Loading... आजः ४ पुष २०८१, बिहीबार

भूकम्प प्रभावितमाथिको चर्को राजनीति

एम्बुलेन्स पठाउने नाममा पालिकाहरुको होडवाजी, सस्तो लोकप्रियताको खोजी

 

तस्वीरः डा. नवराज केसी ।

सुर्खेत ।
गयराती जाजरकोट केन्द्र विन्दु पारेर आएको भूकम्पमा परेकाहरु मध्ये घाईतेहरुको उद्धार सकिएको समयमा कर्णालीका पालिकाहरुमा भने एम्बुलेन्स पठाउने नाममा होडवाजी चल्न थालेको छ ।

कर्णाली प्रदेश सरकार, संघीय सरकार र प्रभावित क्षेत्रका पालिकाहरुले घाईते भएकाहरुको अवस्था हेरेर हेलिमार्फत वा एम्बुलेन्स मार्फत उद्धार गरिसकेको अवस्थामा पनि घाईतेहरुको उद्वार गर्ने नाउँमा मनपरि ढंगबाट निर्णय गर्दै प्रभावित क्षेत्रमा धमाधम एम्बुलेन्स पठाउन थालेका हुन ।

आज दैलेखको गुराँस गाउँपालिकाले राहत तथा उद्वारका लागि भनेर पालिकाका स्वास्थ्यकर्मीको टोली भूकम्प प्रभावित क्षेत्रमा पठाएको छ । पालिका अध्यक्ष टोप बहादुर विसीका अनुसार डाक्टर, स्वास्थ्यकर्मी र राहत वन्दोवस्तीका सामानसहित टोली जाजरकोट पठाइएको हो । यो कुरा उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

यस्तै, पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाले पनि एम्बुलेन्स पठाएको छ । पालिका अध्यक्ष खड्क विकले सामाजिक सञ्जालमा एक तस्वीर राख्दै राहत एवम उद्धारका लागि एम्बुलेन्स पठाइएको जानकारी दिएका छन् ।

यी दुई उदाहरण मात्र हुन ।
अहिले उद्वारको कार्य सम्पन्न भइसकेपछि अब सरकारको ध्यान पीडितहरुलाई राहत वितरण गर्ने र उनिहरुलाई पालमूनि ल्याउने पहिलो प्राथमिकता हो । राहत सामाग्री पठाउनुको साटो एम्बुलेन्स पठाउने पालिकाहरुको कार्यलाई भावनात्मक रुपमा केहि क्षणका लागि राम्रै मानिएपनि त्यो आवश्यकता भन्दा सस्तो लोकप्रियताको रुपमा लिइएको छ ।

‘सरकारले यत्रो भूकम्प आएपछि राहत वितरण गर्ने, पुर्ननिर्माण गर्ने तथा अन्य काम गर्नका लागि एकद्धार नीतिबाट अघि बढन जरुरी छ ।’ नेकपा माओवादी सुर्खेत संयोजक जीतबहादुर राना भन्छन, ‘यसरी जसको मन लाग्यो, त्यसरी अघि बढे समस्या समाधानको साटो थप बल्झिने खतरा हुन्छ । यतातर्फ सबैको ध्यान जान जरुरी छ ।’
यता, प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री कृष्ण जिसीले अब एम्बुलेन्स भन्दा पनि अन्य सहयोगको खाँचो रहेको बताए ।

‘यो विपत्ती सबैमाथि आइलागेको हो । कसले कहाँ के पठाए ? को कहाँ के गर्दैछन भन्ने कुराको कुनैपनि जानकारी हामीकहाँ आइसकेको छैन ।’ उनले भने, ‘एकद्धार नीतिबाट मात्रै पीडितहरुको घाउमा मल्हम लगाउन सकिन्छ भन्ने निचोडका साथ हामी लागिरहेका छौं ।’

हाल प्रदेश सरकारले भूकम्प पीडितलाई राहत, उद्धार गर्ने देखि खानपान सम्मका सबै काम हेर्ने जिम्मा आन्तरिक मामिला मन्त्रीलाई नै दिएको छ । मन्त्री जिसी नै उक्त विपद व्यवस्थापन समितिको कमाण्डर बनेका छन् । तर हालसम्म कसैले पनि यो प्रभावित स्थानमा हामी यो प्रयोजनका लागि गएका छौं भनेर जानकारी नदिएको उनको गुनासो छ ।

‘यस्तो विपत्ति विरुद्ध सबै मिलेर लडन आवश्यक छ । सबैको सहकार्यबाट मात्रै यो समस्याबाट समाधान निकाल्न सकिन्छ ।’ उनले भने, ‘जसको मन जहाँ जे गर्न मन लाग्यो, त्यो गरेर हुँदैन । अब प्रभावित क्षेत्रमा राहतको आवश्यकता छ । यतातर्फ हामी सबैको ध्यान जान जरुरी छ र सबैले एकद्धार नीतिबाट मात्रै जान जरुरी छ ।’

 


सम्बन्धित समाचार