भूकम्पपीडित नागरिकलाई जाडो र रोगबाट जोगाउन सहकार्य गरौंः मन्त्री शाही
सुर्खेत ।
कर्णाली प्रदेशका भौतिक पूर्वाधार एवम शहरी विकास मन्त्री मंगल शाहीले शुक्रबार राती जाजरकोट केन्द्र विन्दु भएर आएको भूकम्पका कारण पीडित भएका नागरिकलाई जाडोबाट बचाउनु अबको प्रमुख काम भएको बताएका छन् ।
आज मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा कर्णाली प्रदेशका विकास साझेदारसँगको वैठकमा मन्त्री शाहीले भूकम्पका कारण घाईते भएकाहरुको उद्धार र उपचार गर्ने चरण सकिएको बताउँदै जाडो बढिरहेका कारण सहयोगी मनहरुले अब उद्वार तर्फ भन्दा मानवीय सहायता गर्न लाग्नुपर्ने बताएका हुन ।
‘यहाँहरुले सहयोग गरिरहनु भएकै छ । अब हामीले भूकम्पमा परेर घाईते भएकाहरुको उद्वार गरिसकेका छौं । उहाँहरुको उपचार पनि भइरहेको छ । त्यतातर्फ अब यहाँहरुको सहयोग आवश्यक नपर्ला ।’ मन्त्री शाहीले भने, ‘जाडोयाम सुरु भएको छ । यस्तो अवस्थामा हजारौं नागरिक घरबारविहीन भएका छन् । उनीहरुलाई ओत लाग्ने त्रिपाल र कम्बललगायतका न्यानो कपडाका अतिरिक्त भाँडाकुँडा, खाद्यान्नहरुको आवश्यकता परेको छ । यहाँहरुले प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयसँग सहकार्य गरेर सहयोग गर्न सरकार आव्हान गर्दछ ।’
मन्त्री शाहीले पालमुनि बस्दै आइरहेका नागरिकलाई रोग तथा जाडोबाट बचाउन सबै मिलेर अघि बढनुपर्नेमा जोड दिए । त्यसका लागि सरकारले हदैसम्मको काम गरिरहेको उनको प्रष्टोक्ति थियो ।
कार्यक्रममा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माले जहाँ जुन कुराको आवश्यकता छ, त्यहि कुराको सहयोग गर्न विकास साझेदार संस्थासँग अपिल गरे ।
‘कतै पाल चाहिएको होला, कतै खाद्यान्न चाहिएको होला । तपाईहरु सरकारसँग समन्वय गरेर एकद्वार नीतिबाट जे सकिन्छ, जति सकिन्छ सहयोग गर्नुहोस ।’ उनले भने, ‘यहाँहरुको सहयोगले पीडित जनताको घाउमा मल्हम लगाउन सहज हुन्छ ।’
आन्तरिक मामिला तथा कानून मन्त्री कृष्ण जिसीले विकास साझेदार संस्थाहरु, स्थानीय, संघ र प्रदेश सरकारले जनतका लागि काम गर्ने बताउँदै पीडित नागरिकलाई सरकार र विकास साझेदार संस्था भएको आभाष दिलाउनुपर्नेमा जोड दिए ।
पहिलोप्रेस
१९ कार्तिक २०८०, आईतवार १५:३१