सुर्खेतमा चार सय क्वीन्टल सयपत्री फूल उत्पादन, प्रतिमाला एक सय पचास रुपैँया
सुर्खेत ।
विगतका वर्षमा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा अन्य प्रदेशबाट फूलहरु आयात गर्ने गरिएको भएपनि यो वर्ष भने सुर्खेतमा नै पर्यााप्त मात्रामा फूलहरु उत्पादन गरिएको छ ।
तिहारकोलागि सयपत्री तथा मखमली फूलहरु कर्णालीमै उत्पादन भएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले पनि फूल उत्पदक कृषकहरुलाई उत्साही बनाउन सकेसम्म जिल्लामै उत्पादन भएको फूलहरु नै प्रयोग गर्न सर्वसाधारणलाई आव्हान समेत गरेको छ ।
पूष्प व्यवसायी संघ सुर्खेतका अध्यक्ष हिरा मगरले सुर्खेतमा यो वर्ष चार सय क्वीन्टल भन्दा बढी फूलहरु उत्पादन भएको बताए ।
‘जिल्ला भरका किसानहरुसँग अहिले चार सय क्वीन्टल फूलहरु उत्पादन भएको रेकर्ड छ ।’ उनले भने, ‘जिल्लामै यति धेरै फूलहरु उत्पादन भएपछि हामीले प्रति माला र प्रतिकिलोको दरमा खुद्रा तथा होलसेल व्यापार गर्नका लागि मूल्य निर्धारण समेत गरेका छौं ।’
उनका अनुसार एक किलो फूल निेकालागि चार सय रुपैंया प्रतिकेजी मूल्य तोकिएको छ । सुर्खेतभित्र होलसेलमा फूल खरिद गर्नेका हकमा भने तीन सय रुपैंया प्रतिकेजी तोकिएको उनले बताए ।
‘सुर्खेत बाहिरका हकमा भने हामीले साढे दुई सय प्रतिकेजी तोकेका छौं ।’ उनले भने, ‘त्यस्तो गर्नुको कारण ढूवानी गर्दा केहि फूलहरु नस्ट हुन सकने र त्यसले व्यवसायीलाई मार पर्न सक्ने जोखिमका कारण हामीले यो दर कायम गरेका हौं ।’
यस्तै, मालाको दर पनि तोकिएको उनको भनाई छ । प्रतिमाला एक सय पचास देखि दुई सय सम्म तोकिएको छ भने एक हजार माला लिएको खण्डमा प्रति माला एक सय रुपैंया तोकिएको अध्यक्ष मगरले बताए ।
पहिलोप्रेस
२२ कार्तिक २०८०, बुधबार १९:०५