Loading... आजः ४ पुष २०८१, बिहीबार

जाजरकोट भूकम्पपछि ३१ पटक उड्यो सुर्खेतबाट हेलिकप्टर, १९ गतेदेखि लाग्यो भिभिआइपीको लस्कर

शेरबहादुर थापा/सुर्खेत ।
अहिले सिंगो कर्णाली रोइरहेको छ । कर्णाली प्रदेशमा गत १७ गते राती ११ बजेर ४७ मिनेटमा जाजरकोटको वारेकोट गाउँपालिका अन्र्तगत रामीडाँडा केन्द्र पारेर ६.४ रेक्टर स्केलको भूकम्पले हजारौं नागरिकलाई वेघर बनाइ दिएको छ ।

कात्तिक महिनाको जाडोमा एकातीर आफन्त गुमाउनुको पीडा जाजरकोट र रुकुमका नागरिकले झेल्दै आएका छन्, भने भूकम्प गएको पाँच दिन वित्दापनि नागरिकहरु बारम्बार आउने पराकम्पका कारण चैनसँग सुत्न पाइरहेका छैनन् ।

खाना, पानी, शौचालय अभाव मात्रै होइन, यहाँका नागरिकले हालसम्म पालसमेत पाउन सकेका छैनन् । त्रिपाल भएको भएपनि कम्तिमा शीत छल्न सहज हुने आशा वोकेका नागरिकहरु त्रिपाल पाउने आशामा राज्यको मुख ताकेर बसिरहेका छन् ।

जाजरकोट र रुकुम पश्चिमका विभिन्न पालिकामा आएको विध्वंशात्मक भूकम्पले झण्डै २० हजार भन्दा बढि घरहरु क्षतिग्रस्त बनाइदिएको छ ।

भूकम्पका कारण कति घरहरु पूर्ण रुपमा क्षति भएका छन्, भन्ने आधिकारिक विवरण आउन नसकेपनि कम्तिमा पनि आठ हजार घरहरु पूर्ण रुपमा ध्वस्त भएको आंकलन गरिएको छ ।

गाउँमा हालसम्म पनि राहत सामाग्री नपुग्दा नागरिकहरु खुल्ला आकाशमा शौच गर्न वाध्य भएका छन्, भने राहतका नाउँमा जिल्लामा जाने र फोटो अनि भिडिओ बनाएर सामाजिक सञ्जालमा राख्ने प्रचलन हावी हुँदै गइरहेको छ ।

राहत सामाग्रीहरु सदरमुकाम केन्द्रीत भएको आरोप सरकारमाथि लागिरहेको समयमा भेरी नगरपालिकाका नगरप्मुख सिपि घर्तीले पाँच हजार त्रिपाल मागेको भएपनि हालसम्म आफूले पाउन नसकेको बताइरहेका छन् ।
विभिन्न दातृ निकाय, सहयोगी संघसंस्थाहरु र संघ, प्रदेश र स्थानीय सरकारहरुले जाजरकोट र रुकुम केन्द्रीत राहत वितरण गरिरहेको भनेर भनिएपनि जिल्ला सदरमुकामकै नागरिकले राहत पाउन नसकेको गुनासो बढदै गइरहेको छ ।

कात्तिक १८ गते सबै शक्ति र सामथ्र्य लगाएर घाईतेहरुको उद्धार गर्न सफल सरकारमाथि पछिल्लो समयमा पीडितमाथि राजनीति गरिरहेको आरोप लागिरहेको छ ।

पीडितले लाख विन्ती गर्दापनि त्रिपाल तथा राहत सामाग्री पाउन नसक्नु तर भिभिआइपीहरु भने अनुगमनका नाउँमा सयौं पटक हेलिकप्टरमा शयर गर्नु दुर्भाग्य भएको स्थानीयहरुको भनाई छ ।

भेरी नगरपालिकाका नगरप्रमुख घर्तीले भेरीको आकाशमा हेलिकप्टर आतंक बन्द गर्न भन्दै मंगलबार फेसबुकमा एक स्टाटस समेत लेखेका छन् । उनले यस्तो लेख्नुको कारण नागरिकले राहत नपाउनु र दैनिकजसो भिआइपीहरुको हेलिकप्टरमा आवतजावत हुनु नै हो ।

यता, कात्तिक १७ गते आएको भूकम्पका कारण धेरै जनधनको क्षति भएको बहानामा १८ गते उद्धार तथा राहत वितरणका लागि नौ पटक सुर्खेतबाट हेलिकप्टर जाजरकोट र रुकुम पश्चिममा गएको छ । सुर्खेत विमानस्थलका अनुसार उक्त दिन दुई पटक हेलिकप्टर रुकुमको चौरजहारी अवतरण भएको थियो भने सात पटक जाजरकोटको विभिन्न स्थानमा हेलिकप्टर उडेको थियो ।

१९ गते भन्दा पछि भने हेलिकप्टरहरु अधिकांश रुपमा भिभिआइपी बोक्न केन्द्रीत भएको पाइएको हो ।
नेपाल सरकारका उपप्रधानमन्त्री एवम रक्षामन्त्री पूर्णबहादुर खड्का, मुख्यमन्त्री राजकुमार शर्मा, नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही, संघीय मन्त्री शक्ति बस्नेतलगायतले विभिन्न चरण गरी जाजरकोट र रुकुम पश्चिममा हेलिको प्रयोग गरेका हुन ।

१९ गते उपप्रधानमन्त्री खड्का जाजरकोट गएका थिए भने त्यसपछि उनि त्यहि हेलिकपटरमा नेपालगन्ज गएका थिए । नेपालगन्जमा उनि घाईतेहरुको अवस्था बुझ्न हेलिकप्टरमार्फत गएका थिए । यो दिन सुर्खेतबाट १० ओटा विभिन्न स्थानका लागि हेलि उडेको थियो ।

त्यस्तै, २० गतेपनि उनको टोली जाजरकोटका विभिन्न पालिका, जाजरकोटकै नलगाड नगरपालिकामा श्रद्धान्जली दिन समेत हेलिकप्टरमा गएका थिए ।

त्यहाँ नलगाड नपाका उपप्रमुख सरिता सिंहको परिवारलाई समवेदना दिनउपप्रधानमन्त्री एवम रक्षा मन्त्री खड्का सहित नेपाली काँग्रेसका प्रदेश सभापति ललितजंग शाही, दलका नेता जीवनबहादुर शाही, संघीय उर्जा मन्त्री शक्ति बस्नेतलगायतको टिम पुगेको थियो । २० गते सुर्खेतबाट चार पटक हेलिकप्टर उडेको थियो ।

जाजरकोटमा सरकारका गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको टोली जाजरकोट पुगेको थियो । २१ गते ६ पटक हेलिकप्टर उडेको हो ।

२१ गते नै राष्ट्रपति रामचन्द्र पौडेललगायतको भिभिआइपी टोली जाजरकोट पुगेको थियो ।

आज २२ गते यो समाचार तयार पर्दासम्म दुई पटक हेलिकप्टर उडि सकेको तर हालसम्म नफर्किएको विमानस्थल स्रोतले जानकारी दियो ।

नेपाली सेनाका विभिन्न ६ ओटा हेलिकप्टर खोज तथा उद्धार कार्यमा लागेको पाइएपनि भिभिआइपीले समेत मौकाको फाईदा उठाएको भन्दै सर्वसाधारणमा गुनासो बढदै गएको छ ।

यता, भूकम्प प्रभावितका लागि भनेर उडाइएको हेलिकपटरको सबै खर्च संघीय सरकारले व्यहोर्ने भएको छ । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री एवम सरकारका प्रवक्ता कृष्ण जिसी जितेन्द्रले हेलिकप्टर उडानको सबै खर्च संघीय सरकारले नै व्यहोर्ने जानकारी दिए ।


सम्बन्धित समाचार