Loading... आजः ४ पुष २०८१, बिहीबार

गृहको आदेशपछि गैरजिम्मेवार बन्दै मुगुका सिडिओ, आगलागी बारे दिएनन प्रदेशलाइ जानकारी

भौतिक मन्त्रीलाई फोन गरेको झुटो दावी


सुर्खेत ।
गृहमन्त्रालयले आफू मातहत रहेका जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीलाई संघीय सरकारबाहेक अन्यले काममा लगाउन नपाईने भनेर गरेको निर्णय सार्वजनिक भएको भोलीपल्टबाटै कर्णालीका सिडिओहरुले प्रदेश सरकारलाई घटनाको विवरण दिन छाडेका छन् ।

गएराती साढे एक बजेतिर मुगुको सदरमुकाम गमगढीमा आठ जना व्यक्तिको सात ओटा घर र पसल जलेर नस्ट भएको भएपनि हालसम्म पनि प्रदेश सरकारलाई प्रमुख जिल्ला अधिकारीले प्रदेश सरकारलाई जानकारी नदिइएको पाइएको छ ।

प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाले आगलागी भएको करिब सात घण्टा वित्दासमेत न त मुगुबाटै मन्त्री भएका भौतिक पूर्वाधार एवम शहरी विकास मन्त्री मंगल शाहीलाई जानकारी दिएका छन, न त आन्तरिक मामिला तथा कानून मन्त्री कृष्ण जिसीलाई नै जानकारी दिन भ्याएका हुन ।

कर्णाली प्रदेशमा भएको करोडौंको क्षतिबारेमा उनले मुख्यमन्त्री राजकुमार शर्मालाई समेत जानकारी दिएका छैनन् ।

गृहको आदेश पछि प्रजिअ थापाले प्रदेश सरकारलाई घटनाको विवरण दिन नचाहेको बुझिएको छ ।

घटनाबारेमा प्रदेश सरकारलाई किन जानकारी नदिएको भन्ने प्रश्नमा प्रजिअ थापाले आफूले गृहमन्त्रालयलाई जानकारी दिएको बताए ।

‘मैले गह मन्त्रालयलाई जानकारी दिइसकेको छु । प्रदेश सरकारलाई माननीय जितबहादुर मल्लले जानकारी गराउनु भएको होला ।’ गैरजिम्मेवारपूर्ण जवाफ दिदैं उनले भने, ‘एकै विवरण सबैले किन दिनु भनेर दिएको छैन ।’

उनले मन्त्री मंगल शाहीलाई फोन गरेको बताएपनि मन्त्री शाहीले भने प्रजिअले आफूलाई फोन नगरेको बताए ।

‘जिल्लामा के भएको छ, अवस्था कस्तो छ जानकारी दिनुपर्ने प्रजिअले हो ।’ प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले भने, ‘सरकारी निकायको आधिकारिक सूचनापछि प्रदेश सरकारले राहत देखि पुर्नस्थापनालगायतका विषयमा आवश्यक निर्णय लिन्थ्यो । हामी आधिकारिक सूचनाको पर्खाइमा बसेका छौं ।’

उनले अहिलेसम्म स्थानीय नेता कार्यकर्ताबाट सूचना लिइरहेको बताए ।

यसरी, प्रदेशका जिल्लामा शान्ति सुरक्षा हेर्ने जिम्मा पाएका सिडिओ थापाले प्रदेश सरकारलाई यर्थाथ जानकारी नदिनु गैरजिम्मेवार भएको टिप्पणी हुन थालेको छ ।


सम्बन्धित समाचार