भूकम्प पीडित नागरिकका उद्वारकर्ता “कमाण्डर” खड्का
शेरबहादुर थापा/सुर्खेत ।
कर्णाली प्रदेशमा वर्षेनी विभिन्न खालका प्राकृतिक प्रकोपहरु गइरहन्छन्, चाहे त्यो वर्षायाममा बाढी पहिरोले ठूलो मात्रामा जनधनको क्षति गरेको होस, वा हिउँदयाममा आगलागीका घटनाहरु किन नहुन । सबै प्रकोपहरुले कर्णालीमा वर्षेनी ठूलो मात्रामा क्षति पुर्याइरहेको छ ।
२०८० साल असोज पाँच गते शुक्रबार मुगु जिल्लाको गमगढी बजारको तल्लो बजारमा आगलागी भयो । आगलागीका कारण नागरिकले ज्यान नगुमाएपनि आठ ओटा घरहरु पूर्ण रुपमा जले भने झण्डै चार करोड बराबरको क्षति भयो ।
आठ पुस २०७५ मा कालिकोटको पलाता गाउँपालिकाको वडा नं. १ खाडागाउँमा भीषण आगलागी भयो । आगलागीमा परेर ८७ घर जलेर नस्ट भए । करोडौंको धनमाल नस्ट भयो । भर्खरै स्थापना भएको कर्णाली प्रदेश सरकारलाई पहिलो गासमै ढुंगा लागे सरह भयो ।
१७ कात्तिक २०८० मा कर्णाली प्रदेशको जाजरकोटको वारेकोट स्थित रामीडाँडा केन्द्रविन्दु बनाएर ६.४ दशमलवको भूकम्प आयो । भूकम्पका कारण जाजरकोट, रुकुमपश्चिमसहित अन्य केहि जिल्लाका लाखौं नागरिकहरु पीडित बने ।
एक सय ५४ जनाले ज्यान गुमाए भने लाखौं जनता घरवारविहीन भए । कात्तिक महिनाको जाडोमा नागरिकहरु खुल्ला आकासमा सुत्न बाध्य भए । खाद्यान्न, लत्ताकपडा, पशुवस्तु घरभित्रै पुरिए । नागरिकले भोकै रात गुजार्नुपर्ने अवस्था सिर्जना भयो । भूकम्पले ६५ हजार घरलाई ध्वस्त गरिदियो ।
यी माथिका घटनाहरु उदाहरण मात्रै हुन । कर्णालीमा भूकम्पका कारण यो वर्ष ठूलो क्षति भएको छ भने आगलागी तथा अन्य विभिन्न कारणले यस्ता घटनाहरु धेरै घटने गरेका छन् ।
भौगोलिक रुपमा विकटताले जेलिएको कर्णालीमा सबै गाउँ वस्तीमा सडकको पहुँच पुगेको छैन । सडक पुगेको स्थानमा पनि बाटोको अवस्था दयनीय छ । यस्तो अवस्थामा कर्णालीका अधिकांश स्थानमा आउने प्राकृतिक विपत्तिको सामना गर्न कठिन अवस्था आइलाग्ने गरेको छ ।
न्यून आन्तरिक आय भएको कर्णाली प्रदेशमा उद्योगधन्दा, कलकारखानाको अभाव छ । हावा चलेको खण्डमा घण्टौं विद्युत जाने कर्णाली प्रदेश संघीय सरकारकै अनुदानमा चलिरहेको अवस्था छ । यस्तो अवस्थामा कर्णालीले संघकै मुख ताक्नुपर्ने अवस्था जहिल्यै आउने गर्छ ।
यहाँ, यो सन्दर्भ जोडनुको कारण भनेको भौगोलिक विकटताका कारण प्रदेश सरकारले चाहेको खण्डमा ततकाल राहत तथा उद्धार गर्न नसक्ने अवस्था हो । विगतमा हुम्ला आगलागी होस, कालिकोट आगलागी होस वा अन्य स्थानमा भएका विपदका घटना हुन, त्यो अवस्थामा त्यहाँका नागरिकलाई उद्धार गर्न र राहत वितरण गर्न नेपाली सेनाको हेलिकप्टर प्रयोग गर्न सरकारलाई समस्या पर्दै आइरहेको थियो ।
संघीय सरकारलाई बारम्बार अनुरोध गर्नुपर्ने, प्रदेश सरकारको अनुरोधलाई संघीय मन्त्रालयमा रहेका कर्मचारीतन्त्रले नटेर्ने र नेपाली सेनालाई हेलिकप्टर उडाउनु परेको खण्डमा सुरुमा पैसा तिर्नुपर्ने अवस्था कर्णाली सरकारले भोगेको छ ।
तत्कालिन मुख्यमन्त्री महेन्द्रबहादुर शाही, जीवनबहादुर शाहीले चाहेको समयमा नागरिकलाई उद्धार गर्न र राहत सामाग्री पुर्याउन निकै सकस व्यहोर्नुपरेको थियो । हालका मुख्यमन्त्री राजकुमार शर्माले समेत यो समस्या मुगु आगलागीमा समेत भोगेका छन, भोग्दै आएका छन् ।
तर, जाजरकोट केन्द्रविन्दु गरेर आएको भूकम्पमा भने कर्णाली प्रदेशले राहत पाएको छ । सबै घाईतेहरुको उद्धार गर्ने, उनीहरुको उपचार देखि स्वास्थ्यकर्मी परिचालनसम्मका कार्य १८ गते नै प्रभावित क्षेत्रमा सम्पन्न भए ।
१९ कात्तिकदेखि दुवै जिल्लाका प्रभावित क्षेत्रमा सडकमार्गबाट सम्भव हुने स्थानमा सडकमार्ग र सडक मार्गबाट सम्भव नहुने स्थानसम्मका लागि हेलिकप्टरबाट राहत सामाग्री वितरण गर्ने कार्य सुरु भयो ।
यसका लागि नेपाली सेनाको स्काई ट्रक सहित पाँच ओटा हेलिकप्टर सुर्खेत विमानस्थलबाट प्रयोगमा आए । जाजरकोट, रुकुम पश्चिमका विकट पालिका केन्द्रहरुमा नेपाली सेनाको हेलिकप्टरले अत्यावश्यक सामाग्रीहरु कम्वल, त्रिपाल, भाँडाकुँडा, खाद्यान्नहरु ओसार पसार गर्यो ।
यति छिटो राहत सामाग्री प्रभावित पालिकामा पुग्नु कर्णालीका लागि गौरवको कुरा हो । यस्तो हुनुको मुख्य कारण यसपटक नेपाली सेनाको विभागिय मन्त्री कर्णालीले पाउनु नै हो भन्नेमा शंका गर्न परेन ।
आलोचकहरुले यो कथा पढ्दै जाँदा यसलाई अर्कै अर्थमा बुझ्न सक्लान तर जसले जहाँ जे बुझेपनि कर्णाली विपदमा पर्दा यसपटक जत्तिको राहत कहिल्यै पाएन, पाएको थिएन ।
‘विगतमा हामीले नेपाली सेनाको हेलिकप्टर माग गर्दा विभिन्न कानूनी देखि अन्य झमेला व्यहोर्नुपर्थ्यो, पैसा पहिले जम्मा गर्नुपर्ने देखि धेरै चरणहरु पार गर्नुपर्ने अवस्था थियो ।’ पूर्व मुख्यमन्त्री जीवन बहादुर शाही स्मरण गर्दै भन्छन, ‘तर यसपटक भने उपप्रधानमन्त्री एवम रक्षामन्त्री कर्णालीकै भएका कारण राहत, उद्धार र उपचारका लागि हामीले संघीय सरकारसँग हार गुहार गर्न परेन । नेपाली सेनाका स्काई ट्रक सहितका हेलिकप्टरहरु कर्णाली केन्द्रीत भए । यसले गर्दा हामीलाई नागरिकको घाउमा मल्हम लगाउन सहज भयो ।’
उसो त १८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल भुकम्प पश्चात आए पनि खड्का भने १७ गते नै सुर्खेत आएका थिए । उपप्रधानमन्त्री पूर्णबहदुर खड्का यो कथा तयार पारुन्जेल पनि कर्णालीमा नै केन्द्रीत छन् ।
विहानै झिसमिसेमा सुर्खेत विमानस्थल पुग्ने र त्यहाँबाट राहत पुर्याउने स्थानमा तत्काल हेलिकप्टर पठाउने कार्य उनको नियमित जस्तै बनेको छ ।
१९ गते विहान राहत सामाग्री विमानस्थल ल्याउन किन ढिलाई गरेको भन्दै कर्णाली सरकारका प्रमुख सचिव देखि अन्य कर्मचारीलाई बारम्बार घच्घच्याउने गरेको कुरा प्रत्यक्षदर्शीको रुपमा यो पंक्तिकारले नै देखेको थियो ।
‘प्रदेश सरकारसँगै उहाँ रहनुभयो । पीडितलाई राहत वितरण गर्न होस, उद्वार र उपचार गर्ने सवालमा होस, उहाँको महत्वपूर्ण योगदान रह्यो ।’ प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री कृष्ण जिसी भन्छन्, ‘यदि उहाँ विभागिय मन्त्री नभइदिएको खण्डमा कर्णालीले धेरै समस्या भोग्नुपथ्र्यो, राहत वितरण र घाईते उद्धारको क्रममा ।’
आफूलाई सधैं सादगीपूर्ण कार्यकर्ताको रुपमा जनतामाझ चिनाउँदै आएका उपप्रधानमन्त्री खड्काको यो विपदको समयमा गरेको काम, खट्नपटनबारेमा जति प्रशंशा गरेपनि कर्म हुन्छ । भूकम्पबाट पीडित नागरिकहरुलाई उद्वार गर्न होस, उनीहरुलाई राहत वितरण गर्न सामान पठाउने देखि आफैं पीडितकहाँ गएर सान्त्वना दिने कार्यमा उपप्रधानमन्त्री खड्काले ठूलो योगदान दिएका छन् ।
‘सबैभन्दा ठूलो मानव सेवा हो । मानवधर्म हो । यो संकटको घडिमा मन्त्रीपरिषदको वैठक भन्दापनि महत्वपूर्ण कर्णालीका जनताको ज्युज्यान जोगाउनु हो । उहाँहरुलाई राहत दिनु हो । उहाँहरुको घाउमा मल्हम लगाउनु हो र उहाँहरुलाई पुनः पहिलेकै अवस्थामा फर्काउनु हाम्रो जिम्मेवारी हो । यसकालागि म सकेसम्म सबै सामर्थ्य प्रयोग गरेर भएपनि सबैको साथ, सल्लाह लिएर लागेको छु ।’ यो पंक्तिकारसँग उपप्रधानमन्त्री खड्काले भनेका थिए, १९ गते विहान ।
उनले थपेका थिए, ‘राज्य सबैको साझा हो, हुनुपर्छ । त्यसकालागि कर्णाली अहिले एकीकृत छ । सबै दलका नेताहरु हामी एकै स्थानमा छौं । सबै मिलेर यो विपदको विरुद्ध लाग्न पर्ने देखिन्छ । सोही अनुसार अहिले हामी यहाँ केन्द्रीत भएका हौं ।’
उनले यति प्रतिक्रिया दिइसकेपछि पुनः नेपाली सेनाका हेलिकप्टरहरु तत्काल उडान गर्न निर्देशन दिन थाले । प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्मा, आन्तरिक मामिला तथा कानून मन्त्री कृष्ण जिसी, काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलगायतलाई तत्काल राहत सामाग्रीहरु ट्रकमा ल्याउन र अत्यावश्यक सामाग्री प्रभावित क्षेत्रमा पठाउन सुझाव दिन थाले ।
यहि योगदानका आधारमा उनलाई कमाण्डरको रुपमा यो कथामा उल्लेख गरिएको हो ।
पहिलोप्रेस
२६ कार्तिक २०८०, आईतवार ०९:००