दशैंको मुखैमा दैलेखका आठबीस र नौमुले प्रमुख प्रशासकीय विहीन बने
सुर्खेत ।
पछिल्लो समयमा दैलेखको आठबीस नगरपालिकासहित नौमुले गाउँपालिका प्रमुख प्रशासकीय विहीन भएको छ ।
संघीय सरकारले दरवन्दी अनुसारका कर्मचारी बाहेक अन्यलाई निमित्त नदिन भनेर लिखित निर्देशन दिएसँगै यी पालिकाहरु प्रमुख प्रशासकीय विहीन भएका हुन ।
घर नजिकैको सरकारको रुपमा स्थापित स्थानीय तहमा दरवन्दी अनुसारका कर्मचारी नगइदिदाँ झण्डै दुइ महिनादेखि पालिकाका काम कारवाही पूर्ण रुपमा ठप्प भएका छन् ।
‘आठबीस नगरपालिकाको भवनमा म हिजो गएको थिएँ, तर त्यहाँ कोही पनि कर्मचारी भेटिएनन् ।’ सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै आठबीस नगरपालिका ७ का गणेश शाहीले भनेका छन्, ‘यसरी कसरी सरकार चल्छ ? यो भनेको जनतालाई सास्ती दिने काम वाहेक अरु केहि होइन ।’
यता, आठबीस नगरपालिकाका नगरप्रमुख तर्क बहादुर बडुवाल र नौमुलेका अध्यक्ष छवि सुवेदी प्रमुख प्रशासकीय अधिकृत माग्न काठमाडौं गएका छन् । देशभरका झण्डै एक सय पैचालिस पालिका यतिबेला प्रमुख प्रशासकीय अधिकृत विहीन भएको समयमा आफूहरु सामान्य प्रशासन मन्त्रालयमा अधिकृत माग्न निरन्तर धाईरहेको अध्यक्ष सुवेदीले बताए ।
‘हिजो मन्त्रालयमा मन्त्री कै सामू नगरप्रमुख बडुवाल जिले त अब जनप्रतिनिधिहरुले राजनीनामा दिनुको विकल्प नभएको बताउनुभयो ।’ उको भनाई उदृत गर्दै सुवेदी भन्छन्, ‘न मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत पठाउने न निमित्त बनाउने अधिकार दिएर पालिकाका खाता सञ्चालन गर्ने र जनताका काममा लाग्ने अवसर दिने ? यस्तै हो भने कसरी संघीयता कार्यान्वयन हुन्छ ?’
उनले मन्त्रालयमा अधिकृत माग्न जाँदा खोजेर लैजान भनेर भन्ने गरिएको गुनासो गरे ।
‘हामीलाई प्रमुख प्रशासकीय अधिकृत चाहियो भनेर भन्दा उल्टै खोजेर लैजानुस भनेर जवाफ दिइन्छ ।’ उनले भने, ‘अधिकृत खोज्ने हाम्रो काम हो कि मन्त्रालयले खटाउने हो ? बडो अजिब जवाफ मिलेको छ’
उनले खाता सञ्चालन नभएका कारण दशैंको मुखमा गत वर्षायाममा वाढी पहिरोबाट क्षति भएका संरचना निर्माण गर्न, अन्य कामहरु अघि बढाउन समस्या सिर्जना भएको बताए ।
पहिलोप्रेस
१९ आश्विन २०८०, शुक्रबार ०९:००