Loading... आजः ४ पुष २०८१, बिहीबार

प्रदेश सरकारले गरेको सरुवा अटेर गर्दै दैलेखकी प्रमुख खत्री

सुर्खेत ।
कर्णाली प्रदेश सरकारले सरुवा गरेको लामो समय भईसक्दा पनि दैलेखमा कार्यरत एक कर्मचारीले हालसम्म पनि रवाना बुझ्न नमानेको पाइएको छ ।

दैलेखको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय प्रमुखको रुपमा कार्यरत कल्पना खत्रीले सरुवा भएको लामो समय वित्दा पनि रमाना नलिएको पाइएको हो ।

मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले उनलाई साउन ३१ गते सुर्खेतमा रहेको शिक्षा निर्देशनालयमा सरुवा गरेको थियो । सातौं तहकी खत्री हालसम्म पनि निर्देशनालयमा हाजिर हुनु त परको कुरा, दैलेख नै छोडन नमानिरहेको पाइएको हो ।

कर्मचारी ऐनमा भएको व्यवस्था अनुसार त्यसरी सरुवा भएको कर्मचारीले ३५ दिन भित्र रवाना लिई सरुवा भएको कार्यालयमा हाजिरी गर्नुपर्ने हुन्छ । उक्त कानूनी प्रावधान विपरित उनले दैलखमै अड्डा जमाएकी छिन् ।

‘उहाँ पहिले नै आइसक्नुपर्ने हो ।’ मुख्यमन्त्री तथा मन्त्रीपरिषदका एक कर्मचारी भन्छन्, ‘सरुवा भएको कार्यालयमा उपस्थित नहुनु भनेको सरकारको निर्देशनको अवज्ञा गर्नु हो । यो उहाँको अटेरीपन हो ।’

यता, सरुवा भएकी तर खटाइएको कार्यालयमा हाजिर नभएकी कार्यालय प्रमुख खत्रीको भनाई भने फरक छ ।

‘मैले निवेदन नदिदैं सरुवा भएको हो । सरुवा गर्ने प्रक्रिया पनि हुन्छ होला । म अहिले यहाँको कार्यालय प्रमुख हो । मेरो स्थानमा अर्को व्यक्तिको सरुवा भएको छैन ।’ पहिलोप्रेससँग कुरा गर्दै खत्रीले भनिन्, ‘अडिटको काम पनि वाँकी नै थियो । त्यो मैले नै भ्याउनुपर्छ । त्यहि कारण म यहाँ बसेको हो ।’

उनले सरकारले आफू कुनै दलको निकट नभएपनि कर्मचारीलाई काखा र पाखा गर्न थालेको गुनासो गरिन ।

‘मलाई मात्रै दुई वर्षको हदम्याद लाग्छ र ? दैलेख आउने समयमा मलाई ६ महिना कुराए ।’ उनले भनिन, ‘काम गर्न चाहने व्यक्तिलाई उत्साहित नगराई उल्टै मलाई हतोत्साहित गरिएको छ ।’

उनले कार्यालय प्रमुख कसैलाई नखटाएको बताईन । ‘राजनीतिक रुपमा मलाई सरुवा गरिएको हो । जानकारी विना नै गरिएको हो । मुख्यमन्त्री कार्यालयबाट मेरो सरुवा भएको हो ।’ उनको गुनासो छ, ‘अफिसियल मेलमा म सरुवा भएको चिठी नै आएको छैन ।’
यद्यपी उनले केहि समयपछि भने सरुवा भएको स्थानमा काम गर्न जाने बताईन ।

प्रदेश सरकारका कायम मुकायम प्रमुख सचिव चुडामणि पौडेलले भने सरुवा भइसकेको व्यक्ति समयमै कार्यालयमा हाजिर हुनुपर्ने बताए । ‘नियमानुसार उहाँले काम गर्नु पर्छ । म के भइरहेको छ, त्यो बुझ्छु ।’

 


सम्बन्धित समाचार