मुगु हत्या प्रकरणमा प्रहरीले पायो ‘क्लु’
सुर्खेत ।
शनिबार तीन सन्तानसहित आमाको हत्या प्रकरणमा प्रहरीले ‘क्लु’ पत्ता लगाएको छ । कुकुरसहित परिचालित प्रहरी अहिले घटना घटेको घटना भएको स्थान छायाँनाथ रारा नगरपालिका–६ मन्दु गाउँमा अनुसन्धानको क्रममा रहेको छ ।
मुगुका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए अनुसार अहिले प्रहरीले महत्वपूर्ण क्लु फेला पारिसकेको भएपनि अझै अनुसन्धान भने जारी राखेको हो ।
‘हामीले महत्वपूर्ण क्लु भेटाएका छौं । हामी अहिले शंका लागेकालाई सोधपुछ गर्ने देखि नियन्त्रणमा लैजानेसम्मका काममा लागेका छौं ।’ उनले भने, ‘घटनामा संलग्नको पुस्टि भएपछि हामी तपाईहरुलाई जानकारी दिन्छौं । अहिले अनुसन्धानमै रहेका कारण कसलाई र कति जनालाई नियन्त्रणमा लिइएको छ भनेर भन्न मिल्दैन ।’
डिएसपी थापाले आज उनिहरु चारै जनाको शवको पोस्टमार्टम गरिने जानकारी दिए ।
शुक्रबार मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा र उनका ११ वर्षीय छोरा मनोज बोहोरा, ८ महिनाका छोरा रहर बोहोरा र ८ वर्षीया छोरी अप्सरा बोहोराको शव घरभित्रै फेला परेको थियो । उनीहरुको धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको अहिलेसम्मको प्रारम्भिक अनुसन्धानबाट अनुमान गरिएको छ ।
मृतक आमा श्रीदेवी छोराछोरीसहित ७ गते नै दसैंको टीका थाप्न सोही वडामा रहेको माइती गाउँ कोटिल्ला गएकी थिइन् । माइतीबाट टिका, जमरा लगाइसकेपछि उनी ८ गते बेलुका नै घर फर्किएकी थिइन् । सोही राति सामूहिक हत्या गरिएको बताइएको छ ।
पहिलोप्रेस
१२ कार्तिक २०८०, आईतवार ०९:०५