्रशासकीय अधिकृत जगतबहादुर घर्तीको भने मोबाईल बन्द थियो ।

 


सम्बन्धित समाचार