भूकम्पपीडितलाई वन मन्त्रालयको राहत
जाजरकोट ।
कर्णाली प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले आज जाजरकोटको अति प्रभावित नगरपालिका नलगाड र रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा शुक्रबार राती आएको भूकम्पबाट पीडित बनेकानागरिकलाई राहत वितरण गरेको छ ।
प्रदेश सरकारले निरन्तर भूकम्पपीडितलाई विभिन्न राहत तथा उद्धारका कार्यहरु गरिरहेको समयमा मन्त्रालयका कर्मचारीहरु, पदाधिकारीहरुको एक दिन बराबरको तलब काटिने गरि ती दुई पालिकामा त्रिपाल र न्यानो व्ल्यांकेट वितरण गरिएको मन्त्रालयका सचिव डा.विनोद देवकोटाले जानकारी दिए ।
“कर्णाली प्रदेशका अति प्रभावित यी दुई पालिकामा पीडितहरुले न्यानो कपडा नपाएको गुनासो आएको थियो”, सचिव डा. देवकोटाले भने, “त्यहाँका केहि नागरिकलाई राहत दिने भनेर करिब तीन लाख बराबरका त्रिपाल र व्ल्यांकेट वितरण गरेका हौं ।”
यता, मन्त्री कृष्ण विसिले भूकम्पले नागरिकको जीवन अस्तव्यस्त बनाएको बताए ।
भूकम्प पश्चात पहिलोपटक प्रभावित क्षेत्रमा राहत वितरण तथा अनुगमन गर्न यहाँ आएका मन्त्री विसिले बढदो जाडो र बारम्बार आउने भूकम्पको धक्काले नागरिकलाई थप त्रसित बनाएको महसुस भएको जनाए ।
“यहाँका नागरिकको उद्धार देखि उपचार हुँदै राहत व्यवस्थापनमा सरकार गम्भीर रुपले लागिपरेको छ ।” मन्त्री विसिले भने, “नागरिकका थप पीडा, समस्या र अभावहरुका बारेमा थप जानकारी लिने र सरकारको कार्यलाई थप प्रभावकारी बनाउन हामी यहाँ आएका हौं ।”
मन्त्री विसिले जनताको नजिकको सरकार प्रदेश सरकार भएको बताउँदै पीडित जनताको ज्यूधनको रक्षा गर्न सरकार निरन्तर लागिरहेको बताए ।
पहिलोप्रेस
२० कार्तिक २०८०, सोमबार १९:३२