Loading... आजः ४ पुष २०८१, बिहीबार

भूकम्प प्रभावित पालिकामा प्रदेशले पठायो करिब साढे दुई करोड बजेट

तस्वीरः डा. नवराज केसी ।

सुर्खेत ।
कर्णाली प्रदेश सरकाले भूकम्प प्रभावित जिल्लाका पालिकाहरुलाई झण्डै साढे दुई करोड रकम पठाएको छ ।

प्रदेश सरकारले जाजरकोट, रुकुम पश्चिम र सल्यानका पालिकाहरुलाई दुई करोड ४५ लाख रकम पठाइएको हो ।
भूकम्प प्रभावित नागरिकहरुलाई राहत सामग्री खरिद तथा वितरण र उद्धारका लागि उक्त रकम पठाइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

सबैभन्दा बढी प्रभावित भएका पालिकाहरु जाजरकोटको भेरी नगरपालिका, नलगाड नगरपालिका, बारेकोट गाउँपालिका र रुकुम पश्चिमको आठबिसकोट नगरपालिका र सानोभेरी गाउँपालिकालाई २५ लाखका दरमा रकम पठाइएको छ भने जाजरकोटको कुशे गाउँपालिका, रुकुमको चौरजहारी नगरपालिका र त्रिवेणी गाउँपालिकालाई २० लाखका दरमा रकम पठाइएको छ ।

यस्तै जाजरकोटको छेडागाड नगरपालिका र जुनिचाँदे गाउँपालिकालाई १० लाखका दरमा रकम पठाइएको छ ।
सल्यानको दार्मा गाउँपालिकामा १५ लाख, वनगाड र बागचौर नगरपालिकालाई ५ लाखका दरमा रकम पठाइएको मन्त्रालयले जनाएको छ ।

यस्तै रुकुमको बाँफिकोट गाउँपालिका, मुसिकोट नगरपालिका र जाजरकोटको शिवालय गाउँपालिकामा पनि ५ लाखका दरमा रकम पठाइएको छ ।


सम्बन्धित समाचार