Loading... आजः ४ पुष २०८१, बिहीबार

बड्डीचौर–खम्बागाडे सडक खण्ड: रुख कटान अनुमति पाउन अझै दुई साता लाग्ने

खम्वागाडे-मायाताल खण्डमा रुख कटानका लागि मिल्याे अनुमति


सुर्खेत ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको पश्चिम क्षेत्रमा पर्ने मदन भण्डारी राजमार्ग अन्र्तगत कर्णाली प्रदेश सरकारले ठेक्का आव्हान गरेर निर्माण गरिरहेको बड्डीचौर खम्वागाडे सडकमा पर्ने रुखहरु कटान गर्न अझै दुई साता लाग्ने भएको छ ।

केहि दिन पहिले संघीय सांसद दिक्पाल शाहीको तस्वीर रुखमा वाटो कहिले बन्छ भनेर प्रश्न गरिएको पर्चा टाँसिएको थियो ।

१२ किलोमिटर लम्वाई रहेको उक्त सडक खण्ड कालोपत्रे गर्न जयदेवी जेभी बाँकेले ठेक्का लिएको छ ।
२०४९ सालमा ट्रयाक खुलेको यो सडकमा ०५१ सालदेखिनै गाडी चल्न सुरु भएको हो । तर, जीर्ण सडकका कारण पश्चिम सुर्खेतका जनताले जहिल्यै सास्ती खेप्नु परिरहेको छ ।

विगतमा केन्द्रसँग बारम्बार अनुरोध गर्दा पनि सडक निर्माण हुने छाँटकाँट नहुने देखिेपछि प्रदेश सभामा तत्कालिन आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले उक्त सडक खण्डलाई प्रदेश सरकार मातहत नै कालोपत्रे गराउने प्रयास गरेर ठेक्का लगाएका थिए ।

उक्त ठेक्का जयदेवी जेभी बाँकेले १४ असार ०७९ मै जिम्मा लिएको थियो । २४ असार ०८१ मा कालोपत्रे सम्पन्न गरिसक्ने लक्ष्य राखिएको सडक कालोपत्रेका लागि ४२ करोड ४७ लाख ६१ हजार रुपैयाँ बजेट छ । तर, अहिलेसम्म सडकका ५ प्रतिशत पनि काम हुन सकेको छैन । जसका कारण सडक घाम लाग्दा धुलाम्य त पानी पर्दा हिलाम्य हुन्छ । त्यसको असर यात्रुहरुलाई पर्छ ।

तर, सडक निर्माणमा अलमल हुनुको वास्तविकता भने अलि फरक छ । ठेकेदारभन्दा पनि प्रदेश सरकार र पूर्वाधार विकास निर्देशनालयको कमजोरीका कारण सडक निर्माणमा ढिला भएको हो । काम भइरहेको उक्त खण्डमा रुख कटानको अनुमति नपाउँदा काममा बाधा भइरहेको ठेकेदार कम्पनीको गुनासो छ ।

पछिल्लो समयमा मिडियामा रुख कटान नहुँदा समस्या भएको भनेर छ्याप्छ्याप्ती समाचार आइरहेका कारण हाल संघ सरकार यो समस्या समाधान गर्न दवावमा परेको छ ।

उसो त यस क्षेत्रबाट संघमा प्रतिनिधित्व गर्ने संघीय सांसद हृदयराम थानी र प्रदेशमा प्रतिनिधित्व गर्ने सांसद विन्दमान विष्ट पनि निरन्तर संघीय मन्त्री परिषदको वैठकबाट उक्त प्रस्ताव पारीत गराउन लागिपरेका छन् तर हालसम्म पनि वन मन्त्रालयबाट उक्त फाईल मन्त्री परिषदमा नगएको स्रोतले बतायो ।

‘उहाँहरु दैनिक जसो मन्त्रालयमा आइरहेपनि यहाँबाट फाईल भने मन्त्री परिषदको वैठकमा गएकै छैन ।’ स्रोत भन्छ, ‘खम्वागाडे देखि मायाताल खण्ड अन्र्तगत २२ किलोमिटर क्षेत्रमा रुख कटानका लागि भने केहि दिन अघि मात्रै निर्णय भएको छ ।’

यता, प्रदेश सभा सदस्य एवम पूर्व आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट काठमाडौं हुईकिएका छन् । पश्चिम सुर्खेतका जनताको चर्को दवाव तथा आलोचना पछि जसरी पनि मन्त्री परिषदबाट उक्त प्रस्ताव पारीत गराएर सुर्खेत फर्किने मनस्थिति उनको छ ।

‘हामीले बारम्बार संघीय सरकारका मन्त्रीसँग यसबारेमा कुरा गरेका छौं ।’ काठमाडौं जान भन्दै बबई पुगेका विष्टले भने, ‘अबको बढीमा दुई सातमा नै रुख कटानको अनुमति पाईन्छ । सडक निर्माणमा रहेको यो अन्यौलता चिर्न म काठमाडौं जान लागेको हो ।’


सम्बन्धित समाचार